अंग्रेजी माध्यममा पठनपाठन गराउन पूर्वविद्यार्थीको सहयोग
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ ठूलोढुंगास्थित अरनिको माध्यमिक विद्यालयका पूर्वविद्यार्थी मञ्चले विद्यालयलाई आर्थिक सहयोग जुटाउने अभियान चलाएका छन् । विद्यालयमा यही शैक्षिक सत्रदेखि आधारभूत तहमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्न रकम अपुग भएपछि मञ्चले आर्थिक सहयोग संकलन अभियान चलाएको हो ।
अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्दा वार्षिक एक लाख रुपैयाँ बराबरको पाठ्यपुस्तक खरिद गर्नुपर्ने र विद्यालयको आर्थिक स्रोत नभएपछि आर्थिक स्रोत जुटाउन थालिएको मञ्चका सचिव रामकृष्ण कुवँरले बताए । पूर्वविद्यार्थी कोष स्थापना अभियानमा विदेशबाट मात्र नभई स्वदेशमा रहेका पूर्वविद्यार्थीले पनि सहयोगका लागि उत्साहित भएको उनले बताए । मञ्चले हालसम्म संकलन गरेको ६० हजार रुपैयाँ विद्यालयका प्रधानाध्यापक शैलेन्द्रकुमार शाहलाई हस्तान्तरण गरेको छ ।
भानु घर भई हाल अष्ट्रेलिया रहेका प्रेम गुरुङले २५ हजार, हाल मकाउ रहेका प्रकाश थापाले १० हजार, हाल दुबइमा कार्यरत रबिन खड्काले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । यस्तै, भानु बर्खोला निवासी प्रेम गुरुङले पाँच हजार पाँच सय, पुलिमराङ निवासी युवराज गुरुङले पाँच हजार र महम्मद तालिम मियाले पाँच हजार पाँच रुपैयाँ आर्थिक सहयोग भएको र उक्त रकम प्रधानाध्यापक शाहलाई हस्तान्तरण गरिएको छ ।










