तनहुँका ९४ जना सहित पाँच हजार ५४७ कैदीबन्दी अझै फरार

दमौली : गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका कारागारबाट भागेकामध्ये पाँच हजार ५४७ कैदीबन्दी अझै फरार छन् । तनहुँ कारागारका ९४ जना कैदी बन्दी अझै सम्पर्क बाहिर रहेका छन् । कारागार व्यवस्थापन विभागले सार्वजानिक गरेको विवरण अनुसार तनहुँ कारागारका ९४ जना कैदी बन्दी अझै सम्पर्क बाहिर रहेका छन् ।
जेनजी आन्दोलनको क्रममा भदौ २३ गते साँझ तनहुँ कारागारबाट ३२७ जना कैदी बन्दी भागेका थिए । ति मध्ये केही फर्केर आएका थिए भने केहीलाई प्रहरीले पक्राउ गरेको थियो ।
फरार कैदी बन्दीमा अधिकांश गम्भिर प्रकृतिका मुद्धाका रहेका छन् । यिनीहरु मध्ये ३० जना जबरजस्ती करणी मुद्धाका, २६ जना लागु औषध मुद्धाका र १० जना कतव्र्यज्यान मुद्धाका रहेको दमौली कारागार प्रशासनले जनाएको छ । त्यसबाहेक केही चोरी, ज्यान मार्ने उद्योग लगायतका मुद्धाका रहेका छन् ।
यस्तै, कारागार व्यवस्थापन विभागले फरार कैदीबन्दीलाई कारागार फिर्ता ल्याउन अझ प्रभावकारी बनाउने जनाएको छ। आइतबारको गृहमन्त्री स्तरीय बैठकले कैदीबन्दीलाई कारागारमा फिर्ता ल्याउन केही महत्त्वपूर्ण निर्णय गरेको समेत विभागले स्पष्ट पारेको छ । हालसम्म नौ हजार आठ जना कैदीबन्दी कारागार फिर्ता भएको विभागले जनाएको छ ।
फरार कैदीबन्दीको सम्बन्धमा सम्बन्धित कारागार कार्यालयबाट प्राप्त नामावलीसहितको विवरण गृह मन्त्रालयमार्फत् निर्वाचन आयोग, सुरक्षा निकायमा उपलब्ध गराइनेछ । अध्यागमन विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, यातायात व्यवस्थापन विभाग, राहदानी विभाग, वैदेशिक रोजगार विभाग, श्रम विभाग, नापी विभागलगायतका सेवाग्राहीको आवागमन धेरै हुने निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पठाउने जनाइएको छ । फरार कैदीबन्दीको विवरण विभागको बेवसाइटमा प्रकाशित गरिनेछ ।
त्यसैगरी जिल्लास्थित सार्वजनिक निकायमा विवरण उपलब्ध गराउने र कुनै सार्वजनिक सेवा लिन आएको खण्डमा पक्राउ गरिनेछ। फरार कैदीबन्दीहरूको खोजी तथा पक्राउ अभियानलाई अझ नियमित, सशक्त र समन्वयात्मक रूपमा अघि बढाउने निर्णय भएको विभागले जनाएको छ ।










