बुद्धसिं मार्गलाई वैकल्पिक मार्गका रूपमा विकास गर्नुपर्छ : मुख्यमन्त्री पोखरेल
भञ्ज्याङ समाचारदाता/दमौली

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुद्धसिं मार्गलाई वैकल्पिक मार्गका रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् । मुख्यमन्त्री पोखरेलले मंगलबार बुद्धसिं मार्गको अवलोकन गर्दै संघीय सरकारसँग समन्वय गरी सडकको स्तरोन्नति गरेर सञ्चालनमा ल्याइने बताउनुभयो ।
पृथ्वीराजमार्गको सडक विस्तार गर्ने क्रममा लामो समय लाग्न सक्ने हुँदा छिटोभन्दा छिटो यस मार्गलाई सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अघि बढाइएको उनले बताए ।
‘सडक विस्तारका क्रममा सवारी साधन गुड्न कठिनाइ हुन सक्छ’, उनले भने, ‘यो मार्गलाई व्यवस्थित गर्न सकिए निर्बाधरूपमा सवारी साधन गुडाउने कार्यलाई सहज बनाउन सकिन्छ ।’
बुद्धसिं मार्गको अनुगमन कार्यक्रममा आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्मा, योजना आयोगका उपाध्यक्ष रघुराज काफ्ले, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, बुद्धसिं मार्ग निर्माण समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङ लगायत टोली रहेको थियो ।
दमौलीबाट चितवनको घुमाउनेघाट पुग्न पृथ्वी राजमार्गको बाटोभन्दा बुद्धसिं मार्ग हुँदै जाँदा करिब १८ किलोमिटर दूरी छोटो पर्दछ । दमौलीबाट पृथ्वी राजमार्ग हुँदै मुग्लिनसम्म ४२ किलोमिटर दूरी रहेकोमा बुद्दसिं मार्ग हुँदै गएको खण्डमा १८ किमी छोटो दूरीमा पर्ने हुँदा आवतजावतमा छिटो र सहज हुने बताइएको छ ।
गण्डकी प्रदेश सरकारबाट रु एक करोड ५० लाख बजेट विनियोजन भएपछि बुद्धसिं मार्गको स्तरोन्नतिको कार्य धमाधम भइरहेको छ । संघीय सरकारबाट रु पाँच करोड विनियोजन गरिएकोमा टेण्डर भइसकेकाले प्रक्रिया अघि बढाइएको सो अवसरमा जानकारी गराइएको थियो ।










