व्यासको रातामाटा बेलथुम्कीमा कोभिड स्मृति पार्क निर्माण गरिने

दमौली : तनहुँको व्यास नगरपालिका–११, रातामाटा बेलथुम्कीमा ‘कोभिड स्मृति पार्क’ निर्माण अभियान सञ्चालन गरिएको छ । ‘मानवता नझुक्ने छ, स्मृति कहिल्यै मेटिने छैन’ भन्ने नारासहित सुरु गरिएको अभियान अन्तर्गत कात्तिक १३ गतेदेखि २१ गतेसम्म श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिने भएको छ ।
महायज्ञमा प्रमुख प्रवचनकर्ता पण्डित दीपकप्रसाद पौडेल रहने छन् । अभियानको मुख्य उद्देश्य कम्तीमा एक करोड रुपैयाँ संकलन गर्ने राखिएको संयोजक विरेन्द्रबहादुर अधिकारीले पत्रकार सम्मेलनमार्फत जानकारी गराए । उनले भने, “कोभिड स्मृति पार्क केवल सम्झनाको प्रतीक होइन, यो मानवता, अध्यात्म र प्राकृतिक सौन्दर्यको केन्द्र बन्नेछ ।”
वडा अध्यक्ष दलबहादुर दुराले यो हाम्रो पुस्ताले छोड्ने स्थायी सम्पदा हो, वडाले सक्दो सहयोग गर्ने बताए । पूर्ववडाध्यक्ष निरबहादुर खड्काले यो केवल संरचना होइन, यो क्षेत्रको पर्यटन विकासको जग भएकोले पार्क निर्माणलाई दीर्घकालीन लगानीको रूपमा व्याख्या गरे ।
आर्थिक समितिका संयोजक देवबहादुर थापाले महायज्ञको सम्पूर्ण प्रक्रिया पारदर्शी र सहभागीमूलक हुने बताए । उनका अनुसार महायज्ञ अवधिभर विभिन्न धार्मिक, सांस्कृतिक र आध्यात्मिक कार्यक्रम गरिने छ ।
स्थानीय, संघ–संस्था तथा प्रवासी नेपालीहरूको एकता यस अभियानको प्रमुख प्रेरणा बनेको आयोजक समितिले जनाएको छ।
अभियानमार्फत कोभिड–१९ महामारीमा दिवंगत आत्माहरूप्रति श्रद्धा व्यक्त गर्दै, भावी पुस्ताका लागि मानवता, अध्यात्म र स्मृतिको स्थायी प्रतीकका रूपमा ‘कोभिड स्मृति पार्क’ निर्माण गर्ने तयारी गरिएको बताइएको छ ।










