व्यास नगरपालिका : प्लास्टिकमुक्त अभियानको व्यावहारिक संकट

सविन लामिछाने

व्यास नगरपालिकाले प्लास्टिकमुक्त क्षेत्र घोषणा गरेको एक वर्ष हुन लाग्यो । सुरुआती चरणमा सार्वजनिक सरोकार, वातावरणप्रतिको चासो, र प्लास्टिकले पुर्याएको प्रदूषणको असरबारे जनचेतना अभियान चलाइएको थियो । तर समयसँगै ती अभियान ओझेलमा परे र अहिले अवस्था यस्तो छ कि नियम बनाउने संस्थालाई आफ्नै नियमको पालना गराउन बजारमा अनुगमन टोली पठाउनुपर्ने बाध्यता सिर्जना भएको छ । जुन आफैंमा स्थानीय सरकारको कार्यान्वयन क्षमताको परीक्षण हो ।

यस्तै बुधबार व्यास–३, तरकारी लाइनमा एउटा घटना घट्यो । नगरपालिकाको वातावरण समिति र नगरप्रहरीको संयुक्त टोलीले एक किराना तथा तरकारी पसलमा निषेध गरिएको प्लास्टिकको झोला फेला पा¥यो । यो अनुगमन नियमको पालनाको सामान्य प्रक्रिया थियो, तर घटनाले अप्रत्याशित मोड लियो जब पसल सञ्चालकका छोराले अनुगमन टोलीमाथि गालीगलौज गर्दै आक्रोशित प्रतिक्रिया जनाए । विवाद थप चर्कियो जब परिवारका अन्य सदस्यहरू- बुबा र आमा समेत त्यही शैलीमा सहभागी भए । अन्ततः नगरप्रहरी टोली घटनास्थलबाट फर्कियो, तर विहीबार बिहान ती तीनै जनालाई नियन्त्रणमा लिइ पसल सिल गरियो र अभद्र व्यवहारमा मुद्दा चलाइयो ।

यो घटनाले केवल एउटा प्लास्टिकको मुठाको सवाल उठाएको होइन । यसले हाम्रो नीतिगत सोच, प्रशासनको शैली, र नागरिकको व्यवहारबीचको सम्बन्धमाथि गम्भीर प्रश्न उठाएको छ । प्रश्न उठ्छ— हामी एक यस्तो समाजमा छौं, जहाँ नियम बनाइन्छन्, तर तिनको पालना सुनिश्चित गर्न संवादभन्दा पहिले दबाब र कारबाहीको बाटो रोजिन्छ । प्रशासनको यो प्रवृत्तिले नियम प्रतिको आस्था घटाउँछ र प्रतिरोध निम्त्याउँछ ।

व्यवसायीहरू भन्छन्, नगरपालिकाले प्रयोग गर्न भनेको वैकल्पिक झोला अत्यन्त महँगो छ, जसले उनीहरूको लागत बढाउँछ र ग्राहकहरू पनि सहज महसुस गर्दैनन् । जसले गर्दा नाफा न्यून हुँदै गएको छ । यस्तो अवस्थामा नियमको कार्यान्वयनभन्दा पहिले व्यापक र व्यवहारिक योजना ल्याउनु जरुरी थियो । प्लास्टिक निषेध आफैंमा गलत होइन, तर त्यसको विकल्प के हो ? त्यो सस्तो, सहज र पहुँच योग्य नबनाइदिएसम्म यो नियमले उल्टै असन्तुष्टि र तनाव बढाउँछ ।

कारबाही प्रशासनको सजिलो उपाय हुन सक्छ, तर जनतासँग संवाद नगरी, उनीहरूको समस्या नसुनी, कडाइले मात्रै समाजमा परिवर्तन ल्याउन सकिँदैन । नीति निर्माण र कार्यान्वयनको बिचमा एउटा ठूलो खाडल देखिन्छ- त्यो हो “संवेदनशीलता” । हाम्रो नियम जनमुखी हुनुको साटो प्राविधिक भएर मात्र रहन थालेको छ ।

नगरपालिकाले अब यो घटना केवल ‘एकपटकको कानुनी प्रक्रिया’ भनेर नहेरी, यो घटनालाई एउटा ‘सिग्नल’का रूपमा बुझ्नुपर्छ । यसले देखाएको छ कि नागरिक असन्तुष्ट छन्, जानकारी पर्याप्त छैन र विकल्प उपलब्ध छैन । यस्तो अवस्थामा स्थानीय सरकारको कर्तव्य हुन्छ– व्यापारी, ग्राहक, र उत्पादन आपूर्ति गर्ने निकायहरूसँग बसेर वैकल्पिक समाधान खोज्ने, सस्तो र दिगो विकल्पको आपूर्ति सुनिश्चित गर्ने, र सबै सरोकारवालासँग संवादमार्फत दीर्घकालीन योजना बनाउने ।

कारबाही गर्नु सजिलो हो, सहकार्य गरेर समस्या समाधान गर्नु चुनौतीपूर्ण तर आवश्यक हो । नीति बनाउँदा पनि र लागू गर्दा पनि नेतृत्वको मुल आधार संवाद, सहमति र व्यवहारिकता हुनुपर्छ । हामीलाई केवल निषेध होइन, सक्षम विकल्प दिन सक्ने दूरदर्शी नेतृत्व चाहिएको छ, जसले नियमलाई जनताको जीवनमा सहज रूपले आत्मसात गर्न सक्ने बनाओस् । अन्यथा, यस्तो टकरावको घटना फेरि दोहोरिन सक्ने सम्भावना उच्च छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker