गाउँ चिनाउँदै “डुलन्ते दाइ”

दमौली : गाउँको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र स्थानीय जीवनशैलीलाई पर्यटकीय गतिविधिसँग जोड्ने उद्देश्यले बन्दीपुरका बसन्त पौडेल अर्थात ‘डुलन्ते दाइ’ले ‘आफ्नो गाउँ आफैँ चिनाऔँ’ अभियान सञ्चालन गर्नुभएको छ । गाउँमा रहेका सम्भावना पहिचान गरी त्यसलाई सामाजिक सञ्जालमार्फत प्रचार गर्ने र पर्यटकलाई गाउँसम्म पु¥याउने उद्देश्यसहित उहाँले अभियान अघि बढाएका हुन् ।
पौडेलले हाल बन्दीपुर भिलेज सफारी सञ्चालनमा ल्याएको छ । भिलेज सफारीमार्फत बन्दीपुरको ग्रामीण क्षेत्र, स्थानीय जीवनशैली, कृषि, संस्कृति तथा प्राकृतिक सौन्दर्य अवलोकन गराउने गरिएको उनले बताए ।
उनका अनुसार नेपाल आउने विदेशी पर्यटकमध्ये धेरैले ग्रामीण परिवेश, स्थानीय संस्कृति र मौलिक जीवनशैली नजिकबाट अनुभव गर्न रुचाउने गरेका छन् । त्यस्ता पर्यटकलाई पर्यटकीय बजार तथा चर्चित गन्तव्यमा मात्र सीमित नराखी गाउँसम्म पु¥याउन सके स्थानीय उत्पादनले समेत बजार पाउने उनको भनाइ छ ।
पर्यटन व्यवसायी पौडेलले भने, ‘नेपालमा आउने विदेशी पर्यटक विशेषगरी ग्रामीण परिवेश अध्ययन गर्न रुचाउँछन्। उनीहरूलाई गाउँसम्म लगेर घुमाउन सके स्थानीय उत्पादनले बजार पाउँछ ।’
गाउँमा उत्पादन भएका कृषि उपज, स्थानीय परिकार, हस्तकला तथा अन्य मौलिक उत्पादनलाई पर्यटकसँग जोड्न सके ग्रामीण अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पर्ने उनको विश्वास छ । पर्यटक गाउँमा पुग्दा स्थानीय होटल, होमस्टे, यातायात, कृषि उत्पादन तथा अन्य सेवाको माग बढ्ने भएकाले गाउँमै रोजगारी र आम्दानीका अवसर सिर्जना हुने उनको भनाइ छ ।
सामाजिक सञ्जालबाट गाउँको पहिचान
व्यवसायी पौडेल गाउँको पर्यटन प्रवर्द्धनका लागि सबैले आफ्नो ठाउँमा रहेका आकर्षक तथा रमणीय स्थानको फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्ने बताउँछन्। उनले भने, ‘आफ्नो गाउँमा रहेका रमणीय कुरा फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नुहोस् । गाउँको पहिचान अभियानले गाउँको विकासमा सहयोग पुग्छ ।’
उनका अनुसार अहिले सामाजिक सञ्जाल पर्यटन प्रवर्द्धनको प्रभावकारी माध्यम बनेको छ । गाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, परम्परा, खानपान तथा स्थानीय जीवनशैलीका दृश्य नियमित रूपमा सामाजिक सञ्जालमा ल्याउन सके बाहिरी जिल्लाका तथा विदेशी पर्यटकको ध्यान आकर्षित गर्न सकिने छ ।
बन्दीपुरदेखि छिम्केश्वरीसम्म गाउँ घुमाउने योजना
बन्दीपुर भिलेज सफारीमार्फत बन्दीपुरको ग्रामीण परिवेश घुमाउने अभियान सुरु गरेको व्यवसायी पौडेलले आसपासका गाउँ, स्थानीय बस्ती, कृषि क्षेत्र तथा मौलिक जीवनशैलीलाई पर्यटकसँग जोड्ने प्रयासमा छन् ।
तनहुँका अन्य पर्यटकीय गाउँलाई समेत भिलेज सफारीसँग जोड्ने तथा छिम्केश्वरी, मानुङकोट लगायतका गाउँ घुमाउने अभियानसमेत सुरु गर्ने योजना रहेको छ । इलामको कन्याममा समेत भिलेज सफारी सुरु भइसकेकाले त्यस अभियानको अवधारणा अन्य जिल्लामा समेत विस्तार हुन थालेको बताइएको छ ।
गाउँमा पर्यटक भित्र्याउन ठूला पूर्वाधार मात्र आवश्यक नपर्ने भन्दै पौडेलले गाउँको मौलिकता नै मुख्य आकर्षण भएको बताए । गाउँको संस्कृति, रहनसहन, स्थानीय खानपान, कृषि प्रणाली, प्राकृतिक दृश्य र स्थानीयसँगको अन्तरक्रियालाई पर्यटकीय अनुभवका रूपमा विकास गर्न सकिने उनको भनाइ छ ।
गाउँको पहिचानसँगै आर्थिक गतिविधि
‘आफ्नो गाउँ आफैँ चिनाऔँ’ अभियानले पर्यटन प्रवद्र्धनसँगै गाउँको आर्थिक गतिविधि बढाउन सहयोग गर्ने पौडेलको विश्वास छ। पर्यटक गाउँसम्म पुग्दा स्थानीय उत्पादनको खपत बढ्ने र गाउँका युवालाई पर्यटन तथा सेवामूलक क्षेत्रमा काम गर्ने अवसर सिर्जना हुनेछ ।
विशेषगरी युवाले आफ्नो गाउँको सम्भावना पहिचान गरी सामाजिक सञ्जालमार्फत प्रचार गर्न सके गाउँलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहज हुने उनको विश्वास छ । गाउँको पहिचानका लागि स्थानीयवासी, युवा तथा व्यवसायी मिलेर अभियान सञ्चालन गरिए विकाससँगै स्थानीय उत्पादनको बजार र रोजगारीका अवसर समेत विस्तार हुने अपेक्षा गरिएको छ । रासस










