आन्तरिक पर्यटनले दमौलीका होटल व्यवसायीलाई राहत

स्वास्थ्य सावधानी अपनाउन व्यवसायीलाई क्षेत्रीय होटल संघको आग्रह

  • भञ्ज्याङ समाचारदाता (दमौली)

कोरोना कहरका कारण होटल व्यवसाय पनि थल परेका छन् । लामो समयको लडकाउन तथा कोरोना संक्रमण जोखिमका कारण तनहुँको होटल व्यवसाय धरापमा परेका छन् । कोरोनाका कारण करिब सात महिनादेखि सुस्ताएको तनहुँका होटल व्यवसाय आन्तरिक पर्यटकको चहलपहल बढेसंगै केही राहत मिलेकोछ । कहिले लकडाउन त कहिले निषेधाज्ञा कारण कतिपय होटल व्यवसायी व्यवसायबाटै पलायन भइरहेको अवस्थामा दशैंपर्व लगत्तै जिल्लामा आन्तरिक पर्यटकीय गतिविधि बढेसंगै व्यवसायीले केही राहतको महशुस गरेका छन् ।

विशेष त व्यास नगरपालिका क्षेत्रका होटल व्यवसाय विस्तारै तङ्ग्रिने प्रयासमा छ । पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको व्यास नगरपालिका-५ मानहुँकोटका कारण यतिबेला दमौलीका अधिकांश होटल भरिभराउ हुन थालेका छन् । राति बास बसेर बिहानै मानहुँकोटमा पुगेर सूर्योदय हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक दमौली आउन थालेसंगै यहाँका होटलहरु भरिभराउ हुन थालेका हुन् ।

दमौलीस्थित होटल ससइनका सञ्चालक जीवन शाहीले एक हप्तादेखि होटल भरिभराउ रहेको बताए । ‘कोभिडले धरासायी भएको होटल व्यवसाय मानहुँकोटका कारण तङ्ग्रिने प्रयासमा छ, एक हप्तादेखि आन्तरिक पर्यटकका कारण होटल प्याक छ’, शाहीले भने, ‘दैनिकजसो कोठा नभएर पर्यटक फिर्ता पठाउनुपर्ने अवस्था आएको छ ।’

श्रेष्ठको होटलमा ११ कोठा रहेकामा दैनिक २०/२५ जना पर्यटक बास बस्ने गरेका छन् । ‘मानहुँकोटले बाहिरी जिल्लाका आन्तरिक पर्यटक हृवात्तै तान्यो, व्यवसाय ठप्प रहेको बेला राहत मिलेको छ’, उनले बताए । मानहुँकोट दमौलीवासीका लागि गर्व गर्ने ठाउँ रहेकाले यहाँ घुम्न आउने पर्यटकको सुरक्षा प्रबन्धमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको शाहीले सुझाएका छन् ।

व्यास नगरपालिका-५ चापाघाटस्थित न्यू ड्रागन होटलका सञ्चालक दिनेश खनालले एक हप्तादेखि होटल भरिभराउ रहेको बताए । ‘कोरोनाले सुस्तायो होटल व्यवसायलाई मानहुँकोटले ऊर्जा भरिदिएको छ’, उनले भने, ‘मानहुँकोट जान आएका पर्यटक बास बसेका कारण होटलका सबै कोठा प्याक छन् ।’ यस्तै, व्यास नगरपालिका-३ मुख्यचोकस्थित पञ्चम होटलका सञ्चालक राजकुमार श्रेष्ठले दैनिक २५/३० जना आन्तरिक पर्यटकले आफ्नो होटलमा रात बिताउने गरेको बताए । चार/पाँच दिनदेखि ११ वटा कोठा सबै भरिभराउ अवस्थामा रहेको उनले बताए ।

क्षेत्रीय होटल संघ तनहुँका वरिष्ठ उपाध्यक्ष विकास खनालले यतिबेला दमौलीका अधिकांश होटल आन्तरिक पर्यटकले भरिएको बताए । मानहुँकोट निकै चर्चामा आएपछि देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक दमौली ओइरिएका छन्, जसकारण अधिकांश होटल भरिभराउ भएका उनले बताए ।

यस्तै, क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष राम जोशीले अहिलेको समय कोभिडको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पाहुना राख्न होटल व्यवसायीलाई अनुरोध गरेका छन् । ‘तनहुँमा आन्तरिक पर्यटकको आगमनले होटल ब्यबसायीहरुमा खुसी छाएको छ तर कोभिड-१९ संक्रमण जोखिम कायमै भएको हुँदा स्वास्थ्य सुरक्षामा ध्यान दिनुहोला’, उनले भाने , ‘नेपालको पर्यटकीय क्षेत्र मध्यको एक तनहुँ ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक, साहित्यिक स्थलहरु प्रसस्त रहेका र यी स्थलमा अहिले आन्तरिक पर्यटक घुम्ना आएका पर्यटकहरु आउँदा हाम्रो व्यवसाय पनि चलायमान हुँदै गएको छ । पाहुना हाम्रो भगवान हुन सधै खुसी दिनु हाम्रो कर्तव्य हो । पाहुनालाई सम्मान साथ स्वगत गरौं सम्मान साथ विदाइ गरौं र आफ्नो व्यावसाय सञ्चालनमा पनि विशेष ध्यान दिई मास्क र साबुनपानीले हात धुने तथा स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा विशेष ख्याल गर्नुहोला ।’

पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक हजारको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन् । फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा भाइरल बनेको मानहुँकोटमा बिहानै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । राति मानहुँकोटमै बास बस्नेको संख्या पनि उल्लेख्य रहने गरेको छ । पछिल्लो एक हप्ताको अवधिमा मानहुँकोटमा पर्यटकको घुइँचो बढेको छ ।

मानहुँकोटमा पर्यटकको चहलपहल बढ्न थालेसँगै पर्यटकीय पूर्वाधार निर्माण पनि शुरु गरिएको छ । व्यास नगरपालिकाले ३६ लाख ५० हजार रुपैयाँको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिसकेको छ । थप पूर्वाधार निर्माण गर्ने नगरपालिकाको योजना छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै डाँडाको छेउमा रेलिङ निर्माण गरिएको छ । मानहुँकोटबाट पाँचवटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । साथै दमौली बजार, मादी नदी, साँगेखोला, तनहुँ जलविद्युत्को डयाम निर्माणस्थल एवं मनोरम दृश्यहरू यहाँबाट देखिन्छ ।

डस्टविन सहयोग

मानहुँकोटको फोहरमैला व्यवस्थापनका लागि रेन्ट टेण्टले डस्टविन सहयोग गरेको छ । मानहुँकोटमा पर्यटकको संख्या बढ्न थालेसँगै फोहरमैला पनि बढेपछि त्यसको व्यवस्थापनका लागि रेन्ट टेण्टले आठ थान डस्टविन सहयोग गरेको हो । सञ्चालक मुख्तार अहमद मियाँ र रम्जान अलीले वडाध्यक्ष मोहनकुमार श्रेष्ठलाई शुक्रबार उक्त डस्टविन हस्तान्तरण गगरेका हुन् । व्यवसायसँगै सामाजिक उत्तरदायित्व वहन गर्दै पर्यटकीयस्थलको फोहरमैला व्यवस्थापनका लागि डस्टविन सहयोग गरिएको मियाँले बताए । मानहुँकोटमा पर्यटक बढेसँगै फोहरमैला पनि बढेकाले फोहरमैला व्यवस्थापनका लागि वडाले पनि पहल गर्दै आइरहेको वडाध्यक्ष श्रेष्ठले बताए। दमौलीस्थित विभिन्न युवा क्लबको सहयोगमा समय समयमा सरसफाइका कार्यक्रम सञ्चालन गरिँदै आइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker