घुमफिरको आकर्षक गन्तव्य “बन्दीपुर”
के.बि. मसाल

विदाको समय होस वा नयाँ वर्षको अवसरमा धेरैको सोच घुमफिर गर्नेमा हुन्छ । घुमफिर गर्दा नयाँ उत्साह र उमंग थपेको हुन्छ । नयाँ ठाउँको घुमफिरको मज्जा छुट्टै हुन्छ । विदाको समयमा पारिवारिक सदस्य तथा साथीभाईसँग घुमफिरमा गएर रमाइलो गर्ने प्रचलन बसेको छ । घुमफिरलाई खुल्ला विश्व विद्यालय पनि भनिन्छ । घुमफिरले मानिसहरुलाई धेरै ज्ञान प्राप्त हुन्छ । घुमफिरको लागि कहा जाने ? सबैलाई नयाँ ठाउको खोजी हुन्छ । नेपालमा घुमफिर गर्ने धेरै स्थान छन् । प्राकृतिक सम्पदासंग रमाउने की ? तीर्थाटन गर्ने की ? ऐतिहासिक सम्पदाको अवलोकन गर्ने ? त्यसको निर्णय घुमफिरमा निस्कन भन्दा पहिलानै गर्दा राम्रो हुन्छ । घुमफिरमा निस्कनु भन्दा पहिले आफु पुग्ने स्थानको बारेमा जानकारी लिदा यात्रामा सजिलो हुन्छ ।

पर्यटकहरुले रुचि, समय र घुमफिरको लागि हुने खर्चको लेखाजोखा गरी यात्राको प्याकेज बनाउँदा एउटै यात्रामा धेरै ठाउँ पुग्न सकिन्छ । घुमफिरमा समूहमा जाँदा खर्च पनि कम लाग्ने र यात्रामा रमाइलो पनि हुन्छ । तपाई बन्दीपुर पुग्नु भएको छ – अथवा धेरै पटक पुग्नु भएको होला । तनहुँ जिल्ला हिमाली जिल्ला त होइन तर बन्दीपुर बजार छेवैको टुँडिखेल हिमाल हेर्ने राम्रो भ्यू प्वाइन्ट हो । टुँडिखेलबाट हिमालको लामो लर्कन देखिन्छ । बन्दीपुरको टुडीखेल अथवा अन्य कुनै स्थानबाट बिहानपख सुनजस्तै टल्किरहेको हिमश्रृंखला अवश्य देख्नु भएको होला – अथवा नयाँ पर्यटकहरुले देख्नु हुनेछ । यसरी देखिने हिमश्रृंखलाको नाम हो मनास्लु । संसारकै आठौं अग्लो हिमाल मनास्लु ८ हजार १६३ मिटरसँगै काँधमा काँध मिलाएर लहरै उभिएको देखिन्छ न्यादी चुली, हिमालचुली र बौद्ध हिमाल । हेर्दा जति सुन्दर छ । आरोहणका लागि कठिन मानिन्छ मनास्लु हिमाल । आरोहणका क्रममा थुप्रै आरोहीले जीवन गुमाएकाले मनास्लु हिमाललाई किलर माउन्टेन पनि भन्ने गरिन्छ । जतिसुकै कठिन भएपनि मनास्लु हिमाल पनि मानव पाइतालाको स्पर्श पाउनबाट चुकेको छैन । सन् १९५६ मा जापानी आरोही तोसी इमानासी र उनका शेर्पा सहयोगी ग्याल्जेन नोर्बुले पहिलो पटक मनास्लुको सफल आरोहण गरेका थिए ।

मनास्लु हिम श्रृंखलालाई बुढीगण्डकी र मर्स्याङदी नदीले छुटयाएको छ । यो हिमश्रृंखला पारि पनि नेपाल छ भन्दा तपाई छक्क पर्नुहोला। हो त, मनास्लु हिमाल भन्दा पल्लोपट्टी दुइ हिमाली उपत्यका छन् जहाँ झण्डै दुइ दर्जन गाउँ पर्दछन् । ती गाउँ सबै गोरखा जिल्लाको उत्तरी क्षेत्रमा पर्दछ । तिब्बती मुलका भोटे समुदायको बसोबास रहेका ती गाउँ ताप्ले, लाजुङ, लार्के लगायतका हिमाली भञ्ज्याङमार्फत तिब्बतसँग जोडिन्छन् । वर्षमा ६ महिना मात्रै खुल्ला रहने यी नाकाहरु जाडो मौसममा भने हिउँ जमेर ठप्प हुन्छन् । यी गाउँका मानिस दक्षिणतिर जानपर्यो भने बुढीगण्डकीको तिरैतिर अर्थात खोचैखोच आरुघाट झर्ने गर्छन् । मनास्लु हिमालको ठयाक्कै पछाडि समागाउँ, साम्दो लगायत एक दर्जन गाउँहरु पर्दछन् । पूर्वतर्फ रहेको बौद्ध हिमालको पछाडि भने चुम उपत्यका पर्दछ । तपाईले नेपालको नक्शा हेर्दा गोरखा जिल्लाको उत्तरी भागमा तिब्बततिर धकेलिएको भाग देख्नु हुन्छ नी ? हो त्यही पर्दछ त्यो उपत्यका । छेकम्पार, निले, चुले लगायत एक दर्जन गाउँ रहेको त्यो ठाउँ रहस्यले भरिएको हिमाली उपत्यका हो । तर बन्दीपुरबाट देखिने सबै हिमालको नाम र त्यहाँको भूगोलको बारेमा जान्नको लागि भने पर्यटन गाइड भयो भने राम्रो हुन्छ ।

बन्दीपुरमा चीनको जस्तै झल्को दिने गरी बन्दीपुर मिनी ग्रेटवाल अर्थात पदमार्गले पर्यटकहरुलाई आकर्षा गराएको छ । बन्दीपुर बजारबाट सुरु भई ग्रेटवाल पदमार्गले थानीमाई, समिभञ्ज्याङ हुँदै मुकुन्देश्वरी गढी जोडने योजना रहेको छ । थानीमाई मुकुन्देश्वरी पर्यटकीय पदमार्ग निर्माण पछि आन्तरिक पर्यटक वृद्धि हुँदै गएको छ। पदमार्गमा अन्य दिनको तुलनामा शुक्रबार, शनिबार तथा अन्य र्सार्वज्निक विदाका दिन पर्यटकको बाक्लो भीड लाग्ने गर्दछ । बन्दीपुरमा पर्यटकहरुका लागि बास बस्न होटलहरु धेरै छन् । पर्यटकहरुलाई बास बस्न बन्दीपुरमा पाँच सयदेखि चार हजार रुपैयाँसम्मका होटलमा कोठा पाइन्छ । बन्दीपुर माउन्टेन रिसोर्ट, गाउँघर, वल्ड इन, बन्दीपुर भिलेज रिसोर्ट, श्रेष्ठ होटल, होटल बन्दीपुर अर्ग्यानिक होमलगायत तीन दर्जन होटल तथा रिसोर्ट छन । यो बाहेक बन्दीपुरमा पर्यटकहरुका लागि होमस्टे पनि सन्चालनमा छन् । बजार आसपासका क्षेत्रमा नेवार, क्षत्री, सुनार, मगर र कपालीका घरमा होमस्टेको सेवा छ ।

बन्दीपुरमा मुख्य बजार क्षेत्र ६ सय मिटर लम्बाइमा फैलिएको छ । मुख्य बजारको क्षेत्रमा सवारी साधन निषेध गरिएको छ । सडक बीचमा ढुङ्गा छापिएको दायाँ-बायाँ इँटा, माटो, काठ र टायलले बनेका मौलिक साँस्कृतिका घरहरु छन । घरहरु कलात्मक झ्याल-ढोकाबाट निर्माण भएका छन् । बन्दीपुर बजारका प्रायः घरमा होटल/रेस्टुरेन्ट रहेका छन । तिनका आँगनमा बसेर पर्यटकहरुले खान पिन गर्न सक्दछन् । बन्दीपुरमा नेवार समुदायको बसोबास हुनुअघि बजारमा मगर जातीको बस्ती थियो । अहिले बन्दीपुरमा जातीय विविधता देखिन्छ । गुरुङ, मगर, नेवार, क्षत्री, बाहुन मिलेर बसेको रंगिन फूलबारीजस्तै भएको छ बन्दीपुर । बन्दीपुरबाट तल मर्स्याङदी भ्याली आकर्षक देखिन्छ । जाडो मौसममा बिहान सेतो कुहिरोले ढपक्कै ढाक्दा सेतो तलाउझैँ पर्यटकहरुले अनुभव गर्न सक्दछन् । दिउँसो मौसम खुलेपछि तल-तलका बस्ती, खेतबारी र नागवेली आकारमा बग्ने मर्स्याङदी नदीको सौर्न्दर्यले पर्यटकलाई लोभ्याउने गर्दछ ।

बन्दीपुर बजारमाथि डाँडामा एउटा गुम्बा छ । गुम्बाभित्र शाक्यमुनि बुद्धका मूर्ति रहेको छ । डाँडामा एउटा शहीद स्मारक छ । वि.सं. २००७ को जनक्रान्तिका बेला तनहुँका सात जना शहीद भएका थिए । पुलिमर्याङका धर्मध्वज थापा, तनहुँसुरका उत्तमकुमार श्रेष्ठ, धर्मराज श्रेष्ठ र सन्तबहादुर रानामगर, सिम्पानीका चन्द्रबहादुर सार्की तथा वसन्तपुरका खडगबहादुर गोदार । पर्यटकहरुले त्यहाँ पुगेर उनीहरुप्रति श्रद्धाको मनफूल चढाउन सक्दछन् । अर्को तर्फ पदयात्रामा रमाउने पर्यटकहरुले बन्दीपुर पुगेपछि बजारबाट गुरुङचेडाँडा, बाहुनभञ्ज्याङ, झारागाउँ हुँदै ताकमारेको डाँडा, छिम्केश्वरी, रामकोट, हिलेखर्क, बाघथला हाइकिङ गर्न सकिन्छ । नजिकैको गुरुङचेडाँडा सूर्योदय र सूर्यास्त हेर्न धेरै पर्यटक पुग्ने गर्दछन् । सिद्धगुफाः बजारबाट डेढ घण्टा तल पर्दछ । सिद्धगुफा भित्र कतै साँघुरो गल्छी छ भने कतै फुटबल खेल्न मिल्ने फराकिलो चौर । साथै, विभिन्न देवदेवीका आकृति झल्काउने चित्राकृति पनि पर्यटकले देख्न सक्दछन् । गुफा पूरै घुम्न तीन घण्टा लाग्दछ । गुफामा गाइडबिना घुम्न सकिँदैन । टिकट काउन्टरमा गाइड सुविधा पाइन्छ ।

पर्यटनको लोकप्रिय गन्तव्यका रुपमा बन्दीपुर सूचीकृत भइसकेको छ । त्यसैले त पहाडकी रानी उपमा पाएको बन्दीपुरमा विदेशीभन्दा नेपालीहरु धेरै पुग्दछन् । बन्दीपुरको सहरी संरचना साढे दुइ सय वर्ष पुरानो मानिन्छ । नेवार जातीको रहनसहन, साँस्कृतिक र प्राकृतिक सौन्दर्य बन्दीपुरका विशेषता हुन् । बन्दीपुर वरिपरिका गाउँमा मगर संस्कृतिको अवलोकन गर्न पनि पाइन्छ । हिमालयको फराकिलो दृश्य बन्दीपुरको अर्को विशेषता हो । बजारबाट दश मिनेटको दुरीमा रहेको टुँडिखेलबाट हिमाल मात्र होइन फराकिलो क्षितिजमा फैलिएका तनहुँ, लमजुङ र गोरखा जिल्लाका फाँट, पहाड र गाउँ पनि देखिन्छन् । हिमाल र मर्स्याङदी नदीले बनाएका उपत्यका हेर्दा बन्दीपुर पुग्ने जो कोही पर्यटक आनन्द महसुस गर्दछ । बन्दीपुरलाई मौलिकताको नमुना सहर भनिन्छ। बन्दीपुरमा रहेका परम्परागत घरका कारण बन्दीपुरको पर्यटनमा टेवा मिलेको छ । काठका बुट्टा कुदिएका झयाल तथा ढोकाहरु, प्यागोडाशैलीका घर पर्यटनका लागि बन्दीपुरको मुख्य आकर्षण हुन । कतिपय पर्यटकहरु तिनै घरहरुको फोटो लिने गर्दछन् ।

बन्दीपुर डुम्रे बजारबाट दक्षिणमा झण्डै चार हजार पाचँसय फिटको उचाईमा पर्दछ। बन्दीपुर प्रकृति र संस्कृति दुवै रुपमा जीवन्त धरोहर बनेर उभिएको छ । बन्दीपुरको इतिहास लामो छ । पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि ब्यापारको नयाँ सम्भावना खोज्ने क्रममा भक्तपुरका नेवारहरुले बन्दीपुरलाई उत्तरी पहाड र दक्षिणी मधेश जोडने ब्यापारी नाकाको रुपमा विकास गरेका हुन। आफ्नो शिप र उद्यमशिलताको ब्यापारको शिलशिलामा भक्तपुरबाट नेवारहरु बन्दीपुरमा बसाइ सरेका हुन । भक्तपुरे नेवारहरुले उपत्यकाको परिस्कृत संस्कृतिको नमुना झल्काउने बन्दीपुरमा बिकास गरे । बन्दीपुरमा भक्तपुरबाट नेवार सम्प्रदाय मात्र आएनन् । उनिहरुले आफ्नो कला, संस्कृति, ब्यापारी शिप, भवन शैली, कालीगढ पनि साथै ल्याएर बन्दीपुरलाई आकर्षक स्थल बनाएका हुन । बन्दीपुरमा नेवारले बनाएका भक्तपुरे शैलीमा निर्माण भएका घरहरुले पर्यटकहरुलाई लोभ्याउँछ । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ ।

पर्यटकहरुका लागि बन्दीपुरले सुन्दर गन्तव्य बोकेको छ । प्राकृतिक सौन्दर्यको ताज सिउरेर बन्दीपुर बसेको छ । प्राकृतिक सम्पदा र ऐतिहासिक धरोहरको जिउँदो सभ्यताको रुपमा बन्दीपुरको आकर्षण आज पनि उत्तिकै ताजा छ । पहाडी संस्कृति, पहाडी दृश्य र पहाडी पैदल यात्राका लागि बन्दीपुर अत्यन्त उपयुक्त गन्तव्य हो । मंसिरतिर जानुभयो भने हिमाल हेर्दै बन्दीपुरमा सुन्तलाको स्वाद लिन पाउनुहुन्छ । जेठदेखि असारसम्म बन्दीपुर पुग्नेलाई बाटैभरि चौबीस जातिका सुनगाभा फुलले स्वागत गर्दछ । २०२५ सालमा तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौली सरेपछि बन्दीपुरको चहल पहल बिस्तारै हराउदै गयो । धेरै घर परिवारले विस्तारै बन्दीपुरलाई छाडदै गए । तर पनि बन्दीपुरलाई प्रकृतिले भने कहिल्यै साथ छाडेन । बन्दीपुर छाडेर अन्यत्र बसाइँसराइ गरेकाहरुले बन्दीपुरलाई पर्यटन मार्फत उकास्ने अठोट लिए । बिस्तापित बन्दीपुरे क्रमशः आफ्नो थलो फर्किए । बन्दीपुरमा विस्तारै होटल खुल्ने क्रम तीव्र भयो ।

अहिले बन्दीपुर पर्यटकका लागि स्वर्ग जस्तै ठाउँ बनेको छ । बन्दीपुरले अहिले काँचुली फेरेको छ । कोलाहल, धूँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएका पर्यटकहरुलाई अहिले बन्दीपुर उत्कृष्ट गन्तव्य भएको छ । बन्दीपुर पुग्ने पर्यटकहरु यहाँको हावापानी, संस्कृति, रितिरिवाज देखेर आकर्षित हुने गर्दछन । एक दिन मात्रै बस्ने सोचमा पुगेका पर्यटक पनि बन्दीपुर पुगेपछि थप केही दिन नबसी फर्किदैनन् । बन्दीपुरको आकर्षक बस्ती देखेर बन्दीपुर जानेहरु रमाउने गरेका छन । परम्परागत नेवारी संस्कृतिमा आधारित घरहरुले पर्यटकको आकर्षण बढेको छ । बन्दीपुरमा पिक्निकका लागि समेत विभिन्न जिल्लाबाट विद्यार्थी जाने गर्दछन । पृथ्वी राजमार्ग बनेपछि सदरमुकाम दमौलीमा सर्नु र ब्यापारीक केन्द्रपनि दमौली, डुम्रे, विमलनगर, आँवुखैरेनी, भन्सार, आदि स्थानमा विकास हुँदै जाँदा बन्दीपुरे विस्तारै ब्यापारको खोजिमा विस्थापित हुन पुगे । तर आज भोली बन्दीपुरको रौनक अर्कै छ । विस्थापित बन्दीपुरे क्रमशः बन्दीपुरमा र्फकने क्रम बढन थालेको छ ।

बन्दीपुरमा जाने पर्यटकहरुको लागि ऐतिहासिक धार्मीक स्थलहरु आकर्षा केन्द्र बनेको छ । बन्दीपुरमा १८औ शताब्दीमा स्थापीत खड्गदेवीको मन्दीर, विन्दवासिनी, थानिदेवी, नारायण, पारपानी महादेव, तीनधारा महादेव, मुकुन्देश्वरी, बन्दीपुरका मुख्य धार्मिकस्थल मानिन्छन । अर्को तर्फनेवारी सस्कृतिका गाईजात्रा, विस्केड जात्रा, वाघजात्रा, लाखे र पाउदुरी जात्राले पनि बन्दीपुर पुग्ने पर्यटकहरुलाई छुट्टै आनन्द दिलाउँछ। बन्दीपुरको रानीवन सामुदायिक वनको काखमा रहेको तीनधारामा आजभोली पिक्निक स्पोट भएको छ। बन्दीपुरबाट सुकौरा केशवटार, गुदी, पोखरी भञ्ज्याङ हुँदै सदरमुकाम दमौली पुग्ने मोटर मार्ग पनि छ । बन्दीपुर नामका बारेमा अनेकौ किम्वदन्दी छन । तर विश्वास लाग्ने केही कुरा यस्ता रहेका छन । गण्डकी क्षेत्रका अधिकांस ठाउँका नाम डीबाट उच्चारण हुन्छन्। जस्तै, राम्डी, माडी, मर्स्याङदी, चुँदी, दरौदी आदि .. । मगर भाषामा डिलाई पानी भनिन्छ । बन्दीपुर वर पर मगर जातिको वस्ती भएको र परापूर्वकालमा वनको पानी खानुपर्ने भएकाले ठाउँको नाम बन डी अर्थात वनको पानीबाट बन्दीपुर भएको भन्ने भनाई छ ।

काठमाडौंबाट १४३ किमी र पोखराबाट ७३ किमी दूरीमा रहेको डुम्रे बजारबाट ८ किलोमिटर उकालो यात्रामा बन्दीपुर पुग्न सकिन्छ । डुम्रेबाट तनहुँको सदरमुकाम दमौली १८ किलोमिटर पर्दछ । बन्दीपुर महाभारत श्रृंखलाको १ हजार ३० मिटरको उचाईमा पर्दछ । वेसि र टार भू भागको बाहुल्य रहेको तनहुँको बिच भागमा रहेको बन्दीपुर सलक्क उठेको पहाडी भु-भागको दम्सीलो थाप्लोको पहाडमा छ । बन्दीपुरमा पाँच तारे होटल सहितको केबलकार निर्माण तीव्र गतिमा भइरहेको छ । बन्दीपुरको पर्यटनलाई थप प्रवर्द्धन गर्ने माध्यम केबलकार पनि बन्न सक्ने विश्वास गरिएको छ । पाँचतारे होटलसहित निर्माण भइरहेको केबलकार अब सञ्चालनमा आउने भएको छ ।

कसरी पुग्ने ?
डुम्रेबाट बन्दीपुरसम्म पक्की सडक छ । तर काठमाडौँ, पोखरा र अन्यशहरी क्षेत्रबाट सिधै बन्दीपुरसम्म सार्वजनिक बस चल्दैन । त्यसैले पृथ्वीराजमार्गको डुम्रे बजारसम्म बसमा जानुपर्छ । डुम्रे बजारबाट बन्दीपुर जादा सडक यात्रामा मनोरम हिमश्रृंखला, पहाड र टाकुरा हेर्न सकिन्छ । डुम्रे बजारबाट बन्दीपुर जाने बस र जिपहरु पाइन्छ ।











