धरापमा परेको पौडेलको पुर्ख्यौली घर र गाउँलेको शुभकामना !

सविन लामिछाने/तनहुँ

पुरानो घर भत्किएको छ । घरका काठपात लथालिंग छन् । यहाँनेर घर थियो भन्ने अस्तित्व जोगाउन एउटा कोठाको दुइ तल्ला धराप भएरै पनि ठडिएको छ । भत्किएर रहेको बाँकी भाग कुन दिन ढल्ने हो, टुंगो छैन । यो दृश्य हो नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको गाउँको घरको हो ।

तनहुँको व्यास नगरपालिका-८ रिस्ती स्थित बाहुनपोखरा पौडेलको गाउँ हो । २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछि निरन्तर गएका परकम्पले पौडेलको पुरानो घर भग्नावशेषमा परिणत हुँदै गएको छ । गाउँको पुर्ख्यौली घरको नामोनिशान मेटिन लागेपछि पौडेलका छोरा चिन्तनले भत्किएको घरको माथिपट्टी नयाँ घर बनाउने तयारी गरे । जग्गा सम्याएर अघिल्लो वर्ष घर बनाउने तयारी गरे तर अहिलेसम्म घर ठडिएको छैन ।

पौडेलले आफ्नो पुर्ख्यौली थलो बस्न छोडेको करिब ३ दशक भन्दा बढि भयो । उनको पुर्ख्यौली घर भत्किसकेको छ । तर राष्ट्रिय राजनितिमा सधै चर्चामा रहिरहने पौडेलको प्रभाव गाउँमा भत्किएको छैन । पौडेल राष्ट्रपति बनेपछि व्यास नगरपालिका वडा नं. ८ रिस्ती बाहुनपोखराका उनका आफन्त र गाउँले खुशीले फुरूङ्ग बनेका छन् । छिमेकी समेत रहेकी स्थानीय दुर्गा पौडेल भन्छिन्, ‘हामीलाई खुसी लागेको छ, छिमेकी राष्ट्रपति हुँदा कसलाई खुसी लाग्दैन र, यहाँ आएको बेला भेट्ने बोलाउने, खाना खाने गर्नुहुन्थ्यो । उहाँले राष्ट्रको विकास गर्नुहुने छ भन्ने अपेक्षा छ ।’

पौडेलले चुनाव प्रचारको बेला कृषि, रोजगारी र पर्यटनको विकास गरी गाउँमै बसु बसु बनाउने कुरा दोहोर्‍याइरहन्थे । पौडेलको वचन गाउँलेले सधै सम्भिmरहन्छन् । उनको गाउँ कृषिको लागि उर्वर छ । बाहुनपोखराका प्रत्येक घरका करेसा हरिया तरकारीले हराभरा छन् । तर उत्पादित उपजलाई बजारसम्म जोड्न सकिएको छैन ।

हिउँद याममा सुख्खा गेग्रान मात्र हुने रिस्ती खोला असार-साउनको वर्षासँगै उर्लिन्छ । उर्लिएको भेलसँग पौँठेजोरी खेल्दै हत्केलामा ज्यानको बाजी राखेर चालकले सवारी तार्नुको विकल्पमा मोटरेबल पुल बन्न सकेको थिएन । पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारले पौडेलको गाउँ जान लमजुङतर्फको बगुवा र तनहुँतर्फको बेलथुंगी जोड्ने गरी मोटरेबल पुल बनाउन बजेट विनियोजन गरेपछि अहिले त्यहाँ गाडी गुड्ने गरेका छन् ।

रिस्ती खोलामा तटवन्ध लगाउन पाए बर्खामा खेतको धान सुरक्षित हुन्थ्यो, गाउँमै तरकारी संकलन केन्द्र भईदिए स्वस्थकर उत्पादन कुहाएर फाल्नुपर्थेन भन्ने चाहना रहेको लक्ष्मी मिश्र बताउँछिन् । उनले भनिन्, ‘अब गाउँमा उत्पादन भएका कृषिउपजहरुलाई बजारीकरण गरिदिन सहयोग गरिदिए पुग्छ हामीलाई । अहिलेसम्म गाउँमा भएका विकास सबै उहाँले गर्दा नै भएको हो ।’

पौडेल राष्ट्रकै अभिभावक बनेका छन् । उनीसंग उनका गाउँलेको ठुला अपेक्षा छैनन् । स्थानीय रामनाथ पौडेलले गाउँमा समय मिलाएर आउन आग्रह गरेका छन् । उनले भने, ‘राष्ट्रपति भएको खुसीयाली गाउँलेसंग मनाईदिए पुग्छ । गाउँआईरहे हामीलाई खुसी र रमाईलो लाग्ने थियो ।’ सुशाशन र लोकतन्त्रको वकालत गर्ने पौडेलले राष्ट्रको अभिभावकको भुमिका कुशलतापुर्वक निर्वाह गर्न सकुन् भन्ने गाउँलेको शुभकामना छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker