प्रतिनिधिसभा निर्वाचन : तनहुँमा आठ हजार ३६६ मतदाता थपिए

दमौली : जिल्लामा आठ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता दर्ता अभियान सञ्चालन गरिएकामा जिल्लामा आठ हजार ३६६ मतदाता थपिएका हुन् ।

गत असोज ९ देखि मङ्सिर ५ गतेसम्म मतदाता दर्ता गर्न सकिने व्यवस्था रहेकामा कार्यालयमा पुगेर र राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावली दर्ता भएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिनुभयो ।

लम्सालका अनुसार कार्यालयमै पुगेर तीन हजार २०० जनाले नाम दर्ता गराएका छन् । त्यसमध्ये महिलाको सङ्ख्या एक हजार ३८२ र पुरुषको सङ्ख्या एक हजार ८१८ रहेको छ । यस्तै राष्ट्रिय परिचयपत्रमार्फत पाँच हजार १६६ जनाले नाम दर्ता गराएका छन् ।

राष्ट्रिय परिचयपत्र बनाएकाले सिधै अनलाइनमार्फत नाम दर्ता सक्ने व्यवस्था गरिएपछि मतदातालाई सहज भएको छ । कार्यालयमा पुगेरभन्दा धेरै मतदाताले राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराएको कार्यालयले जनाएको छ ।

यसैगरी नौ सय छ जनाले ठाउँसारी र दुई सय ९७ जनाले त्रुटि सच्याउनका लागि कार्यालयमा निवेदन दिएको लम्सालले बताउनुभयो । विसं २०८२ असोज ८ गतेसम्म जिल्लामा दुई लाख ४७ हजार चार जना मतदाता छन् । त्यसमध्ये एक लाख १९ हजार ८९ पुरुष र एक लाख २७ हजार ९१५ महिला रहेको कार्यालयले जनाएको छ ।

तनहुँमा दुईवटा मतदान केन्द्र थप्नका लागि निर्वाचन आयोगमा सिफारिस गरिसकिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले ऋषिङ गाउँपालिका–४ स्थित पद्मज्योति आधारभूत विद्यालय र ऋषिङ गाउँपालिका–६ स्थित धर्म आधारभूत विद्यालयमा मतदान केन्द्र थप्न आयोगमा सिफारिस गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले ऋषिङ गाउँपालिका–४ र ६ मा यसअघि एक–एक मतदान केन्द्र रहेकामा थप एक–एक मतदान केन्द्र थप्न आवश्यक रहेकाले सोहीबमोजिम आयोगमा पठाइएको जानकारी दिनुभयो । जिल्लाका दुईवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा तीन सय पाँच मतदान केन्द्र छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker