घुमाउने पुल : आफ्नै कथा, आफ्नै व्यथा
विद्या ढकाल

‘घुमाउने पुल मेरो पहिलो प्राथमिकतामा रहनेछ ।’ राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल (हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य)ले करिब १५ वर्षअघि तनहुँका राजनीतिक दलका जिल्ला नेताहरूसँगको बैठकमा गरेको यो प्रतिबद्धताले पनि कुनै सार्थक परिणाम दिन सकेन । चितवन र तनहुँ जिल्लालाई जोड्ने घुमाउने पुलका लागि त्रिशूली नदी किनारका दुवैतर्फ निर्माण गरिएका अलपत्र पिलरले आज पनि राज्य, जनप्रतिनिधि, उच्च सरकारी अधिकारी, सरोकारवाला निकाय र सर्वसाधारण नागरिकलाई गिज्याइरहेका छन् ।

मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ र बुद्धसिंह मार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका–५ को घुमाउनेलाई जोड्ने यो पुलको आफ्नै विशिष्ट महत्त्व छ । पुल निर्माण सम्पन्न भएमा मुग्लिनतर्फको बाटो प्रयोग गर्नुभन्दा सेती नदीको किनारैकिनार दमौली पुग्ने दूरी करिब २४ किलोमिटर छोटिनेछ । यसले पोखरालगायत त्यस भेगका विभिन्न स्थानसम्मको यात्रा छोटो, छरितो र सहज बनाउनेछ । विशेषगरी तनहुँको दक्षिणपूर्वी भेगका बासिन्दाका लागि यो पुल विकास र समृद्धिको महत्त्वपूर्ण आधार बन्नेछ ।
यो पुल निर्माणका लागि विसं २०७० असार २८ गते ‘मृत सञ्जीवनी निर्माण सेवा’सँग ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले नै डिजाइन तयार पार्ने गरी जिम्मेवारी पाएको भए पनि प्राविधिक कारण देखाउँदै पटकपटक डिजाइन परिवर्तन गरिएको बताइन्छ । सुरुमा करिब नौ करोड रुपैयाँ लागत अनुमान गरिएको डिजाइनअनुसार पुलको लम्बाइ १०५ मिटर र फुटपाथसहित चौडाइ ११ मिटर रहने व्यवस्था थियो । निर्माण सम्पन्न गर्न चार वर्षको अवधि तोकिएको भए पनि पटकपटक म्याद थप हुँदै गयो । तर, निर्माण कार्यले अपेक्षित गति लिन सकेन ।
पुल निर्माणमा भएको ढिलाइप्रति राज्य र ठेकेदार कम्पनीको ध्यानाकर्षण गराउन स्थानीय बासिन्दाले विभिन्न चरणमा आन्दोलन तथा दबाबमूलक कार्यक्रम सञ्चालन गरे । राजधानी काठमाडौँलगायत सम्बन्धित निकायमा प्रतिनिधिमण्डल पठाएर समस्या समाधानका लागि पहलसमेत गरे। तर, स्थानीयको आवाज र दबाबले पनि पुल निर्माणलाई पूर्णता दिन सकेन। हरेक निर्वाचनमा यो पुललाई चुनावी मुद्दा बनाएर कतिपय उम्मेदवारले मत माग्ने गरेको स्थानीयको गुनासो छ । आश्वासन दोहोरिने तर काम अघि नबढ्ने प्रवृत्तिले स्थानीय बासिन्दामा निराशा बढ्दै गएको छ ।
गत फागुन २१ गतेको निर्वाचनका सन्दर्भमा पनि पुल निर्माणमा भएको बेवास्तालाई लिएर त्यस भेगका नागरिकबीच ‘नो भोट’ अभियानको चर्चा चलेको थियो । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का सबै उम्मेदवार सम्बन्धित स्थानमै उपस्थित भएर मन्तव्यसहित लिखित प्रतिबद्धता जनाएपछि मात्र स्थानीय बासिन्दा मतदानका लागि तयार भएको अवस्था थियो। यसले घुमाउने पुल स्थानीयका लागि सामान्य पूर्वाधार आयोजना मात्र नभई राजनीतिक जवाफदेहितासँग जोडिएको गम्भीर विषय बनेको स्पष्ट पार्छ ।
यति धेरै महत्त्व बोकेको पुल निर्माणमा भएको ढिलासुस्तीका लागि मूलतः राज्य र निर्माण कम्पनी दुवै जिम्मेवार देखिन्छन्। पुल निर्माणस्थलको भौगोलिक अवस्था र नदीको प्रकृतिलाई पर्याप्त अध्ययन नगरी हचुवाका भरमा डिजाइन तयार पारेर निर्माण प्रक्रिया अघि बढाउन खोज्नु नै समस्याको मुख्य कारणमध्ये एक हुन सक्छ । डिजाइन तयार गर्दा नदीको गहिराइ, चौडाइ र बहावको अवस्थालाई पर्याप्त ध्यान दिइएको देखिँदैन। प्राविधिक समस्या वास्तविक भए पनि त्यसको समाधान समयमै खोज्नु सम्बन्धित निकायको दायित्व थियो । ठेक्का सम्झौता भएको लामो समय बितिसक्दा पनि पुल निर्माण सम्पन्न हुन नसक्नुमा राज्य र निर्माण कम्पनी दुवैले आफ्नो जवाफदेहिताबाट उम्कन मिल्दैन ।
अहिले आएर गत वैशाख २९ गते सडक डिभिजन कार्यालय, दमौलीले मृत सञ्जीवनी निर्माण सेवासँगको ठेक्का सम्झौता रद्द गरेको छ । पुल निर्माणका लागि आर्थिक वर्ष २०८३/०८४ मा करिब डेढ करोड रुपैयाँ विनियोजन भएको सार्वजनिक भएको छ । सडक डिभिजन कार्यालयले पुराना पिलरको प्राविधिक परीक्षण गरी त्यसको अवस्थाका आधारमा थप प्रक्रिया अघि बढाउने बताइएको छ । तर, यस विषयमा थप जानकारी लिन खोज्दा कार्यालयसँग सम्पर्क हुन सकेन ।
पुल निर्माणका लागि आवश्यक दबाब दिन गठित संघर्ष समितिका संयोजक सिद्धान्त थापा पनि पछिल्लो समय विभिन्न कुरा सार्वजनिक भए पनि पुल निर्माण हुनेमा ढुक्क हुन सक्ने अवस्था नरहेको बताउनुहुन्छ । उहाँका अनुसार आगामी १५–२० दिनभित्र पुल निर्माणको प्रक्रिया ठोस रूपमा अघि नबढे पुनः संघर्षका कार्यक्रम सञ्चालन गरिनेछ । यो भनाइले स्थानीय बासिन्दा अझै पनि आश्वासनभन्दा कामको प्रतीक्षामा रहेको देखाउँछ ।
घुमाउने पुलको कथा एउटा निर्माणाधीन आयोजनाको ढिलासुस्तीको कथा मात्र होइन। यो राज्यको कमजोर कार्यान्वयन क्षमता, विकास आयोजनाप्रतिको बेवास्ता, ठेकेदारको गैरजिम्मेवारी र राजनीतिक प्रतिबद्धता पूरा नहुँदाको परिणाम पनि हो । वर्षौदेखि अलपत्र पिलरले विकासका नाममा गरिने प्रतिबद्धता र वास्तविक उपलब्धिबीचको दूरीलाई उजागर गरिरहेका छन् । अब पनि प्राविधिक अध्ययन, बजेट विनियोजन र प्रक्रियागत बहानामै आयोजना अल्झाइरहने हो भने स्थानीय जनताको विश्वास थप कमजोर हुनेछ ।
त्यसैले पुराना पिलरको प्राविधिक परीक्षण तत्काल सम्पन्न गरी सुरक्षित रूपमा उपयोग गर्न सकिने अवस्था भए त्यसैलाई आधार मानेर र आवश्यक भए नयाँ डिजाइन तयार गरी पुल निर्माणको काम अघि बढाउनुपर्छ । यसका लागि स्पष्ट कार्ययोजना, पर्याप्त बजेट, जिम्मेवार निर्माण कम्पनी र समयसीमासहितको प्रतिबद्धता आवश्यक छ । सम्बन्धित निकायले कामको प्रगति नियमित रूपमा सार्वजनिक गर्दै स्थानीय जनतालाई विश्वासमा लिनुपर्छ ।
हामी चाहन्छौँ, घुमाउने पुलको कथा अब आश्वासन र निराशाको चक्रमा नघुमोस् । अलपत्र पिलर विकासको प्रतीक बन्न सकून्, उपेक्षाको स्मारक होइन । स्थानीय जनताको वर्षौँदेखिको प्रतीक्षा अन्त्य होस् र पुल निर्माणले चाँडै पूर्णता पाओस्। घुमाउने पुल बनोस्, किनकि यो पुल केवल दुई जिल्लालाई जोड्ने संरचना होइन, जनताको आशा, आवश्यकता र समृद्धिको सम्भावनालाई जोड्ने आधार पनि हो ।










