भानु जन्मस्थललाई सप्तधाममा विकास गर्न पहल
कृष्ण न्यौपाने/दमौली

मेरा इनार, न त सत्तल पाटी केही छन्
जे चिज र धनहरू छन् घरभित्र नै छन्
त्यस घाँसीले कसरी आज दिएछ अर्ति
धिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य )
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा उहाँकै नाममा गठित भानुभक्त जन्मस्थल विकास समिति छ । नेपाली भाषा साहित्यका विशिष्ट व्यक्तित्व भानुभक्तको जन्मस्थलको विकास गर्न एवं नेपाली भाषा र साहित्यको खोज अनुसन्धान गर्ने उद्देश्यले नेपाल सरकारले विसं २०५२ मा आदिकवि भानुभक्त जन्मस्थल विकास समिति गठन गरेको थियो ।
भानुभक्त जन्मस्थल विकास समितिले आदिकविको जन्मस्थललाई प्रचारप्रसार गरी साहित्यिक पर्यटनका रुपमा देशविदेशमा परिचित गराउन विभिन्न संरचना निर्माण थालेको छ । पर्याप्त बजेट नहुँदा त्यसले मूर्त रुप पाउन सकिरहेको छैन ।
आन्तरिक तथा बाहृय पर्यटनका लागि आफ्नै स्वामित्वमा रहेको १४ रोपनी जग्गामा भानु स्मृति पार्क निर्माण भइरहेको विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले बताउनुभयो । भानुभक्तको जन्मथलो शिमखर कटेरी चुँदीरम्घामा रामायण भवन निर्माण भइसकेको छ । पर्यटन मन्त्रालयको रु तीन करोड लगानीमा रामायण भवन निर्माण गरिएको हो । रामायण भवनलाई आकर्षकरुपमा बनाइएको छ । भवनको बार्दली काठमा कुँदिएको कलात्मक छ ।
चुँदीरम्घालाई सप्तधामका रुपमा विकसित गर्न गुरुयोजना बनाउने तयारी थालिएको रानाभाट बताउनुहुन्छ। “पर्यटकलाई आकषिर्त गराउन चुँदीरम्घामा केही संरचना र विकासका काम गर्नुपर्नेछ, त्यसका लागि समितिसँग बजेट छैन”, रानाभाटले भन्नुभयो, “चुँदीरम्घाको विकासका लागि संघ र प्रदेश सरकारसँग बजेट माग गरेका छौं ।” समितिले आदिकवि भानुभक्त आचार्यको पुरानो शैलीमा घर निर्माण गर्ने लक्ष्य राखेको छ। त्यसका लागि रु एक करोड बजेट आवश्यकपर्ने अनुमान गरिएको छ ।
शिखर कटेरीमा भानुभक्तको घर खण्डहर अवस्थामा छ । माटो र ढुङ्गाले बनेको घरको गाह्रो चारैतिर भत्केर भग्नावशेष मात्र बाँकी छ । घरभित्रै विभिन्न जातका ठूलाठूला काँडासहितका बिरुवा हुर्केका छन् । भग्नावशेष हेर्दा घरको भित्ता जस्तो पनि देखिँदैन ।
वि.सं. २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माण गर्न भानुभक्तको घर पुनःनिर्माण गरिएको थियो । जंगलबीचको खरको छानोको घरमा विसं २०६१ जेठमा आगलागी भएको थियो ।
पश्चिमाञ्चल विकास मञ्चले भानुगृह निर्माण गर्ने भनेको लामो समय भइसके पनि काम सुरु नभएकाले समितिकै सक्रियतामा अब घर निर्माण थालिने रानाभाटले बताउनुभयो । “घर निर्माण गर्ने भनेर शिलान्यास भएको लामो समय भयो, काम भएन”, उहाँले भन्नुभयो, “अब समितिले आफैँले घर निर्माण काम थाल्छ ।”
भानु जन्मस्थल क्षेत्रमा थप केही पूर्वाधार निर्माण गर्न गुरुयोजनाअनुसार रु तीन करोड बजेट लाग्ने देखिएको छ। आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको कार्यालय, भानु संस्कृत मावि र भानु संस्कृत विद्यापिठमा कच्चीबाटो रहेकाले वर्षायाममा आवतजावत गर्न कठिनाइ भएकाले कालोपत्र, पक्की नालाका लागि बजेट आवश्यक रहेको रानाभाट बताउनुहुन्छ ।
विसं १८७१ असार २९ गते तनहुँको भानु नगरपालिकास्थित चुँदी रम्घामा जन्मिनुभएका भानुभक्तको नाम नेपालमा मात्र होइन विश्वभर प्रख्यात छ । भानु जयन्तीका दिन देशभित्र तथा देश बाहिर पनि विविध कार्यक्रम हुँदै आएका छन् ।
भानुभक्तको योगदानको कदर गर्दै चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर योजना बनाइए पनि कार्यान्वयन नभएकामा स्थानीयवासी निराश छन् । भानुभक्तको जन्मगाउँ अहिले संरक्षणको पर्खाइमा छ ।
स्थानीय अगुवा ओमकुमारी पौडेलले सरकारले आदिकवि भानुभक्त आचार्यको जन्मथलोको विकासका लागि विशेष योजना ल्याउनुपर्ने बताउनुभयो । “भानुभक्त आचार्यको जन्मथलो ओझेलमा छ, यसको विकासका लागि सरकारको ध्यान जानुपर्छ”, उहाँले भन्नुभयो । रासस