तनहुँको व्यास नगरपालिकाका विद्यालय सञ्चालनमा ल्याइने, वडा समितिले अनुगमन गर्ने (निर्णय सहित)
- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्रका समुदायिक तथा निजीगत विद्यालयहरु खुल्ला गर्ने भएको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको नगर कार्यपालिका बैंठकले उक्त निर्णय गरेको हो ।
बैठकले विद्यमान चुनौतिपूर्ण अबस्थामा व्यास नगरपालिकाबाट जारी भएको विद्यालय सञ्चालन सहजीकरण निर्देशिका, २०७७ बमोजिम विद्यालय सञ्चालन गर्ने र वडा समितिबाट आ-आफ्ना वडा भित्रका सामुदायीक तथा निजी विद्यालयले निर्देशिका बमोजिम स्वास्थ्य सुरक्षा सामाग्रि र मापदण्ड पालना गरे नगरेको नियमित अनुगमन गर्ने गराउने निर्णय गरेको छ । यस्तै उक्त कार्यको व्यवस्थापनका लागि नगर शिक्षा समितिबाट सहजीकरण गरिने भएको छ ।
नगरपालिकाले यस आर्थिक वर्षा विगत ४ महिनामा नगरपालिकाबाट विभिन्न वडामा १८४ क्रमागत र यस वर्षा योजनाहरु सम्पन्न भएको बैठकमा जानकारी गराइएको थियो । यस्तै, उक्त योजनाहरु मध्ये ११५ सम्झौता भई निर्माण कार्य चलिरहेको बताइएको छ । बैठकमा वडा अध्यक्षहरु र वोर्ड सदस्यहरुबाट वडाका चुनौति, सम्भावना एवं सकारात्मक पक्षहरुका बीच पनि समिक्षा प्रस्तुत गरिएको नगर प्रवक्ता एवं वडा नं. ५ का वडाअध्यक्ष मोहन कुमर श्रेष्ठले जानकारी गराएका छन् ।
व्यास नगरपालिकाको मुल कार्यालयबाट प्रवाहित हुने सेवा, अवसर र चुनौतीका विषयमा व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले प्रस्तुत पश्चात समिक्षा गरिएको थियो । साथै यसै महिनाको चौथो हप्तामा शाखा, उपशाखा प्रमुख र वडा सचिवहरुलाई ५ दिने पुनर्ताजगी प्रशिक्षण कार्यक्रम र प्राविधिकहरुको कामको समिक्षा गर्दै पुनर्ताजगी तालिम सञ्चालन गर्ने विषयमा बैठकले निर्देशन दिएको प्रवक्ता श्रेष्ठले जानकारी गराए ।

यस्तै, नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वातावरण विभागको कात्तिक २५ गतेको निर्णयानुसार माग भए बमोजिम फोहोरमैला व्यवस्थापन कार्यक्रम साझेदारीमा सञ्चालन गर्ने गरी प्रस्ताब पेश गर्ने निर्णय बैठकले गरेको छ । बैठकले व्यास नगरपालिका युवा परिषद् नियमावली, २०७७ पारित गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै, मानुङ क्षेत्रको पर्यटन प्रबर्द्धनमा चासो राखी गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री माननीय किरण गुरुङ, संघ तथा प्रदेशका सांसदहरु, पर्यटन विद् जुद्द गुरुङ लगायतले गतहप्ता मानहुँको भ्रमण गरेकोमा बैठकले धन्यवाद ज्ञापन गरेको छ । मानहुँ जाने सडकम ढलान भएको बाटोमा फलामको रेलिङ राख्न, मानुङमा पिउने पानिको लिफ्टिङ योजना सञ्चालन गर्न र पर्यटकहरु आराम गर्ने सेड निर्माण गर्न गण्डकी प्रदेश सरकरसंग सहयोग माग गर्ने बैंठकले निर्णय गरेको छ ।
यस्तै, व्यास नगरपालिकाको निर्वाचित जनप्रतिनिधिहरुको ४३ महिनाको कार्यकाल पुरा भई सकेकाले पालिका भित्र बसोबास गर्ने नागरीकहरुसंग मत र्सर्वेक्षण गरप् नागरीकको अभिमतका आधारमा पालिकाको निति, कार्यक्रम, योजना र प्राथमिकताहरु निर्माण गर्न शेयर काष्ट इनिशियटिभ नेपालसंग सहकार्य गर्ने बैठकले निर्णय गरेको छ ।










