वन पैदावार उद्योग व्यवसाय संघ तनहुँको १८औं वार्षिक साधारण सभा

तनहुँ : नेपाल वन पैदावार उद्योग व्यवसाय संघ तनहुँको शनिबार १८औं वार्षिक साधारण सभा गरिएको छ । संघका जिल्ला अध्यक्ष दीपबहादुर श्रेष्ठको अध्यक्षतामा आँबुखरेनी–१ को अकला मन्दिरमा आयोजित कार्यक्रममा नेपाल वन पैदावार गण्डकी प्रदेशका अध्यक्ष प्रेमलाल श्रेष्ठले सम्बोधन गर्दै व्यवसायीहरूको हक हितका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाट, महासंघका केन्द्रीय सदस्य देव रसाइली, निवर्तमान केन्द्रीय सदस्य कृष्ण मुरारी मिश्र, गण्डकी प्रदेशका उपाध्यक्ष सुरेश घिमिरे, डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत नवीन विश्वकर्मा लगायतकाले आ–आफ्नो विचार व्यक्त गरेको छ ।
साधारण सभामा संघका सचिव वसन्त सदाशंकरले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कृष्णराज लामिछानेले आर्थिक प्रतिवेदन पेश गरे । कार्यक्रमको अवसरमा संघका अध्यक्ष श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न व्यक्ति, संघसंस्था र सरकारी निकायलाई सहयोग प्रदान गरिएको, डँढेलो नियन्त्रणका लागि कार्यक्रम गरिएको, व्यास–१ र प्रशिद्ध थानीमाई मन्दिर परिसरमा वृक्षारोपण लगायतका कार्यक्रम गरिएको जानकारी गराए ।
उनले आगामी दिनमा पनि वृक्षारोपणका कार्यक्रमलाई व्यापक गराउने, गरिब तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण कार्यक्रमलाई निरन्तरता दिने, संस्थाको भवनका लागि जग्गा खरिद गरी निर्माण गर्ने र व्यवसायीलाई संगठित हुन प्रेरणा प्रदान गर्ने लक्ष्य रहेको बताए ।
साधारण सभाले रिक्त रहेको संघको उपाध्यक्ष पदमा आशिष कुमार सुनार र रिक्त रहेको कार्यसमितिको सदस्य पदमा यालबहादुर गुरुङलाई सर्वसम्मत रुपमा चयन गरिएको संघका कोषाध्यक्ष कृष्णराज लामिछानेले जानकारी दिए ।










