पट्यार लाग्दो पृथ्वी राजमार्ग

  • प्रकाश पोखरेल

विश्व अहिले इलन मस्कको सोचाइमा आधारित हाइपरलुप प्रविधिको विकासमा छ, जसले करिब ध्वनिको गतिमा यात्रा गर्नेछ । हाइपरलुप लगभग मोनोरेल जस्तै देखिने पोडमा आधारित यात्रा हुनेछ जसको आफ्नै बन्द किसिमको ट्रयाक हुनेछ । यदि अमेरिकामा यो सम्पन्न भएमा सानफ्रान्सिस्कोदेखि लस एन्जल्सको ५६० किलोमिटरको दूरी ३५ मिनेटमै पूरा गर्न सकिनेछ । त्यस बाहेक अहिले रेलकै यात्राहरु पनि निकै तीव्र गतिमा हुने गरेका छन् । विकसित देशहरूमा विश्वविद्यालयमा कक्षा लिने प्रोफेसरहरु २०० किमि बढी टाढा रहेको सहरमा पुगेर कक्षा लिएर केही घण्टामा फर्किन सक्छन् । राजमार्गमा गुड्ने सार्वजनिक यातायात पनि निकै छिटो हुने गरेको छ । युरोप अनि दक्षिण अमेरिका पुग्दा त्यहाँ बसहरु एउटा सहरदेखि अर्कोसम्म निश्चित समयमै पुग्ने गर्दछन् जहाँ छुट्ने र पुग्ने समय लगभग पहिले नै निर्धारित हुन्छ । जुन विशेष परिस्थिति बाहेक तोकिएको समयभन्दा केही मिनेट मात्र फरक हुन्छन् ।

हाम्रोमा २० वर्ष अघि पोखरा काठमाडौँ पुग्न ६ घण्टा लाग्थ्यो। अहिले ट्राफिक जाम, गाडीको संख्या, राजमार्ग मर्मतको अभावमा यात्रा समय बढेर ७-८ घण्टा लाग्ने भएछ । हालसालै यस्तै भयो, ६ घण्टासम्म त पुगौँला भनेको बाटोमा ८ घण्टामा पुगेपछि निकै महत्वूर्ण काम हुन पाएन। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दुलेगौँडादेखि काठमाडौँ आउनु थियो । पोखराबाट ५.५ घण्टामा पुगिने भनिएको बाटोमा पोखराबाट २५ किमि वरै रहेको ठाउँबाट ६ घण्टामा पुगिएला भनेर हवाइ यात्राको साटो राजमार्ग हुँदै जाने निधो गरें । तर ७ घण्टा लागेपछि अहिले गलत निर्णयमा पछुताउनु बाहेक विकल्प रहेन ।

संसार अघि बढ्दै छ, हामी पछि जाँदै छौँ । ‘झर्ला र खाउँला’ भने झैँ अर्काले सहयोग गरीदिए बाटो बनाउन हुन्थ्यो भन्ने सोचले देश कहिले उभो लाग्ला ! तैपनि, देशको ट्राफिक प्रहरी र प्रशासनले केही निर्माणको कामसँगै केही सामान्य नियम बनाइदिए मात्र पनि काठमाडौँ छिर्ने पृथ्वी राजमार्गमा ट्राफिक जाम र यात्रा समय निकै कम गर्न सकिन्थ्यो। मेरा केही सुझाव यस्ता छन् ।

ट्रक ट्रिपरहरुका लागि निश्चित समय

यो लेख लेख्दै गरेको अघिल्लो दिन कलंकीमा ट्रक घरमा छिरेछ । ट्राफिक र पैदलयात्री निकै व्यस्त हुने त्यस्तो समयमा दुर्घटना हुँदा क्षति धेरै हुने पक्का छ । यात्रुबाहक गाडी धेरै चल्ने दिउँसको समयमा ट्रक र ट्रिपरहरुको सञ्चालनमा पूर्ण रोक लगाएर त्यसलाई बेलुकीको निश्चित समयमा मात्र व्यस्त ट्राफिक हुने ठाउँमा सञ्चालन गर्न दिइयो भने यसले दुर्घटनासँगै ट्राफिक जाम न्यूनीकरण गर्न सक्छ । पृथ्वी राजमार्गमा मलेखुदेखि अघि राति ११-४ सम्म यस्तो ट्रकहरु चल्न दिन सकिने एउटा उपाय हुन सक्छ, हैन भने यस्ता ट्रकले दिउँसको समयमा सुस्त गति र कहीं बिग्रिने समस्याले धेरै ट्राफिक जाम भैरहेने छ ।

वैकल्पिक बाटो

अत्याधिक ट्राफिक जाम हुने स्थान जस्तै कलंकी, नागढुङ्गा, नागढुङ्गा, नौबिसे जस्ता क्षेत्रहरुमा दुइ वा बढी वैकल्पिक बाटो बनाउन सकिन्छ । यी वैकल्पिक बाटाहरू सवारीका प्रकार वा समय वा अन्य कुनै प्रकारले छुटाउन सकिन्छ। जस्तो कुनै बाटो अलि सानो भए, त्यस्तोमा हलुका ४ पाङ्ग्रे र २ पांग्रे जान दिने वा कुनै कारणले मुख्य बाटो रोकिएको खण्डमा वैकल्पिक बाटो प्रयोग गर्ने योजना गर्न सकिन्छ ।

द्रुतमार्गको कामको छिटै समापन

अहिले पृथ्वी राजमार्ग काठमाडौँबाट पूर्व, पश्चिम, मध्य पश्चिम, सुदूरपश्चिम हरेक क्षेत्रमा जाने एक मात्र बाटो छ । जाम भए घण्टौं कुर्नु पर्ने अनि सास्ती खेप्नु परेको सबैलाई थाहा छ । अहिले बन्दै गरेको द्रुतमार्गको निर्माण कार्य छिटै सकियो भने पूर्वका सबै सवारी त्यताबाट जानेछन् र पृथ्वी राजमार्गमा सवारीको चाप निकै कम हुनेछ ।

निजीभन्दा सार्वजनिक यातायातको प्रयोगमा जोड

पक्कै पनि सडकमा एउटा सार्वजनिक सवारी गुड्यो भने २५-४५ व्यक्ति यात्रा गर्न सक्नेछन् भने निजीमा व्यक्तिकै संख्यामा निजी गाडीहरु हुनेछन् । सडक र ट्राफिक जाम समाधान गर्ने विकल्प नहुँदासम्म निजी सवारी कमभन्दा कम प्रयोग गरिएमा पनि सडकमा सवारीको चाप निकै घट्नेछ । यसका लागि ट्राफिक र प्रशासनले निजी सवारीका लागि हप्तामा केही बार वा जोर बिजोर वा यस्तै किसिमको नियम बनाउन सकिन्छ।

सवारी बिग्रिएमा पार्क स्थल

धेरै पटकको यात्रामा जाम हुने एक कारण हुन्छ गाडी बिग्रिनु । बिग्रिएपछि त्यो गाडीले एउटा लेनको बाटो रोकिदिन्छ । त्यसपछि दुइ लेनको गाडी पालै पालो जानुपर्ने हुँदा निकै ढिला हुने गर्छ। त्यस्तोमा त्यसता सवारीलाई तुरुन्त पार्क स्थलसम्म तानेर पुर्याउने व्यवस्था भएमा बाटो छिटै सामान्य हुन सक्छ ।

दुर्घटना हुँदा बाटो बन्द गर्ने परिपाटीको अन्त्य

अहिले हाम्रो चलन नै भइसक्यो, कही दुर्घटना हुँदा बाटो बन्द गर्ने अनि आन्दोलन गर्ने । आन्दोलन नगरी प्रशासनले कुरै नसुन्ने हाम्रो देशमा त्यो स्वभाविक पनि हो तर त्यसले यात्रुलाई निकै सास्ती हुने तर्फ सोचिँदैन । निकै महत्वपूर्ण एम्बुलेन्स लगायतका सवारी पनि त्यसरी रोकिँदा अन्य ज्यान जोखिम पर्ने हुन्छ । यसरी आन्दोलन गर्ने भन्दा पनि दुर्घटना भएमा के गर्ने भन्ने बारे सरकारले पहिले नै निर्देशिका निकालेमा यसले केही सहयोग पुग्ने थियो । यी केही सुझावहरू हुन् । यस बाहेक अन्य तरिकाहरू पनि अवलम्बन गर्न सकिए जाम निकै व्यवस्थापन गर्न सकिन्थ्यो । यस बारे सरोकारवालाको ध्यान जाओस् । सा. सेतोपाटी डटकम

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker