तनहुँमा लक्ष्यभन्दा बढी राजस्व संकलन
भञ्ज्याङ समाचारदाता/दमौली

आन्तरिक राजस्व कार्यालय तनहुँले लक्ष्यको १०१ दशमलव ६५ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो । उक्त आर्थिक वर्षमा लक्ष्यभन्दा रु १५ करोड पाँच लाख ७६ हजार बढी राजस्व संकलन भएको कार्यालयका प्रमुख कर अधिकृत डा नारायण ढकालले बताए । कार्यालयले यो अवधिमा रु नौ अर्ब २४ करोड ९२ लाख चार हजार राजस्व संकलन गरेको छ । यो वर्ष रु नौ अर्ब नौ करोड ८६ लाख २८ हजार राजस्व संकलन गर्ने लक्ष्य थियो ।
गत आर्थिक वर्ष २७७/७८ मा कार्यालयले रु आठ अर्ब ५० करोड २६ लाख ६१ हजार राजस्व संकलन गरेको थियो । उक्त आर्थिक वर्षा रु आठ अर्ब ५६ करोड ६८ लाख ३७ हजार राजस्व संकलन गर्ने लक्ष्य थियो । गत वर्ष लक्ष्यभन्दा केही कम राजस्व संकलन भए पनि यो वर्ष लक्ष्यभन्दा बढी राजस्व संकलन भएको ढकालले बताए ।
कार्यालयले यस अवधिमा आयकरतर्फ रु ६५ करोड ४७ लाख १५ हजार, घरबहाल करतर्फ रु एक करोड ८६ लाख ८१ हजार, ब्याजतर्फ रु चार करोड ६७ लाख ८७ हजार, मूल्यअभिवृद्धि तर्फ रु ४५ करोड ७५ लाख ५९ हजार राजस्व संकलन भएको छ । अन्तशुल्कतर्फ रु छ अर्ब १७ करोड ५ लाख २१ हजार, स्वास्थ्यतर्फ रु एक अर्ब ९० करोड नौ लाख ३७ हजार र शिक्षातर्फ रु पाँच हजार राजस्व संकलन भएको छ ।
आयकरतर्फ रु ७१ करोड ६१ लाख ४१ हजार, घरबहाल करतर्फ रु ५६ करोड ६८ लाख चार हजार, ब्याजतर्फ रु एक अर्ब आठ करोड १३ लाख नौ हजार, मूल्यअभिवृद्धि करतर्फ रु ६१ करोड ६१ लाख १२ हजार, अन्तशुल्कतर्फ रु छ अर्ब ४४ करोड दुइ लाख ११ हजार, स्वास्थ्यतर्फ रु एक अर्ब १५ करोड ७९ लाख १७ हजार र शिक्षातर्फ ३४ लाख २५ हजार राजस्व संकलन गर्ने लक्ष्य थियो ।
आयकरतर्फ लक्ष्यको ९१ दशमलव ४२, घरबहाल करतर्फ ३२ दशमलव ९६, ब्याजतर्फ ४३ दशमलव २७, मूल्यअभिवृद्धि करतर्फ ७४ दशमलव २७, अन्तशुल्कतर्फ ९५ दशमलव ८१, स्वास्थ्यतर्फ १६४ दशमलव १७ र शिक्षातर्फ शून्य दशमलव १४ प्रतिशत राजस्व संकलन भएको छ । कार्यालयका अनुसार असार महिनामा मात्रै रु ८५ करोड ७९ लाख ७४ हजार राजस्व संकलन गरेको जनाइएको छ । असार महिनामा मात्रै लक्ष्यको १३५ दशमलव २४ प्रतिशत बढी राजस्व संकलन भएको थियो । असार महिनामा रु ६३ करोड ४४ लाख २५ हजार राजस्व संकलनको लक्ष्य राखिएको थियो ।
कार्यालयले तनहुँसहित लमजुङ, गोरखा र मनाङको असूली गणना, लेखापरीक्षण र अनुसन्धानको काम गर्दै आएको छ । विगत दुइ वर्षदेखि गोरखा र लमजुङमा करदाता सेवा कार्यालय स्थापना भएको छ । मनाङका करदाताले लमजुङबाट कर तिर्न सक्ने व्यवस्था मिलाइएको छ । उक्त दुइ जिल्लामा करदाता सेवा कार्यालय नहुँदा त्यहाँका करदाताले पनि दमौलीमै आएर कर तिर्नुपर्ने बाध्यता थियो ।










