आदिकवि भानुभक्त क्याम्पस र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसबीच अन्तरक्रिया

दमौली : आदिकवि भानुभक्त क्याम्पस दमौली र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखराबीच शैक्षिक तथा संस्थागत सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा दुबै क्याम्पसका सञ्चालक समिति पदाधिकारी, प्राध्यापक तथा कर्मचारीको सहभागिता रहेको थियो। गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको भ्रमण टोलीले आदिकवि भानुभक्त क्याम्पसको भौतिक संरचना, शैक्षिक तथा प्रशासनिक पूर्वाधारको अवलोकन गर्नुका साथै शैक्षिक, आर्थिक, भौतिक र प्रशासनिक गतिविधिमाथि केन्द्रित रही अन्तरक्रिया गरेको थियो। सो अवसरमा आदिकवि भानुभक्त क्याम्पसले दोस्रोपटक क्युएए प्रमाणपत्र प्राप्त गर्न गरेको तयारी र प्रयत्नबारे पनि विस्तृत छलफल भएको थियो ।
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको भ्रमण टोलीमा सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदी, उपाध्यक्ष ऋतुनाथ लम्साल, कोषाध्यक्ष युवक लामिछाने, सञ्चालक समिति सदस्यहरू ईश्वरी लम्साल, राजन अधिकारी, ग्याच शर्मा, उत्तम सिग्देल, कृष्ण पोखरेल, विजयराज आचार्य र नारायण बराल, क्याम्पस प्रमुख धर्मराज बराल, आईक्यूएसी प्रमुख राजकुमार सुवेदी तथा लेखापाल महेश्वर ढकाल सहभागी थिए।
भ्रमण टोलीले आदिकवि भानुभक्त क्याम्पसका सञ्चालक समिति अध्यक्ष केशबहादुर सुनार, उपाध्यक्ष श्रीराम कार्की, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख, प्राध्यापक तथा कर्मचारीसँग अन्तरक्रिया गरेको थियो ।
यसअघि नै दुवै क्याम्पसबीच संस्थागत सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ। पछिल्ला तीन वर्षदेखि सञ्चालक समिति, प्राध्यापक, कर्मचारी र विद्यार्थी तहमा शैक्षिक अध्ययन–अवलोकन भ्रमण, तालिम, गोष्ठी, भेला, सम्मेलन तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सेमिनारमा सहकार्य हुँदै आएको छ ।
दुवै क्याम्पसहरूले विश्वविद्यालय अनुदान आयोग, सानोठिमी भक्तपुरबाट क्युएए प्रमाणपत्र प्राप्त गरिसकेका छन् । आदिकवि भानुभक्त क्याम्पस दोस्रोपटक क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल भइसकेको छ भने गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस दोस्रोपटक क्युएए प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा अगाडि बढिरहेको छ ।
गण्डकी प्रदेशका गुणस्तरीय सामुदायिक क्याम्पसका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्यका साथ दुवै क्याम्पस निरन्तर प्रयत्नशील रहेको बताइएको छ ।










