पञ्चमुनिदेव माविको वार्षिकोत्सव, विश्वमाझ प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्छ : स्वास्थ्यमन्त्री पौडेल

दुलेगौंडा : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालय तहबाटै विश्वमाझ प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने गरी पठनपाठन गर्नुपर्ने बताएका छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगैंडास्थित पञ्चमुनिदेव माध्यमिक विद्यालयको सोमबार आयोजित ५५औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले विश्वमाझ प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्ने शिक्षा आजको आवश्यकता रहेको चर्चा गर्दै पञ्चमुनिदेव विद्यालय यस क्षेत्रकै नमुना विद्यालय रहेको र यसले यस क्षेत्रको शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।

यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले स्वास्थ्य बिमाको रकम एक लाख रुपैयाँलाई बढाएर पाँच लाख रुपैयाँ पु¥याउनका लागि आवश्यक तयारी भइरहेको बताएका छन् । उनले बिमाले बिरामीको आवश्यकता अनुसार उपचार गराउन नसक्ने हो भने नेपालमा समाजवाद ल्याउन नसकिने बताए। नेपालको संविधानमा स्वास्थ्य नागरिकको अधिकारको रुपमा उल्लेख गरेकाले कार्यन्वयन गर्नुपर्ने उनको भनाइ छ ।
मन्त्री पौडेलले बिमा रकमलाई वृद्धि गर्ने गर्ने गृहकार्य भइरहेको र त्यसका लागि सरकार एक्लैले नसक्ने भएकाले नागरिकको योगदानमा आधारित बिमा प्रणाली विकास गर्नुपर्ने बताए ।

‘धेरैले भन्नुहुन्छ एक लाखको यो स्थिति छ ५ लाख कसरी हुन्छ ? यो स्थिति भएको कारण यसको सुरक्षित कोष छैन । सरकारले जम्मा साढे ७ अरब मात्रै दिने भनेर भनेको छ। म स्वास्थ्य मन्त्री भएपछि हामीले झण्डै साढे १० अरब भुक्तानी गरिसक्यौं’, उनले भने, ‘त्यो भुक्तानीबाट जम्मा असारसम्मको मात्रै भएको हो। गएको असारदेखि अबको असारसम्म सबै भुक्तानी गर्दा ४० अरब गर्नुपर्ने हुन्छ। सरकारले दिन्छु भने जम्मा साढे ७ अरब मात्रै हो ।’
सरकारले भनेको भन्दा ६ गुना बढी तिर्नुपर्ने भएपछि स्वास्थ्य बिमा व्यवस्थि बन्न नसक्ने मन्त्री पौडेलको तर्क छ । मन्त्री पौडेलले भने, ‘यो समयमा उपलब्ध हुन सक्दैन । त्यसैले यसको सुरक्षित कोष निर्माण गर्न जरुरी छ । हामीले प्रस्ताव गरेका छौं अब नागरिकको योगदानमा आधारित बिमा प्रणाली विकास गर्नुपर्छ ।’

‘अब छिरलिएर विभिन्न शीर्षकमा होइन बिमा कोषले सबै बिरामीहरुलाई बिमामार्फत सेवा उपलब्ध गराउने स्थिति हुनुपर्छ । एकीकृत ढंगले एकद्वार प्रणालीबाट बिमाको व्यवस्थापन गरिनुपर्छ’, स्वास्थ्यमन्त्री पौडेलले भने, ‘कोही पनि मानिसलाई रोगी हुने रहर हुँदैन तर, स्वास्थ्य सचेतनाको अभावले भने व्यक्ति रोगी भइन्छ । व्यक्ति स्वस्थ हुन सचेतना समेत जरुरी छ । सबै मान्छेलाई स्वस्थ कसरी बनाउन सकिन्छ भनेर चेतना विस्तार गर्न जरूरी छ ।’
विद्यालयस्तरदेखि नै स्वास्थ्य विषय अनिवार्य पढाउनुपर्ने र त्यसका लागि शिक्षा मन्त्रालयसँग समन्वय गरिएको जानकारी गराउँदै उनले भने, ‘व्यक्ति स्वस्थ भएमात्रै देश विकास सम्भव रहेको र देशका नागरिक स्वस्थ भएमात्रै देशले प्रगति गर्न सकिन्छ। एकदमै धनी मानिस बिरामी छ, भने उसले सुखी जीवन बिताउन सक्दैन र विद्वान मानिस स्वस्थ छैन भने उसले देशका लागि केही गर्न सक्दैन ।’

उनले तनहुँको बेलचौतारामा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शैय्याको बनाउन पूर्वाधार र उपकरण सहयोग गर्न मित्र राष्ट्र भारतसँग सहमतिको प्रक्रिया अगाडि बढेको बताए । उनले भने, ‘यो केन्द्र तनहुँको गौरवको आयोजना हो। श्वासप्रश्वासको विशेषज्ञसहित उपचार गर्न सक्ने नेपालको एकमात्र अस्पताल तनहुँमा छ भन्ने कुरालाई हामीले सावित गर्न सक्नुपर्छ ।’
यस्तै, एउटा व्यक्तिको स्वास्थ्यमा पर्यावरणले कति असर गरेको हुन्छ भन्ने हाम्रो देशले थाहा पाउन नसकेको र स्वस्थ नागरिक बनाउनका लागि धेरै पक्षमा ध्यान दिन जरूरी रहेको स्वास्थ्य मन्त्री पौडेलले बताएका छन् ।

मन्त्री पौडेलले नेपालका १६ लाख किशोरीलाई पाठेघरको रोगविरूद्ध एचपिभी खोप अभियान सुरू गर्न लागिएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रलाई आम नागरिकको पहुँचसम्म लैजान वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री जीतप्रकाश आलेले सामुदायिक विद्यालयले पनि शैक्षिक क्षेत्रमा उलेखनिय उपलब्धी हासिल गर्न सक्छ भन्ने छाप पञ्चमुनिदेव माध्यमिक विद्यालयले छाडेको बताए । साथै उनले विद्यालयको चौतर्फि विकासका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग जुटाउन सधै तयार रहेको बताए ।

शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले विद्याथीहरुले पढाइसंगै व्यवहारीक सिप सिक्न पनि तयार हुनुपर्नेमा जोड दिए । नगरपालिकाले यस आर्थिक बर्षलाई शैक्षिक सुधारको बर्षको रुपमा स्वीकार गरेको हुँदा सोही अनुरुप नगरभित्रको विद्यालयको शैक्षिक र भौतिक पक्षको सुधारका लागि निरन्तर रुपमा लागि परेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा नगर उपप्रमुख खुमबहादुर विक (राजु), शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख उद्दबराज जम्मरकट्टेल, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लाम्गादे, वडाध्यक्ष राजकुमार वाग्ले, पूर्व प्रधानाध्यापक धु्रवकुमार मल्ल, शिक्षाप्रेमी शेषमणी आचार्य, रघुनाथ पौडेल, युवा अभियान्ता शंकर पन्त, विद्यालयका प्रधानाध्यापक एकनारायण भण्डारी, विद्यालयका सहायक प्रधानाध्यापक विमल जोजिजु लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यार्थीको तर्फबाट सदीक्षा पुरीले विद्यार्थीको तर्फबाट मन्तव्य राखेकी थिइन् भने विद्यालयको शिक्षक राजेन्द्र लम्साल र टुकादेवी आचार्य पौडेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।
यस्तै, विद्यालयको बार्षिकोत्सवमा विद्यार्थीहरुले शैक्षिक सामग्री प्रदर्शन, संस्कृतिक नृत्य प्रदर्शन, विभिन्न प्रकारका परिकारहरु बनाउनुका साथै विक्री वितरण समेत गरेका थिए । विद्यालयको बार्षिकोत्सव कार्यक्रममा चर्चित गायिका एलिना चौहानले आफ्नो संगीतिक प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरेकी थिइन् ।





