बाहुनडाँडा, पर्यटन र राष्ट्रकविको जन्मभूमी

के.बि. मसाल

साहित्यकारहरु लमजुङ जिल्लाको मर्स्याङदी गाउँपालिकाको बाहुनडाँडा पुग्नु भएको छ ? यदि पुग्नु भएको छैन भने एक पटक पुग्नुहोस । साहित्यिक क्षेत्रमा राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई नचिन्ने को होला र ? साहित्यका स्रष्टाहरुले राष्ट्रकवि माधव घिमिरेको बारेमा कथा, कविता, निबन्ध, उपन्यास, नाटक तथा कलाका क्षेत्रमा धेरै कलम चलाउँदै आउनु भएको होला ? राष्ट्रकवि माधव घिमिरेको बारेमा कलम चलाउने स्रष्टाहरुको सख्या हजारौ पुगि सकेका होलान । कतिपय साहित्यकार स्रष्टाहरु राष्ट्रकविको बारेमा कलम चलाउदा सम्मान र पुरस्कृत पनि हुनु भएको होला ! तर धेरै साहित्यकार राष्ट्रकवि माधव घिमिरेको जन्मभूमी लमजुङको बाउनडाडा पुग्नु भएको छैन होला ? नपुगेका साहित्यकारहरु राष्ट्रकविको जन्मभूमी पुग्दा राम्रो हुन्छ ।
पर्यटन भित्रको एउटा क्षेत्र स्रष्टा पर्यटन पनि हो । सडक यातायातको सुबिधा भएपछि आजभोली साहित्यकार पर्यटकहरु राष्ट्रकवि माधव घिमिरेको जन्मभूमी लमजुङको मर्स्याङदी गाउपालिका वाडनं ६ बाहुनडाडा पुग्ने गर्दछन । राष्ट्रकविको बारेमा खोज अनुसन्धान गर्दछन । बाहुनडाँडामा घिमिरे बाह्मण बस्ने हुँदा ठाउँको नाम पनि बाहुनडाँडा भएको मानिन्छ । अहिले पनि राष्ट्रकवि माधव घिमिरेको नाती पलाती पुस्ताहरुको ४५ घर बाहुनडाँडामा रहेको छ । बाहुनडाँडा अन्नपूर्ण पदमार्गमा पर्ने छुट्टै पहिचान भएको रमणीय गाउँ हो । बाहुनडाँडाबाट देखिने मनोरम पहाडको दृश्य सेता हिउले ढाकिएको हिमश्रृखलाले साहित्यकार पर्यटकहरुलाई आकर्षण गर्दछ ।
राष्ट्रकविका बाहुनडाँडा प्राकृतिक भ्यूटावर पनि हो । जहाँबाट ङादी र मर्स्याङदी नदीको नागवेली आकार, अपर मर्स्याङदी ए जलविद्युत आयोजनाको बाध र ङादी फाँट, भिरपुस्तनु, उस्ता, सिउरुङ, तालाघिरिङ, स्यागे, घेर्मु, सन्जापु र मस्र्याङदी नदी पारीको ताघ्रीङ लगायतका सुन्दर गाउँहरु स्रष्टा पर्यटकहरुले अवलोकन गर्न सक्दछन। बाहुनडाँडामा अहिले राष्ट्रकवि माधव प्रसाद घिमिरेको पूर्णकदको शालिक निर्माण गरिएको छ। राष्ट्रकवि माधव प्रसाद घिमिरेको जन्मस्थल बाहुनडाडा साहित्यिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन थालेको छ। राष्ट्रकविको जन्मस्थलमा गएर कविता वा अन्य साहित्य सिर्जना गर्नेका लागि शालिक निर्माण भएको ठाउमा पार्क निर्माण भएको छ । स्रष्टा पर्यटक वा साहित्यानुरागीहरुले राष्ट्रकविको जन्मस्थलमा बसेर साहित्य सिर्जना गर्न चाहने स्रष्टाहरुलार्ई त्यस किसिमको वातावरण तयार गरिदिने राष्ट्रकवि माधव प्रसाद घिमिरे प्रतिष्ठानको सोच समेत रहेको छ ।
लमजुङ ऐतिहासिक महत्व रहेको जिल्ला हो । भौगोलिक रुपमा पहाड देखि हिमाल सम्म फैलिएर लमजुङ जैविक विविधताले धनी छ । लमजुङ भाषा, साहित्य, संस्कृति र कलाको केन्द्र र साहित्यको भूमी हो । लमजुङले नेपाली भाषा साहित्य कला र संस्कृतिमा उल्लेखनीय स्रष्टा जन्माएको छ । लमजुङबाट धेरै कवि, लेखक, गायक र नाटककार जन्मिएका छन । वालुन, भजन, चुडका, घाँटु, सोरठीलगायत विविध पक्षमा आफ्नो रुचि अनुसार साहित्यकार स्रष्टा पर्यटकहरुले लमजुङमा अध्यन गर्न सक्दछन । लमजुङमा साहित्यकार स्रष्टाहरुको लागि पुग्न पर्ने धेरै ठाउहरु छन । गुरुङ जातीको बाहुल्यता भएको लमजुङमा स्रष्टा पर्यटकहरुले गुरुङ जातीको भाषा, संस्कृतिको अध्यन गर्न पाउँछन । प्राचीन कालदेखि वसोवास गर्दै आएका गुरुङग तथा घले जातिहरुले आफ्नो भाषा संस्कृति, रहनसहन तथा सामाजिक, आर्थीक र राजनीतिक संरचनाको स्थापना गर्दै आएका छन । नेपाललाई चिनाउने संस्कृति मध्य लोकदोहोरी गीत र ठाडो भाकाको उदगमस्थल पनि लमजुङनै हो । साहित्यिक यात्रामा स्रष्टा पर्यटकहरुले लोकगितको रसस्वाद समेत गर्न पाउँछन। पर्यटकहरुले आफुमा भएको कृर्ति समेत कलाकारहरुलाई सुनाउन पाउदछन ।
साहित्यकार साहित्य सृजना गर्ने मानिसहरु हुन । समाजलाई सहीबाटोतर्फ अग्रसर गराउने मानिसहरु नै साहित्यकार हुन्छन । लमजुङको साहित्य क्षेत्रको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको महत्वपूर्ण योगदान रहेको छ । लमजुङ प्राकृतिक संरचनाका हिसावले अत्यन्त सुन्दर र आकर्षक मानिन्छ । अन्नपूर्ण हिमश्रृंखलाको पदयात्रा लमजुङबाटै सुरुहुन्छ । पृथ्वी राजमार्गको डुम्रेबजारबाट ४२ कि.मि.पार गरेपछि लमजुङको सदरमुकाम बेसीशहर पुग्न सकिन्छ । लमजुङ प्रवेश गर्ने द्वार, पाउदी बजार मानिन्छ । पाउँदी बजारबाट राईनास प्याराजुङ हरित मार्ग, कुन्छा, दुराडाँडा जाने मोटर मार्ग पनि छुट्टिन्छन् । पाउदीबाट बेसीशहर पुग्न १८ कि.मि यात्रा गर्नु पर्दछ। मर्स्याङदीको किनारै किनार समथर फाँट काटेर भोटेओडार, उदिपुर, फलियासाँघु, तालफाँट, रानीकुवा हुँदै बेसीशहर पुगिन्छ । बेसीशहरबाट मनाङजाने मोटरमार्ग पनि सुरुहुन्छ । बेसीशहरदेखि बाहुनडाँडा २० किलो मिटरको दुरीमा पर्दछ । यात्रामा खुदीबाट अगाडि पुगेपछि साहित्यकार पर्यटकहरुले अपर मस्र्याङदी ए जलविद्युत आयोजनाको विद्युत गृह अवलोकन गर्न सक्दछन । त्यसपछि पुग्दछन भुलभुले क्षेत्रमा पुग्ने मस्र्याङदी नदीमा निर्माण भएको बेलिब्रिज पुल । बेलिब्रिज तर्नासाथ पर्यटकहरुले सुरुङ मार्ग यात्रा गर्न पर्ने हुन्छ । त्यसपछि ङादी फाँट, दोभान चौर हुँदै बाहुनडाँडा पुगिन्छ ।
लमजुङको मर्स्याङदी गाउँपालिकामा पर्ने बाहुनडाँडाको इतिहास लुकेको छ । बाहुनडाँडामा जनश्रुतीको आधारमा इतिहास बनेको तर इतिहासमा नलेखिएका धेरै कुरा छन । कुश्माखर घिमिरेलाई इतिहासकारहरुले बिर्सेका छन । बाहुनडाँडा भित्रको इतिहास खोज्ने हो भने कुश्माखर घिमिरे र राष्ट्रकवि माधव घिमिरेको बारेमा जान्न पर्ने हुन्छ । बाहुनडाँडामा कुश्माखर घिमिरे र राष्ट्रकवि माधव घिमिरेको जन्म भएको गाउँ हो । कुश्माखर घिमिरे राष्ट्रकवि माधव घिमिरेका पुर्खा हुन । कुश्माखर घिमिरे गजाधर घिमिरेका छोरा हुन । उनको जन्म विक्रम सम्वत १४८० साल असोज २७ गते विजया दशमीका दिन भएको थियो । कुश्माखरको नेतृत्वमा वि.सं १५१६ मा लमजुङमा आधुनिक राज्यको थालनी भएको इतिहास छ । संस्कृतिविद प्रा.डा. जगमान गुरुङका अनुसार राज्यमा सुरक्षा कसरी गर्ने भन्ने शास्त्रको ज्ञाता कुश्माखर घिमिरे थिए । बाहुनडाँडामा कुश्माखर घिमिरेले कालिका देवीको मन्दिर निर्माण गरेका थिए । मन्दिरको उत्खननका क्रममा वि.सं. १८२५ का अभिलेखहरु भेटिएको छ। त्यो समयमा मन्दिरमा विभिन्न स्थानबाट आएका ऋषि तथा योगीले तपस्या गरेको इतिहास पनि भेटिएका छन । भूकम्पले भत्काएको ऐतिहासिक धार्मिक महत्वको मन्दिर अहिले पुनः र्निर्माण भएको छ ।
कुश्माखर घिमिरे प्रकाण्ड विद्धान प्रखर ज्योतिषी र उष्कृष्ट राजनीतिज्ञ थिए । कुश्माखर घिमिरे लमजुङ राज्यका स्थापनाकर्ता र नेपालको वर्तमान चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डाको परिकल्पनाकार समेत हुन । लमजुङका ८ वटा कोटहरुको प्रतिनिधित्व गर्दै राष्ट्रिय झण्डामा ८ वटा कोणहरु राखिएको संस्कृतिविद जगमान गुरुङको भनाइ छ । लमजुङमा शाह वंशका राज्य स्थापना गर्नमा घिमिरेको काम्लो र दुराको नाम्लो गरी कुश्माखर घिमिरे र खजे दुराको ठूलो भूमिका थियो। कुश्माखर घिमिरे राजा यशोमह्म शाहको अदृश्य सारथि थिए । कुश्माखरले लमजुङमा आधुनिक राज्यको थालनी गर्ने नेतृत्व बोकेका थिए । यशोमह्म शाहले कुश्माखर घिमिरेलाई श्री ३ को उपाधी दिएका थिए । अर्को तर्फ यशोमह्म शाहले कुश्माखर घिमिरेलाई बाहुनडाँडाको सिमलचौर देखि दुधखोला सम्मको जमिन बिर्ता समेत दिएका थिए । त्यसैबेला भिरपुस्तुनका घिमिरेहरुलाई रक्तकाली गुठी प्रदान गरिएको थियो । त्यो बेला भिरपुस्तुनमा सुरक्षाको लागि सैनिक टुकुरी राखी कोत घरको समेत स्थापना भएको थियो । गुठीको जमिन ठूलीबेसी र चनौटेमा रहेको छ । त्यस बेला यी सबै क्षेत्रलाई पुस्तुन मौजा भन्ने गरिन्थो । जुन कुरा इतिहासकार प्रा.डा. रामराजा सुवेदीले कुश्माखर घिमिरे नामक पुस्तकमा लेख्नु भएको छ ।
बाहुनडाँडा पुग्ने स्रष्टा पर्यटकहरुले राष्ट्रकवि माधव प्रसाद घिमिरेको इतिहास खोज्दछन । अहिले बाहुनडाँडामा राष्ट्रकविका उमेरसम्म बाँच्ने मानिसहरु कोही छैनन् । तर उहाँका नाती पलाती पुस्ताका घिमिरेहरु भने भेटिन्छन । साहित्यकार पर्यटकहरुले तिनै नाती पुस्तासंग राष्ट्रकविका बारेमा सोध खोज गर्दछन । साहित्यकारहरुले माधव घिमिरेको बालापनमा रमाएको ठाउँ, उकाली ओराली गरेका स्थलहरुमा पुग्दछन। बाहुनडाँडामा राष्ट्रकवि जन्मेको खरले छाएको घुमाउने घर त अहिले छैन । तर पनि नाती पुस्ताले त्यहि घरलाई मर्मत सम्भार गरेर टिनको छाना दिएर बसेका छन । स्रष्टाहरु त्यहिघरमा पुगेर फोटो खिच्ने गर्दछन । राष्ट्रकवि बालापनमा आफ्नो हजुर बुवासंग बाहुनडाँडाको शिरमा रहेको भिरपुस्तुन नजिकै जगरा पाखामा गाई भैसीको गोठमा समेत बस्नु हुन्थो । सहित्यकारहरु जगरा पाखामा समेत पुग्दछन । जगरा पाखा भन्दा केही तल मान्द्रे र दमाह ढुङ्गा रहेको छ । जुन ढुङ्गामा राष्ट्रकविको बालापनमा खेल्ने र सुस्ताउने ठाउँ थियो। अर्को तर्फ त्यो बेलाको पानी खाने गर्जेनीको पधेरा जहाँ अहिले पनि बुढीकुवा रहेको छ । त्यो ठाउँमा पनि स्रष्टा पर्यटकहरु पुग्दछन । बाहुनडाँडामा रहेको ऐतिहासिक चौतारो जहाँ राष्ट्रकविले लुकामारी खेल्ने ठाउँ थियो । त्यो चौतारोमा स्रष्टाहरुले राष्ट्रकविलाई स्मरण गर्दै सुस्ताउँछन । फोटो खिच्दछन ।
बाहुनडाँडा कुश्माखर घिमिरेका पुस्ता राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मभूमी हो। कविवर माधव घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन बाहुनडाँडामा बाबु गौरीशंकर घिमिरे र आमा द्रौपदी घिमिरेका जेठा छोराका रुपमा जन्मेका हुन् । माधवप्रसाद जन्मिएको तीन वर्षमा आमा बित्नु भयो । ६ वर्ष हुँदा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चाङ्ग अध्ययन गरेका थिए। माधवप्रसाद घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रुपमा चिनिन्छन। घिमिरेलाई ८५ वर्षको उमेरमा राष्ट्रकविको उपाधि दिइएको थियो । चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’का रचनाकार घिमिरेका गौरी र अश्वत्थामा मात्रै होइन, मालती मगले र शकुन्तला जस्ता अनेकौं कृतिहरु छन । माधवप्रसाद घिमिरे प्रज्ञा प्रतिष्ठानको कुलपति पदको जिम्मेवारी मात्र नभएर साझा पुरस्कार र त्रिभुवन पुरस्कारजस्ता अनेकौँ पुरस्कारबाट विभूषित भए । माधव घिमिरेलाई घरमा प्यारो गरी सेतु नामले बोलाइने बालक घिमिरे आज सबै साहित्यकारहरुको मन जोडने भावमय सेतु भएका छन् । माधवप्रसाद घिमिरेको मृत्यु १ सय १ वर्षको उमेरमा २ भाद्र ९ २०७७ को दिन काठमाडौँ, लैनचौरस्थित आफ्नै निवासमा भएको थियो ।
माधव घिमिरेले बाहुनडाँडामा त्यतिबेला रहेको मणिका जोगीसँग साधारण लेखपढ गरेका थिए । वर्णमालाका अक्षर चिनेपछि दुर्गाकवच, ज्योतिष, कर्मकाण्ड संस्कृत साहित्य, दर्शन पढिने त्यसबेलाको परिपाटी बमोजिम केही समय घिमिरे ज्योतिष सिक्न दुराडाँडा पनि पुगेका थिए । दुराडाँडा पछि वि.सं. १९८६ मा स्थापित खुदीवेनीको संस्कृत भाषा पाठशालामा माधव घिमिरे खुदीवेनीमै रहेर पढेका पनि थिए । खुदीवेनीको पढाइपछि रानीपोखरी संस्कृत पाठशालाको छात्रावासमा एक मेघावी छात्रको रुपमा रहेर घिमिरेले अध्ययन गरेका थिए। मध्यमासम्मको पढाइ नेपालमै सकेर संस्कृतमा शास्त्री सम्मको शिक्षा लिन बनारस पुगेका घिमिरेले तत्कालको बनारसको प्रख्यात क्विन्स कलेजबाट शास्त्री प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए। यिनको विवाह खुदीवेनीमा पढन बस्दा १५ वर्षको उमेरमा तरापु खुदीकी पोख्रेल कन्या गौरीसँग सम्पन्न भएको थियो । दुई सन्तान शान्ति र कान्तिको जन्मपछि २००४ साल असारमा गौरीको निधन भएपछि घिमिरेको दोश्रो विवाह लमजुङ जिल्लाको दुराडाँडा जल्केनीकी अधिकारी कन्या महाकालीसँग भएको थियो । महाकाली तर्फ घिमिरेका दुई छोरा र चार छोरी रहेका छन् ।
राष्ट्रकवि माधव घिमिरेको जन्मभूमी पुग्ने साहित्यकार पर्यटकहरुले यात्राको समय लम्बाउन सके मस्र्याङदी गाउँपालिकामा घुम्ने धेरै ठाउँहरु छन । घेर्मुको रकगार्डेनको अवलोकन र होमस्टेमा रमाउँदै साहित्यकारहरुले अन्नपूर्ण पदमार्गमा पर्ने च्याम्चेमा रहेको बुङ झरना र स्याँगेमा जिपलाइन खेलको मज्जा पनि लिन सक्दछन। च्याम्चेको बुड छहराले सबै पर्यटकहरुलाई आकर्षण गर्दछ । त्यसैगरी मनाङ जाने मोटर मार्गमा पर्ने अक्टोफोर्स झरनाले स्रष्टाहरुलाई छुट्टै अनुभूती दिन्छ।  जगतकोको तातोपानीको कुण्डमा स्रष्टा पर्यटकहरुले आनन्द लिन सक्दछन। अन्नपूर्ण पदमार्गमा पैदल तथा सवारी साधनबाट जाने पर्यटक एक पटक झरना नहेरी जान चाहँदैनन् ।
लमजुङको मस्र्याङदी गाउँपालिका राष्ट्रिय विभुति भक्ती थापा, वातावरण विद डा हर्क गुरुङ र तमु जातिको उत्थान र सांस्कृतिको बारेमा कलम चलाउने साहित्यकार डिल्लीजंग गुरुङको जन्मभूमि पनि हो । लमजुङ पुग्ने स्रष्टा पर्यटकहरुलाई अध्यन अनुसन्धानको लागि महत्वपूर्ण मानिने आदीबासी गुरुङ समुदायको बस्ति घलेगाउँ, घनपोखरा, सिउरुङ, भुजुङ, खासुर, पसगाउ गिलुङ, गौंडा, हिलेटक्सार, दुवार, टापा, बंसार, लप्सीबोट, सिमी, ताजे, कर्दी, किर्तीपुर, फुलुङगिरी, घुम्लीचौर, तस्यो जस्ता अति रमणीय गाउँहरु रहेका छन । लमजुङ मस्र्याङदी पूर्वपट्टी रहेका गुरुङबस्तीहरु चारथर, नौथर र वाह्रथरमा विभाजन भएको छ । बस्तीको भूगोल बिभाजन भएजस्तै उनिहरुको भाषाको शब्द र उच्चारण स्वर पनि फरक रहेको पाइन्छ ।
पदयात्रामा रमाउने स्रष्टाहरुको लागि लमजुङमा अवलोकन गर्न सकिने दर्जनौ ऐतिहासिक कोटहरु छन । लमजुङमा पुरानोकोट, रागिनासकोट, तुर्लुङकोट आदि ऐतिहासिक एवं धार्मीक महत्वका पर्यटकीय स्थलहरु हुन । अर्को तर्फ लमजुङमा प्राकृतकि सम्पदाको रुपमा रहेको मनास्लु हिमाल, अन्नपूर्ण हिमाल दोस्रो, मनास्लु हिमाल दक्षिण, हिमालचुली हिमाल, लमजुङ हिमाल, बुद्धहिमाल जस्ता सुन्दर हिमाल रहेको छ । हिमाल र हिम ताल र पोखरी हेर्न पर्यटकहरु लमजुङ पुग्ने गर्दछन ।
लमजुङबाट देखिने हिमाल गोरखा र मनाङ जिल्लाको सिमानामा पर्ने हुदा धेरै हिम श्रृखला साझा सम्पती बनेका छन । जलभण्डारको धनी मानिने लमजुङमा मध्य मरस्र्याङदी, खुदी, ङादी दोर्दी लगायतका नदी र खोलामा २७ स्थानमा विद्युत उत्पादन भै सकेको छ । जलस्रोत र विद्युतको बारेमा चाखराख्ने स्रष्टा पर्यटकहरुको लागि पनि लमजुङको यात्रा महत्वपूर्ण मानिन्छ । लमजुङ पुग्ने स्रष्टा पर्यटकहरुले दुधपोखरी, बाह्रपोखरी, मेमेपोखरी, जस्ता प्राकृतीक हिम पोखरीहरु अवलोकन गर्न सक्यो भने नयाँ कुरा सृजना हुन्छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker