हिमपात नहुँदा मुस्ताङका किसान चिन्तित

मुस्ताङ : पछिल्लो तीन वर्षयता हिमाली मुस्ताङमा हिमपात हुनसकेन । गत कात्तिक महिनामा यहाँको माथिल्लो मुस्ताङ क्षेत्रसहित वारागुङ मुक्तिक्षेत्र-१ मुक्तिनाथ र (मुस्ताङ-डोल्पा) सडकको साङ्ता गाउँ आसपासका क्षेत्रमा आशिंक मात्रै हिमपात भयो । तत्कालीन समयमा बेमौसममा परेको आशिंक हिमपातले त्यसक्षेत्रका किसानलाई योगदान दिन सकेन ।

हिउँदयामको मौसममा परेको हिउँ किसानका लागि बरदान सावित हुन्छ । अनुकूल समयमा हिउँ प¥र्यो भने अन्नबाली सप्रिने र उत्पादनसमेत वृद्धि हुने भए पनि यसवर्ष पनि पुस महिना कटिसक्दासमेत हिउँ पर्न सकेको छैन । अक्सर हिमाली क्षेत्रमा बर्सेनि पुस र माघ महिना हिउँ पर्छ भन्ने मान्यता रहेको छ । तर, पछिल्लो समय जलवायु परिवर्तनको प्रभावका कारण हिमाली क्षेत्रमा अनुकूल समयमा पनि हिउँ पर्न नसकेको घरपझोङ गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकाली बताउँनुहुन्छ ।

यहाँका अधिकांश खेतीयोग्य जमिन तथा स्याउ बगैँचामा सिँचाइको पहुँच स्थापित भए पनि कृषि उर्वराशक्ति वृद्धिका लागि हिउँदयाममा हिउँ पर्न आवश्यक रहेको कृषि शाखा प्रमुख थकालीको भनाइ छ । हिउँदयामको जाडो मौसमको अनुकूल समयामा हिउँ परेमा खेतीयोग्य जमिनको भित्रि तहसम्म चिस्यान भरिएर पूर्णरुपमा रिचार्ज हुने र यसले स्याउ ,उवा, फापर, जौ, मकै लगायतका अन्नबालीको गुणस्तर र उत्पादनमा सहयोग पुग्ने कृषि शाखा प्रमुख थकालीले उल्लेख गर्नुभयो ।

‘हिउँदयामको अनुुकूल महिनामा हिउँ परेन भने किसानले लगाएको स्याउ लगायतका अन्नबालीमा रोककीराको सङ्क्रमण बढ्ने, जमिनको तापमान वृद्धिले खेतीयोग्य जमिनलाई आवश्यक पर्ने तत्व प्राप्त नहुने हुन्छ, कृषि शाखा प्रमुख थकालीले भन्नुभयो, “हिउँदयामको हिउँ कृषि उत्पादनका लागि प्राकृतिक रोग प्रतिरोधात्मक अर्गानिक विषादीको रुपमा काम गर्छ, यसले किसानका लागि मलको रुपमा कामसमेत काम गर्ने भएकाले स्याउ लगायतका अन्नबाली सप्रिन्छ ।”

हिमाली जिल्लामा बर्सेनि भर्दा र असोेज महिनामा स्याउ खेतीको ‘पोष्ट हार्भेस्ट’ गरिने र स्याउको पोस्ट हार्भेस्टसँगै यहाँका किसानले उवा, जौ र फापर लगायतका नयाँ बाली घरमा भित्र्याउँछन् । बगँैचामा स्याउ टिपेर बोटको पात झरेर उजाड बनेपछि र किसानले हिउँदेबाली लगाउने समय पुस र माघ महिनामा अनिवार्य हिउँ पर्नुपर्ने प्राकृतिक नियम भए पनि पछिल्लो तीन वर्ष मुस्ताङमा राम्ररी हिमपात हुन नसकेको घरपझोङका किसान अजित थकालीले बताउँनुभयो ।

स्याउ बगँैचा व्यवस्थापन लगायतका कार्य चलिरहने समयमा परेको हिउँले किसानलाई फाइदा पु¥याउने भए पनि मुस्ताङमा हिउँ पर्न नसकेको किसान थकालीको भनाइ छ । पछिल्लो समय हिउँ नपरी नदी र खोलाको पानीबाट सिँचाइ गर्दा खेतीयोग्य जमिनमा लगाइएको अन्नबालीमा रोगकीराको प्रकोप देखिएको र यसले यहाँका किसानलाई निकै चिन्ता थपिएको किसान थकालीको भनाइ छ ।

केही वर्षअघि यहाँको तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङसम्म भारी हिमपात हुन्थ्यो । हिमपातले मुस्ताङका डाँडाकाँडा, खर्क,पाटन र उच्चलेँकसहित बस्तीसम्म दुई फिल बढी हिउँ पथ्र्यो । अनुकूल समयमा हिउँ परेपछि यहाँका किसानले लगाएको अन्नबाली राम्ररी सप्रिन्थ्यो । जसका कारण यहाँका किसानले स्याउ लगायतका अन्नबाली उत्पादनबाट राम्रो फाइदा लिने गथ्र्ये । तर, पछिल्लो समय हिउँ नपरी बेमौसमी वर्षा हुन थालेको छ ।

यहाँको थासाङ गाउँपालिका—१ टुकुचेका स्थानीय ८४ वर्षीय ङाचा थकालीले केही वर्षयता पुस र माघमासमेत हिउँ पर्न छोडेको बताउँनुभयो ।‘जन्मिएर यतिका वर्ष भइयो, हिउँदमा सधैँ हिउँ पर्ने गथ्र्यो, थकालीले भन्नुभयो, “अचेल त के भयो कुन्नी २-३ वर्ष भइसक्यो हिउँ परेको अनुभवनै गर्न पाइएको छैन।” अनुकूल मौसममा हिउँ नपर्दा किसान मात्रै होइन यहाँ पर्यटन प्रवद्र्धनमासमेत असर पु¥याएको मुक्तिनाथस्थित होटल ग्राण्ड साम्वलाका प्रोपाइटर सुरज गुरुङले बताउँनुभयो ।

केही वर्षअघि अनुकूल समयमा हिउँ पर्दा मुक्तिनाथमा राष्ट्रिय स्की प्रतियोगितासमेत आयोजना भएको स्मरण गर्दै प्रोपाइटर गुरुङले हिउँदको समयमा हिमपात भएमा हिउँ खेल्न र हेर्न जिल्ला बाहिरका उल्लेख पर्यटक मुस्ताङ आउने उल्लेख गर्नुभयो ।पछिल्लो समय जलवायु परिवर्तका कारण हिमाली पर्यावरण फेरिन थालेको छ । हिउँदयामको मौसममा हिउँ नपर्ने र बाहिरी आवरणमा मात्रै चिसो हुने भएकाले खेतीयोग्य जमिनको तापक्रम वृद्धि भइरहेको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले बताउँनुभयो । अक्सर चैत /वैशाखमा मात्रै पलाउने स्याउको पालुवा यहाँका केही स्याउ बगैँचाका बोटमा पुस महिनामै स्याउ बोटमा पालुवा पलाउन थालेको उहाँको भनाइ छ । हिउँदयाममा हिउँ नपर्ने र जमिनको तापमान वृद्धि हुँदै जाने अवस्थाले मुस्ताङको स्याउ खेतीले विस्तारै उकालो चढ्दै बसाइँ सार्न थालेको अध्यक्ष लालचनको भनाइ छ ।

जलवायु परिवर्तनकै प्रभावका कारण यहाँको परम्परागत संस्कृतिमासमेत असर पुग्न थालेको छ । सदियाँै वर्षदेखि निर्माण भएका यहाँका परम्परागत ढुङ्गा र माटोले बनेका पुराना घरका संरचना हिउँ नपरी वर्षा हुन थालेपछि सङ्कटमा पर्न थालेका छन् । हिउँ परेमा घरको छतमा अडिएर थपक्क बस्ने भए पनि हिउँ पर्न छोडेर वर्षा हुन थालेपछि यहाँका परम्परागत घर भत्किने र चुहिने गरेकाले परम्परागत घर मासिँदै जान थालेको घरपझोङ-५ ठिनीका स्थानीय नीरज थकालीले जानकारी दिनुभयो । पछिल्लो समय बेमौसममा वर्षा हुन थालेको र सडक सहज भएकाले परम्परागत घर मासेर कङ्क्रिट घर निर्माण गर्ने होडबाजी चलेको थकालीले बताउँनुभयो ।

जलवायु प्रभावले हिमाली क्षेत्रको धर्मसंस्कृति, परम्परा र यहाँको जैविक विविधता, पर्यटन र कृषि क्षेत्रमा नकारात्मक प्रभाव परेको उहाँको भनाइ छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker