सरकारमाथि एमालेको आरोप : असफलता ढाक्न गभर्नर निलम्बन

भञ्ज्याङ समाचारदाता/काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले अर्थतन्त्र सुधार गर्न नसकेको आफ्नो कमजोरी छोप्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेको आरोप लगाएको छ । नेकपा एमालेबाट अर्थमन्त्रालय सम्हालेका नेताहरु उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले आइतबार संयुक्त पत्रकार सम्मेलन गरी सरकार अर्थतन्त्र जोगाउन भन्दा गभर्नरलाई कारबाही गरेर उम्मेदवारी छोप्नतिर लागेको बताएका हुन् ।

”गठबन्धन सरकारले आफ्नो नालायकीपन छोप्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेको छ । तर्सथ, यो सरकारले प्रायोजित रुपमा गभर्नरमाथि सुरु गरेको कारवाही आपत्तिजनक मात्र नभई निन्दनीय समेत छ’ तीन अर्थमन्त्रीले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई अराजक भन्दै उनको दबावमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गलत निर्णय लिएको टिप्पणी गरेको छ । ‘अराजक अर्थमन्त्रीको दबावमा प्रधानमन्त्रीले सर्वथा गलत निर्णय लिए ।

वित्तीय अपचलनको मतियार हुन नपाएको, निहित स्वार्थ-समूहको व्यवसायिक स्वार्थ पुरा गर्न नपाएको, अर्थतन्त्र समाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्ता गठबन्धन भित्रैबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दवावमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कार्वाही गरिएकोमा कुनै शंका छैन’ एमालेले भनेको छ ।

कांग्रेस नेतृत्वले यसअघि पनि गभर्नरमाथि कारबाहीको प्रयास गर्दा असफल भएको भन्दै एमालेले त्यसबाट पाठ सिक्न नसकेको बताएको छ । ‘गभर्नरमाथिको पूर्वाग्रही कार्वाही गैरकानुनी हुने रहेछ भन्नेमा कांग्रेसले कहिल्यै पनि चेतेन ।

नेपाली कांग्रेसको नेतृत्वमा सरकार रहेको बेला यसअघि पनि नेपाल राष्ट्र बैंकका गभर्नरलाई हटाउने प्रयास गरेको र केन्द्रीय बैंक नेतृत्वविहीन भएर देशको अर्थतन्त्र संकटमय बनेको इतिहास छ । अहिले त्यसको पुनरावृत्ति गरिएको छ’ विज्ञप्तिमा भनिएको छ ।

शुक्रबार मन्त्रिपरिषद बैठकले गभर्नर महाप्रसाद अधिकारीमाथि जाँचबुझ गर्न समिति बनाएपछि उनी निलम्बनमा परेका छन् । नेकपा एमालेले भने आफू नेतृत्वको सरकारबाट नियुक्त भएकै कारण गभर्नर अधिकारी व्यावसायिक रुपमा दक्ष र इमानदार हुँदा हुँदै पनि कोपभाजनमा परेको दावी गरेको छ ।

‘गठबन्धन सरकारले अत्यन्त गैरजिम्मेवार ढंगले अहिले अर्थतन्त्रमाथि खेलवाड गरिरहेको छ । यसो गरेर गठबन्धनले आर्थिक स्थायित्व, विकास र सुशासनविरोधी आफ्नो सक्कली रुप देखाएको छ’ एमालेको विज्ञप्तिमा भनिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker