एमालेले विगत र वर्तमानमा खेलेका भूमिकाको मूल्याङ्कन गरेर मत दिनुहोस् : उम्मेदवार सिग्देल

दुलेगौंडा : नेकपा एमालेका तर्फबाट तनहुँ–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार केदार सिग्देलले मतदातालाई लहैलहै र प्रलोभनमा नपरी पार्टीको विगत र वर्तमान भूमिकाको मूल्याङ्कन गरेर मत दिन आग्रह गरेका छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न क्षेत्रमा बुधबार सञ्चालन गरिएको घरदैलो अभियानका क्रममा बोल्दै सिग्देलले आफूहरू लोकप्रियताका लागि अस्थायी वाचा गर्ने पक्षमा नरहेको बताए । उनले भने, “गम्भीर भएर एक पटक सोच्नुहोस्। घोषणापत्र र प्रतिबद्धता हेरेर मत दिनुहोस्, लहैलहैमा लागेर होइन ।”
पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सिग्देलले राष्ट्रियताको सवालमा दृढ र चट्टानी अडान लिन सक्ने नेतृत्व अहिलेको आवश्यकता भएको उल्लेख गरे। उनले विकास, सुशासन र स्थायित्वका लागि एमालेले खेलेको भूमिकालाई स्मरण गर्दै त्यसकै आधारमा मतदाताले निर्णय गर्नुपर्ने धारणा राखे ।
घरदैलो अभियान अन्तर्गत सिग्देल वडा नं. ३ का कालिम¥याङ, उदेनढुंगा र कवासे, वडा नं. ४ को दुलेगौंडा तथा वडा नं. ५ का बेलचौतारा, थर्पुटार, भुरुङ्गे र नयाँगाउँमा पुगेका थिए । सो क्रममा आयोजित कोणसभामा उनले स्थानीयसँग प्रत्यक्ष संवाद गरेका थिए। अभियानका क्रममा स्थानीय बासिन्दाले सडक, खानेपानी, रोजगारी तथा पूर्वाधार विकासका विषयमा आफ्ना समस्या र अपेक्षा उम्मेदवारसमक्ष राखेका थिए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य नरेन्द्र वाग्ले, गण्डकी प्रदेश सदस्य कमल ढकाल, जिल्ला उपाध्यक्ष राजेश्वर ढकाललगायतका नेताहरूको उपस्थिति रहेको थियो ।










