भानुमा सामुदायिक सिकाइ केन्द्रको बैठक, गत आवको समीक्षा र चालु आवका कार्यक्रमबारे छलफल

भानु : तनहुँको भानु नगरपालिकाभित्र सञ्चालनमा रहेका सात वटा सामुदायिक सिकाइ केन्द्र (सासिके) का पदाधिकारीहरूको संयुक्त बैठक मंगलबार सम्पन्न भएको छ ।

भानु नगरप्रमुख आनन्दराज त्रिपाठीको उपस्थितिमा सम्पन्न बैठकमा भानु–१ स्थित भानु सासिके, भानु–५ बरभञ्ज्याङ् सासिके, भानु–६ सतिस्वाँरा सासिके, भानु–७ बसन्तपुर सासिके, भानु–९ पूर्कोट सासिके, भानु–१० चोक चिसापानी सासिके र भानु–११ रुपाकोट सासिकेका अध्यक्ष तथा समुदाय परिचालकहरूको सहभागिता रहेको थियो ।

बैठकमा भानु नगरपालिकाका नगर शिक्षा अधिकारी ध्रुवराज पौडेल, शिक्षा अधिकृत सरस्वती गुरुङ ढकाल तथा सहायक शिक्षा अधिकृत श्रीकृष्ण त्रिपाठी सहभागितामा आयोजित बैठकले गत आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालन भएका कार्यक्रमहरूको समीक्षा गर्नुका साथै चालु आर्थिक वर्ष २०८२÷०८३ मा कार्यान्वयन गरिनुपर्ने कार्यक्रमहरूबारे विस्तृत छलफल गरिएको थियो ।

नगरपालिका गत आर्थिक वर्षमा विभिन्न सासिकेहरूले समुदाय लक्षित सीपमूलक, आयआर्जन तथा संस्कृति–संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरेको थिए । भानु सासिके (भानु–१)ले दुई दिने उद्घोषक तालिम सञ्चालन गरी ६० जनालाई सहभागी गराउनुका साथै दुई वटा महिला आयआर्जन समूहलाई सिडमनी वितरण गरेको थियो ।

पूर्कोट सासिके (भानु–९) ले कृषकहरूलाई गोलासहितका १३ वटा मौरी घार वितरण गरेको थियो भने चोक चिसापानी सासिके (भानु–१०) ले १२ वटा मौरी घार वितरणसँगै दुई दिने तालिम सञ्चालन गरेको थियो ।

बरभञ्ज्याङ् सासिके (भानु–५) ले १३ वटा बाख्रासहितको बाख्रापैंचो कार्यक्रम सञ्चालन गरी पशु बीमा समेत गराएको थियो। बसन्तपुर सासिके (भानु–७)ले ६१ जनाको सहभागितामा तीन दिने झोल साबुन बनाउने तालिम सञ्चालन गरेको थियो ।

सतिस्वाँरा सासिके (भानु–६) ले १३ वटा मौरी घार वितरण गर्दै तीन दिने मौरीपालन तालिम दिएको थियो भने रुपाकोट सासिके (भानु–११) ले २६ जनालाई लक्षित गरी १५ दिने मादल तथा हार्मोनियम बजाउने तालिम सञ्चालन गर्नुका साथै स्टाइलो घाँसको बीउ वितरण गरेको थियो ।

बैठकले सबै सासिकेहरूले माघ मसान्तभित्र वार्षिक साधारणसभा सम्पन्न गरी लेखापरीक्षण प्रतिवेदन र सामाजिक परीक्षण प्रतिवेदनसहित नवीकरणका लागि भानु नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा पेश गर्ने निर्णय गरेको छ ।

त्यसैगरी चालु आव २०८२/०८३ को सशर्त कार्यक्रम सञ्चालनका लागि साधारणसभा तथा व्यवस्थापन समितिको निर्णयसहित फागुनको पहिलो हप्ताभित्र कार्यक्रम प्रस्ताव पेश गर्ने, फागुनको दोस्रो हप्तामा उत्कृष्ट सासिकेको शैक्षिक अवलोकन भ्रमण आयोजना गर्ने तथा सासिके पदाधिकारीको बैठक प्रत्येक दुई महिनामा नियमित रूपमा बस्ने निर्णय गरिएको छ ।

बैठकमा सहभागीहरूले सामुदायिक सिकाइ केन्द्रमार्फत शिक्षा, सीप विकास र आत्मनिर्भरता प्रवर्द्धनमा उल्लेखनीय योगदान पुगेको भन्दै आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker