मुक्तिनाथको झल्को दिने गरी शुक्लागण्डकीमा कृत्रिम हिमाल निर्माण
भञ्ज्याङ समाचारदाता/दमौली
जिल्लाको शुक्लागण्डकी नगरपालिकामा प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा रहेको हिमालको जस्तो झल्को दिने गरी कृत्रिम हिमाल निर्माण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँद्वारा शुक्लागण्डकी-२ स्थित च्यवनधाम परिसरमा मुक्तिनाथको जस्तै कृत्रिम हिमाल निर्माण गरिएको हो । च्यवनधाम परिसरमा १०८ धारा निर्माण गरी धारामाथि माछापुच्छ्रे, धौलागिरि, अन्नपूर्ण लगायतका हिमालको आकृति कुँदेर रमणीय स्थल निर्माण गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताए ।
धाम परिसर क्षेत्रमा सौन्दर्य अभिवृद्धि तथा पर्यटकीयस्थलका रुपमा विकास गर्नका लागि कृत्रिम हिमाल निर्माण गरिएको हो । उनले भने, ‘यस कार्यका लागि गण्डकी प्रदेश सरकारको रु २० लाख आर्थिक सहयोग रहेको छ भने स्थानीय तहको १० प्रतिशत लागत सहभागिता रहेको छ ।’
कृत्रिम हिमशृंखला र १०८ धारा निर्माण पछि ‘मिनी मुक्तिनाथ’ उपनामले परिचित बन्दै गएको मुक्तिनाथ-शुक्लागण्डकी च्यवनधामका अध्यक्ष सुमेन्द्र लालचनले बताए । विसं २०६५ मा नदी किनारमा रहेको यो जग्गा पहुँचवालाले अध्रि्रहण गरी २३ रोपनी जमीनमा बस्ती बसाउन खोजेपछि स्थानीय बासिन्दाको सक्रियतामा धाम निर्माण गरिएको उनले जानकारी गराए ।
शुक्लेश्वरको आसपासमा सूर्य नारायण, लक्ष्मी नारायण, दुर्गा भवानी, गणेशको मन्दिरलगायतका संरचना छन् । मुक्तिनाथको जस्तै झल्को दिने गरी १०८ धारा, १०८ ओमकार कल्पवृक्ष, १०८ शिवलिङ्ग, मोक्षकुण्ड, वृद्धाश्रम, पार्कलगायतका संरचना निर्माण गरिएको छ ।
च्यवनधाम परिसरमा बौद्ध गुम्बा पनि रहेको छ । एक अर्काको धर्मलाई सम्मान गर्नुपर्छ भन्ने उद्देश्यले गुम्बा निर्माण गरिएको हो । एक दशकको अवधिमा रु तीन करोडभन्दा बढी पूर्वाधार निर्माणमा लगानी भइसकेको समितिले जनाएको छ ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्तरूपमा बजेट उपलब्ध गराउँदै आएका छन् । च्यवनधाममा पूर्वाधार थप्दै गएपछि आन्तरिक पर्यटकको उत्कृष्ट गन्तव्यस्थल बन्ने विश्वास गरिएको छ । धाम क्षेत्रमा मिनी चिडियाखाना बनाउने दीर्घकालीन योजना रहेको समितिका उपाध्यक्ष अर्जुन लम्सालले बताए ।










