जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र : विश्वसनीय र पहुँचयोग्य केन्द्रको रूपमा स्थापित हुँदै
डा. रामकुमार श्रेष्ठ

डा. रामकुमार श्रेष्ठकार्यकारी निर्देशकः जीपी कोइराला राष्ट्रिय स्वास्थ्य उपचार केन्द्र, तनहुँ
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ वेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वास्थ्य उपचार केन्द्र जिल्ला र आसपासका क्षेत्रका लागि जीवनदायिनी स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । हाल ५० बेडको जनरल अस्पतालको रूपमा सञ्चालन भइरहेको यस केन्द्रले निकट भविष्यमा विशेष रूपमा श्वासप्रश्वास सम्बन्धी अस्पताल बन्ने लक्ष्य लिएको छ ।
केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठका अनुसार, अस्पतालले हाल मेजर अप्रेसन, आईसियु सेवा, डायलासिस सेवा, जेनरल सर्जरी, हाडर्जोनी सर्जरी र डेन्टल सेवा प्रदान गर्दै आएको छ । निकट भविष्यमा आँखा सम्बन्धी सेवा पनि सुरु हुने तयारी भइरहेको छ । उनले भने, ‘हाम्रो प्रयास छ, सेवाहरू क्रमिक रूपमा थप्दै जाने । तर सबैभन्दा ठूलो चुनौती भनेको भौतिक पूर्वाधार हो ।’
अस्पतालले हाल आफ्नो मुख्य भवनमा लिफ्टको काम अन्तिम चरणमा पुर्याएको छ भने थप अस्थायी संरचना निर्माण गरी आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न लागेको निर्देशक डा. श्रेष्ठले बताए । उनले भने, ‘यस आर्थिक वर्षभित्रै केन्द्रको दुई अस्थायी संरचना निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ ।’
अस्पतालसँग कुल ७४० रोपनी जग्गा रहेको छ, जसमा ७०० रोपनीको लालपुर्जा उपलब्ध छ र बाँकी ४० रोपनीको लालपुर्जा आउन बाँकी छ । यस जग्गामा हजार बेडको अस्पताल निर्माण गर्ने डिपिआर तयार भइसकेको उनले जानकारी गराए।
‘डिपिआरअनुसार काम दुई चरणमा हुने योजना छ । पहिलो चरणमा ३०० बेडको अस्पताल निर्माण हुनेछ, जसमा १०० बेड श्वासप्रश्वास र २०० बेड सामान्य सेवा समावेश हुनेछन् । दोस्रो चरणमा थप ७०० बेडको विस्तार गरेर पूर्ण हजार बेडको अस्पताल निर्माण हुनेछ’, डा. श्रेष्ठले भने, ‘भविष्यमा यसलाई मेडिकल कलेजको रूपमा स्थापना गर्ने लक्ष्य राखिएको छ। श्वासप्रश्वास र अन्य विशेषज्ञ सेवा थप्दै जाने केन्द्रको योजना रहेको छ ।’

शुक्लागण्डकी मात्र नभई तनहुँको ऋषिङ, घिरिङ, म्याग्दे गाउँपालिका, स्याङ्जाको केही पालिका लगायतका क्षेत्रबाट पनि यस केन्द्रमा उपचार सेवा लिन बिरामी आउँछन् । डा. श्रेष्ठका अनुसार, हाल दैनिक करिब ४०० बिरामीहरू अस्पतालमा सेवा लिन आउने गरेका छन् ।
अस्पतालमा सेवा लिने ८० प्रतिशत बिरामीहरू स्वास्थ्य बीमाकै रहेको उनले बताए । ‘बीमाको भुक्तानी रोकिएको कारणले केही समस्या भए पनि अस्पतालले उपलब्ध जेनेरिक औषधि अनुसार सेवा प्रदान गरिरहेको छ’, उनले भने, ‘हामीसँग अहिले ६५० बीमाको औषधि छ । भुक्तानी करिब ८ करोड बाँकी छ, बीमा बापत पाउनुपर्ने रकम समयमा उपलब्ध नहुँदा कहिलेकाहीँ चुनौती झेल्नुपरेको छ ।’
यस्तै, कोभिड भवन निर्माण, डायलासिस सेवा र सुरक्षित गर्भपतन सेवा जस्ता पहलहरू पालिकाको सहयोगमा सञ्चालन भएका छन् । डा. श्रेष्ठले भने, ‘हामी पालिकासँग मिलेर सेवा प्रदान गर्दैछौं र भुक्तानीको व्यवस्थासमेत पालिकाले गर्दै आएको छ । यसरी सहकार्यमा स्वास्थ्य सेवा विस्तार सम्भव भएको छ ।’

केन्द्रमा हाल श्वासप्रश्वास विशेषज्ञ डाक्टर नभएकाले पूर्णरूपमा सेवा सञ्चालनमा कठिनाइ भइरहेको छ । तर, छात्रवृत्तिका माध्यमबाट नयाँ जनशक्ति आउने उनले विश्वास व्यक्त गरे । अहिले ३२ जना छात्रवृत्ति स्टाफले करारमा काम गरिरहेको हुँदा सेवा सञ्चालनमा ठूलो राहत दिएको उनले बताए ।
‘जनशक्तिको अभाव र भौतिक पूर्वाधारको सीमितताले अहिले चुनौती दिइरहेको छ । तर हाम्रो लक्ष्य छिट्टै १०० बेडको स्वासप्रश्वास अस्पताल संचालन र भविष्यमा हजार बेडको अस्पताल निर्माण गर्नु रहेको छ’, डा. श्रेष्ठले बताए।
शुक्लागण्डकीस्थित जीपी कोइराला राष्ट्रिय स्वास्थ्य उपचार केन्द्र अहिले तनहुँ, स्याङ्जा, कास्की लगायतका क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणको स्वास्थ्य सेवा क्षेत्रमा विश्वसनीय र पहुँचयोग्य केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । पूर्वाधार र जनशक्ति चुनौती भए पनि क्रमिक विस्तार, नयाँ सेवाहरूको सुरुवात र पालिकासँग सहकार्यले यसलाई निकट भविष्यमा विशेषीकृत र आधुनिक अस्पताल बनाउने लक्ष्य प्राप्त हुने केन्द्रका निर्देशक डा. श्रेष्ठ विश्वसत छन् ।











