जलेश्वर ज्येष्ठ नागरिक भवनको उद्घाटन
भञ्ज्याङन्यूज

व्यास नगरपालिका-१ चारकुने स्थित जलेश्वर ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको बुधबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले भवन उद्घाटन गर्दै ज्येष्ठ नागरिक भवन निर्माणका लागि बजेट बिनियोजनमा आफुले सक्दो पहल गरेको बताए।
भवन निर्माण पश्चात ज्येष्ठ नागरिकलाई एकै स्थानमा बसेर आफ्ना गतिविधि सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गर्दै चुमानले भने, ‘केन्द्रको अपुरो भवन निर्माण सम्पन्न गर्नको लागि आफ्नो क्षेत्रबाट सक्दो पहलकदमी रहिरहने छ ।’
नेकपा एसका केन्द्रीय नेता प्रतापलाल श्रेष्ठले रचनात्मक कार्य र समय बिताउन दिवा सेवा केन्द्र सहज हुने बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य उपचार, यातायातमा छुट लगायतका कार्यमा राज्यले बिशेष ध्यान दिनुपर्ने बताए ।
केन्द्रका अध्यक्ष गणेश जिसीको सभापतित्वमा आयोजित कार्यक्रममा वडाध्यक्ष रमेशचन्द्र हडखले, नेकपा एमाले प्रतिनिधी निर्मल पण्डित, रास्वपा व्यास-१ का सभापति कमल जिसी, वडासदस्य कृष्ण गुरुङ, सरस्वती वस्ती लगायतका वक्ताहरुले भवन निर्माण कार्यमा सहयोग पुर्याउने प्रदेश सरकार, व्यास नगरपालिकालाई धन्यवाद व्यक्त गरेका थिए ।
भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट पटक पटक गरी २१ लाख रुपैयाँ, वडा कार्यालयबाट एक लाख पचास हजार रुपैयाँ र व्यास नगरपालिकाबाट ७५ हजार रुपैयाँ बजेट उपलब्ध गराइएको थियो ।
उक्त बजेटबाट करिब तीन आना सार्वजनिक जग्गामा दुइ ढलानको भवन निर्माण गरिएको केन्द्रका सचिव रामकृष्ण सापकोटाले जानकारी दिए । ज्येष्ठ नागरिकहरुका लागि दिवाको समयमा चिया खाजाका लागि गतबर्ष संघीय सरकारबाट दुइ लाख रुपैयाँ र गण्डकी प्रदेश सरकारबाट २५ हजार रुपैयाँ बजेट निकासा गरिएको थियो ।