भानुभक्त क्याम्पस र सिद्धज्योति क्याम्पसबीच शैक्षिक सहकार्य सम्झौता

दमौली : आदिकवि भानुभक्त क्याम्पस र सिद्धज्योति शिक्षा क्याम्पस बीच शैक्षिक तथा संस्थागत सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
मङ्गलबार दिउँसो सिन्धुलीस्थित सिद्धज्योति शिक्षा क्याम्पसमा आयोजित कार्यक्रममा दुवै क्याम्पसबीच आपसी सहयोग, शैक्षिक गुणस्तर सुधार तथा अनुसन्धान प्रवर्द्धन गर्ने उद्देश्यसहित सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।
सम्झौतामा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले र सिद्धज्योति शिक्षा क्याम्पसका प्रमुख डा. नानीबाबु घिमिरेले हस्ताक्षर गरेका थिए। कार्यक्रममा सिद्धज्योति क्याम्पस सञ्चालक समितिका अध्यक्ष मणिकुमार ढकाल, पूर्व क्याम्पस प्रमुख रामचन्द्र दाहाल, आदिकवि भानुभक्त क्याम्पसका उपप्राध्यापक विष्णु हड्खले, प्रशासकीय अधिकृत वसन्ती थापा आलेमगर तथा प्रशासन सहायक सुदर्शन पोख्रेलको उपस्थिति रहेको थियो।
सम्झौताअनुसार दुई शैक्षिक संस्थाबीच शिक्षण–सिकाइ, अनुसन्धान तथा प्राध्यापक–कर्मचारीको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने विषयमा सहकार्य गरिनेछ। त्यसैगरी अनुसन्धानकर्ता तथा विद्यार्थीका लागि आपसी भ्रमण आदानप्रदान, शैक्षिक सामग्री तथा प्रकाशनको साझेदारी, संयुक्त अनुसन्धान परियोजना सञ्चालन तथा जर्नल विकास, प्राज्ञिक लेखन र समीक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।
यस्तै सेमिनार, कार्यशाला, सम्मेलन तथा तालिम कार्यक्रम संयुक्त रूपमा आयोजना गर्ने, शिक्षक–कर्मचारी तथा विद्यार्थी प्रतिनिधिहरूको अध्ययन अवलोकन भ्रमण आदानप्रदान गर्ने र डिजिटल शिक्षण प्रविधिको विस्तारमा सहकार्य गर्ने सहमति भएको छ।
सम्झौतामा अडियो–भिजुअल कन्फरेन्स, सूचना प्रविधिमा आधारित शिक्षण विधि, अनुसन्धानका असल अभ्यासको आदानप्रदान तथा संस्थागत विकासका साझा कार्यक्रमलाई विशेष जोड दिइएको छ।
दुवै संस्थाले यो सहकार्यले शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।










