घिरिङमा शहिद सन्ध्या स्मृति पार्क निर्माण

तनहुँको घिरिङ गाउँपालिका-१ बैडी राजडाँडामा शहिद सन्ध्या स्मृति पार्क निर्माण गरिएको छ । जनयुद्धका क्रममा सहादत प्राप्त दिलमाया विक (सन्ध्या)को सम्झनामा पार्क निर्माण गरिएको हो । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ मा पार्क निर्माणका लागि दश लाख रुपैयाँ बजेट विनियोजन भएको पार्क निर्माण समितिका अध्यक्ष गोप बहादुर विकले जानकारी दिए ।
उक्त पार्कको शनिबार नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले उदघाटन गरेकी छन् । सोही अवसरमा पार्कमा राखिएको दिलमायाको शालिकको समेत उनले अनावरण गरिन् ।

कोइरालाले शहिदकी आमा पमती सुनार र अन्य परिवारलाई अभिनन्दन गरेकी थिइन् । साथै उनले शहिदको जीवनी समेटिएको अमरगाथा पुस्तक परिवारलाई हस्तान्तरण गरिन् । कार्यक्रममा कोइरालाले शहिदको बलिदानले देशमा राजनीतिक परिवर्तन भएकाले शहिद परिवारले गर्व गर्नुपर्ने उल्लेख गरिन् ।
यसैबीच घिरिङ गाउँपालिका-४ का शहिद पवित्रा कुमाल र मिनबहादुर कुमालका परिवारलाई घरमै गई भेटघाट गर्नुका साथै अभिनन्दन गरिएको छ। शहिद सप्ताहको अवसरमा फागुन १९ गते दमौलीमा अमरगाथा पुस्तक विमोचन तथा शहिद/बेपत्ता योद्धा अभिनन्दन कार्यक्रममा उपस्थित हुन नसकेका शहिद परिवारलाई घरमै पुगेर अभिनन्दन गरिएको कोइरालाले जानकारी दिइन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मदन आले, वाइसिएल गण्डकी संयोजक शरण सापकोटा लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए।










