कलेस्ती पुलमा बस दुर्घटना : चालक गम्भीर घाइते, ९ यात्रु अस्पताल भर्ना

तनहुँको व्यास नगरपालिका–७ कलेस्ती पुलस्थित दमौली–भोर्लेटार भित्री सडकखण्डमा बस दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् भने अन्य ९ जना यात्रु उपचारका लागि अस्पताल पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सोमबार अपराह्न करिब ३:१५ बजे कलेस्तीबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ६४६५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा कलेस्ती खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा बस चालक शम्सेर नेपाली चालक सिटमै च्यापिएर गम्भीर घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरे को कमाण्डमा १७ जना प्रहरी (ट्राफिकसहित) को टोली घटनास्थल पुगेर चालकको उद्धार गरेको थियो।
गम्भीर घाइते चालकलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको प्रहरीले जनाएको छ। बसमा करिब २५ जना यात्रु सवार रहेको प्रारम्भिक जानकारी छ। दुर्घटनामा घाइते भएका अन्य ९ जना यात्रुलाई पनि उपचारका लागि अस्पताल पठाइएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।










