अनुदान र स्थानीय खपतको नीतिले फूलमा आत्मनिर्भर बन्दै व्यास नगरपालिका

दमौली : किसानलाई अनुदान, उत्पादनको प्रोत्साहन र स्थानीय फूलको प्रयोगलाई प्राथमिकता दिन थालेपछि व्यास नगरपालिका पुष्प उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । तिहारमा आवश्यक सयपत्री र मखमली फूल नगरभित्रै उत्पादन हुन थालेपछि स्थानीय किसानको आम्दानी बढ्नुका साथै पुष्प खेती व्यावसायिक बन्दै गएको हो ।

पुष्प खेती विस्तारका लागि नगरपालिकाले किसानलाई उत्पादन सामग्री खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ । सयपत्री र मखमली फूल खेती गर्ने किसान, कृषि फर्म, कृषक समूह तथा सहकारीलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमले व्यावसायिक खेती विस्तारमा सहयोग पुगेको नगरपालिकाको भनाइ छ ।

अनुदान कार्यक्रमअन्तर्गत किसानले फूलको बीउ तथा बेर्ना, मलखाद, प्लान्ट हर्मोन तथा सूक्ष्म तत्त्व, कृषि औजार र उपकरण एवं बाली संरक्षण सामग्री खरिदमा सहयोग पाउने गरेका छन् । उत्पादन लागत घटाएर किसानलाई फूल खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

नगरपालिकाले उत्पादनसँगै बजार व्यवस्थापन र स्थानीय खपतलाई पनि प्राथमिकता दिएको छ। नगरभित्र फूल खेती गर्ने किसान तथा कृषि फर्मको विवरण सार्वजनिक गर्दै स्थानीय उत्पादन प्रयोग गर्न आग्रह गरिएको छ । व्यास–४ को चापाघाट कृषि फार्म, वडा नं. १० को कृप कृषि तथा पशु फार्म र वडा नं. १३ को मान्तिरीबारी फार्मलगायतका स्थानमा सयपत्री र मखमली फूल खेती भइरहेको छ ।

स्थानीय उत्पादनको बजार सुनिश्चित गर्न नगरपालिकाले कृत्रिम फूलमालाको उत्पादन, आयात, बिक्रीवितरण, भण्डारण तथा प्रयोगमा समेत प्रतिबन्ध लगाएको छ । सार्वजनिक सूचना जारी गर्दै प्लास्टिकजन्य कृत्रिम फूलमाला र सजावटी सामग्रीको सट्टा प्राकृतिक फूल तथा स्थानीय उत्पादन प्रयोग गर्न नगरवासीलाई आग्रह गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले किसानको आम्दानी वृद्धि, स्थानीय उत्पादनको प्रवर्द्र्धन र वातावरण संरक्षणलाई एकसाथ जोडेर पुष्प खेती विस्तारको नीति अघि बढाइएको बताए । स्थानीय उत्पादनको प्रयोग बढ्दा किसानले बजार पाउने र नगरभित्रै आर्थिक गतिविधि विस्तार हुने उनको भनाइ छ ।

तिहार, छठ, विवाह तथा विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रममा स्थानीय किसानले उत्पादन गरेका फूल प्रयोग गर्न नगरपालिकाले आग्रह गरेको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति प्रभावकारी कार्यान्वयन हुन सके बाहिरबाट फूल आयात गर्नुपर्ने निर्भरता घट्नुका साथै किसानको उत्पादनले बजार पाउने अपेक्षा गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker