खाद्य गुणस्तरमा प्रश्न : ५ लाख ४७ हजारका अखाद्य वस्तु नष्ट, १३६ नमूना परीक्षण, ११ मुद्दा दर्ता
अनुगमनमा म्याद गुज्रेका तथा गुणस्तरहीन खाद्यवस्तु भेटिए

तनहुँ : तनहुँसहित पाँच जिल्लामा गरिएको खाद्य तथा बजार अनुगमनका क्रममा म्याद गुज्रेका, अखाद्य तथा गुणस्तर मापदण्ड पूरा नगरेका वस्तु फेला परेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौलीले आर्थिक वर्ष २०८२/०८३ मा गरेको अनुगमन तथा परीक्षणबाट उपभोक्ताले दैनिक उपभोग गर्ने विभिन्न खाद्यवस्तुको गुणस्तरमा कैफियत देखिएको हो ।
कार्यालयको वार्षिक प्रगति प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा अनुगमनका क्रममा रु. ५ लाख ४७ हजार २०१ मूल्य बराबरका म्याद गुज्रेका तथा खान अयोग्य खाद्यवस्तु नष्ट गरिएको छ। बजार तथा खाद्य व्यवसायमा गरिएको अनुगमनका क्रममा फेला परेका यस्ता वस्तु तत्काल नष्ट गरिएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्यले जानकारी गराए ।
आचार्यका अनुसार गत आर्थिक वर्षमा खाद्य तथा दाना बजार अनुगमनका लागि १०० वटा स्थानको लक्ष्य राखेकामा ९६ स्थानमा अनुगमन गरेको थियो। खाद्य तथा दाना उद्योगतर्फ ६६ वटा उद्योग अनुगमन गर्ने लक्ष्य रहेकामा ७७ वटा उद्योगको अनुगमन गरिएको छ। त्यस्तै, खाद्य तथा दानाका १३२ वटा नमूना संकलन गर्ने लक्ष्य रहेकामा १३६ वटा नमूना संकलन गरी परीक्षण गरिएको प्रतिवेदनमा उल्लेख छ ।
आयातीत खाद्यवस्तुको समेत नमूना परीक्षणलाई कार्यालयले प्राथमिकता दिएको छ । आयातीत वस्तुका ९० वटा नमूना संकलन गर्ने लक्ष्य रहेकामा ११० वटा नमूना संकलन गरिएको छ ।
कार्यालयले संकलन गरेका १३६ वटा खाद्य तथा दानाका नमूनामध्ये विभिन्न खाद्य समूहमा गुणस्तरसम्बन्धी समस्या देखिएको छ । परीक्षण गरिएका नमूनामध्ये खानेतेल तथा घ्यूतर्फ २५ नमूना परीक्षण गर्दा तीनवटामा प्रतिकूल नतिजा आएको छ । फलफूल तथा तरकारीका १६ नमूनामध्ये दुईवटामा, मसलाजन्य वस्तुका नौ नमूनामध्ये दुईवटामा, खाद्यान्न तथा दलहनका ३५ नमूनामध्ये एउटामा र प्रशोधित पिउने पानीका नौ नमूनामध्ये दुईवटामा प्रतिकूल नतिजा आएको आचार्यले जानकारी गराए ।
त्यस्तै, दानातर्फ परीक्षण गरिएका सात नमूनामध्ये पाँचवटामा प्रतिकूल नतिजा आएको छ । कार्यालयले दूध तथा दुग्धजन्य पदार्थ, चिया तथा कफी, नुन, खाद्यपूरक, मिठाई, कन्फेक्सनरी, हल्का पेय पदार्थलगायतका विभिन्न खाद्य समूहका नमूना पनि परीक्षण गरेको थियो ।
खाद्यवस्तुको गुणस्तर कायम गराउन कार्यालयले बजार अनुगमनसँगै कानुनी प्रक्रियासमेत अघि बढाएको छ । गत आर्थिक वर्षमा कार्यालयको अभिलेखमा ११ वटा मुद्दा दर्ता भएका छन् । ती मुद्दामा गुणस्तरहीन वनस्पति घ्यू, चिया, सुजी, फलफूल पेय पदार्थलगायत खाद्यवस्तुका विषय समेटिएका छन्। बेकरीसम्बन्धी लेबलिङ तथा अन्य कैफियतका विषयसमेत मुद्दाका रूपमा अभिलेख गरिएको छ ।
यस अवधिमा कार्यालयमा अन्य कार्यालयबाट प्राप्त १४ वटा मुद्दासमेत सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयबाट निर्णय भएका छन् । तीमध्ये धनगढीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट प्राप्त प्रशोधित तेलसम्बन्धी एक, पाल्पास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट प्राप्त चाउचाउ तथा प्रशोधित तेलसम्बन्धी तीन र दाङबाट प्राप्त अमिलो तरल पदार्थसम्बन्धी एक मुद्दा निर्णय भएको प्रमुख आचार्यले जानकारी गराए ।
म्याद गुज्रेका वस्तुमा ठूलो रकम
कार्यालयका अनुसार बजार अनुगमनका क्रममा नष्ट गरिएका खाद्यवस्तुमा मैदाजन्य तथा पीठोजन्य वस्तु, चकलेट, चिप्स, दाल तथा दालजन्य पदार्थ, बेकरी सामग्री, जुस तथा फलफूल पेय पदार्थ, चाउचाउ, तयारी खाजा, कोला तथा हल्का पेय पदार्थ, चिउरा, खाना पकाउने तेल लगायतका वस्तु रहेका छन् ।
खाद्यवस्तुको गुणस्तर जाँचका क्रममा होटल तथा खाद्य व्यवसायमा प्रयोग भइरहेका तेलको अवस्थासमेत परीक्षण गरिएको थियो । टीपीएम मूल्य २५ भन्दा बढी भएका खाना पकाउने तेल समेत फेला परेको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा मात्रै स्थानीय तहसँगको सहकार्यमा गरिएको संयुक्त बजार अनुगमनबाट रु. १ लाख ८१ हजार ५ सय १६ मूल्य बराबरका म्याद गुज्रेका तथा खान अयोग्य खाद्यवस्तु नष्ट गरिएको थियो । बेकरी, किराना पसल तथा अन्य खाद्य व्यवसायमा गरिएको अनुगमनका क्रममा लेबल नभएका तेलजन्य पदार्थ, म्याद गुज्रेका खाद्यवस्तु तथा अन्य कैफियतयुक्त सामग्री भेटिएका थिए ।
हाटबजारदेखि विद्यालयका क्यान्टिनसम्म निगरानी
कार्यालयले नियमित बजार अनुगमनसँगै खाद्य सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्रलाई समेत निगरानीमा राखेको छ । हाटबजार, मेला तथा महोत्सवमा चार स्थान अनुगमन गर्ने लक्ष्य रहेकामा सात स्थानमा अनुगमन गरिएको छ ।
त्यस्तै, संवेदनशील खाद्यवस्तु बिक्री हुने २४ स्थानमा अनुगमन गर्ने लक्ष्यअनुसार २४ स्थानमै अनुगमन गरिएको छ । विद्यालय तथा अस्पतालका क्यान्टिनतर्फ आठ स्थानको लक्ष्य रहेकामा १४ स्थानमा अनुगमन गरिएको प्रतिवेदनमा उल्लेख छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौलीको कार्यक्षेत्रमा तनहुँसहित म्याग्दी, लमजुङ, गोरखा र नवलपुर गरी पाँच जिल्ला रहेका छन् । कार्यालयले खाद्य तथा दाना उद्योगको निरीक्षण तथा नियमन, उद्योग सञ्चालनका लागि सिफारिस, बजार अनुगमन, होटल तथा रेस्टुरेन्ट, हाटबजारलगायतका क्षेत्रमा खाद्य गुणस्तर तथा स्वच्छता अनुगमन गर्दै आएको छ ।
यसैक्रममा कार्यालयले होटल तथा रेस्टुरेन्टको स्वच्छता स्तर सुधारका लागि होटल/रेस्टुरेन्ट स्वच्छता स्तरीकरण कार्यक्रमसमेत सञ्चालन गरेको छ । बन्दीपुर लगायतका बजार क्षेत्रमा होटल तथा रेस्टुरेन्टको स्वच्छता मूल्याङ्कन तथा स्तरीकरण गरिएको प्रतिवेदनमा उल्लेख छ ।
खाद्य वस्तुको उत्पादनदेखि बिक्रीवितरणसम्म गुणस्तर कायम गराउनु र उपभोक्तालाई सुरक्षित खाद्यवस्तु उपलब्ध गराउनु खाद्य नियमनको मूल उद्देश्य हो । तर, बजार अनुगमनमा म्याद गुज्रेका तथा खान अयोग्य वस्तु भेटिनु, परीक्षणका क्रममा केही नमूनामा प्रतिकूल नतिजा आउनु र त्यस्ता वस्तु नष्ट गर्नुपर्ने अवस्थाले खाद्य व्यवसायी तथा नियमनकारी निकाय दुवैका लागि निरन्तर निगरानी आवश्यक रहेको देखाएको छ ।
कार्यालयको प्रतिवेदनले अनुगमनको संख्या बढ्दै गए पनि खाद्यवस्तुको गुणस्तर सुनिश्चित गर्न नियमित परीक्षण, प्रभावकारी बजार अनुगमन, व्यवसायीको जिम्मेवारी र उपभोक्ता सचेतनालाई समान रूपमा अघि बढाउनुपर्ने आवश्यकता देखाएको छ ।










