शुक्लागण्डकी नगरपालिका : “बच्चाहरु घरबाट हराएर कता गए भनि खोज्दा, विद्यालयमा भेटिउन भन्ने सोचका साथ काम गर्दैछौ”

नगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयहरु कसरी शैक्षिक गुणस्तर बृद्धि गर्न सकिन्छ, कसरी यस क्षेत्रका विद्यालयहरुलाई विषयास्तर पठाउन सकिन्छ, कसरी यस क्षेत्रका विद्यार्थीलाई यही पढाउने वातावरण निर्माण गर्न सकिन्छ भन्ने विषयमा चाँसो र योजनाका साथ अगाडि बढेका छौं । शुक्लागण्डकीमा करिव १३ हजारको हाराहारीमा विद्यार्थीहरु पढ्नुहुन्छ । यसमा करिब ७/८ हजार विद्याथी सामुदायिक र ६ हजारको हाराहारीमा संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि नगरपालिकाले काम गर्दै आएको छ ।
‘नगरपालिकाले शैक्षिक सुधारका लागि गत वर्षदेखि अलि बढि खर्च गरेको छ । आवश्यक बजेट पनि बिनियोजन गर्दै शैक्षिक वातावरण विश्वासिलो बनाउनका लागि अभिभावकहरुसंग पनि समन्वय गरी अगाडि बढेका छौ’, नगरप्रमुख पण्डितले भने, ‘विद्यालय सुधार गर्न के गर्न सक्छौ भनि सरोकारवालाहरुसंग छलफल गरी सुझाव संकलन गर्दै शैक्षिक पूर्वाधारका हिसावले राम्रो, सुन्दर सफा, पढ्ने योग्य बनाउने, बालविकास केन्द्रहरुलाई प्रभावकारी बनाउने । बच्चाहरु घरबाट हराएर कता गए भन्दा विद्यालयमा जाँदा भेटिउन भन्ने उद्देश्य लिएर हामी अगाडि बढेका छौं ।’
‘अहिले दरबन्दीहरु अपुग भएका विद्यालयमा नगरपालिकाले नै दरबन्दी खुलाएर पु¥याएका छौं । जनसंख्या नै नभएका स्थानमा भएका केही विद्यालयहरुलाई मर्ज गर्ने कि भन्ने विषयमा छलफल गरिरहेका छौ’, नगरप्रमुख पण्डितले भने, ‘व्यवस्थित शैक्षिक वातावारण सृजना गर्नका लागि विद्यालयमा क्यान्टिनहरुको व्यवस्था, शौचालयहरुलाई सफा, पूर्वाधारको बिकासलाई बढि जोड दिएका छौं । शिक्षकहरुलाई थप प्रभावकारी हिसावले आफ्नो विषयमा दख्खल गराउन असल विद्यालयका भ्रमण गराएर विद्यालयहरुले गरेको प्रगति र ती प्रगतिलाई आफ्नो विद्यालयमा अबलम्बन गरुन भनि अध्ययन अवलोकन भ्रमणहरु समेत गरउँदै आइको छ ।’
नगरपालिकाले प्रधानध्यापकहरुलाई थप सेवा सुविधा, बैठक भत्ता र अप्ठेरो परेका विषयहरुमा सहयोग, प्रविधिमैत्री शिक्षा प्रदानका लागि इन्टरनेटको व्यवस्था, ल्यापटप, विद्युतको व्यवस्था जस्ता कार्यालाई प्राथमिकताका साथ अगाडि बढाइएको छ । विद्यालयलाई व्यवहारिक शिक्षा, सीप उत्पादनसंग जोड्ने उद्देश्यले प्राविधिक धारका विषयलाई पठनपाठनमा जोड्दै लगिएको नगरप्रमुख पण्डितले जानकारी गराए । उनले भने, ‘नमूना विद्यालय, विद्यालय संख्या बढि भएकालाई फोकस, अनुगमनका पाटाहरुलाई पनि व्यवस्थित गराएका छौं । हाम्रो शिक्षालाई प्रकृतिसंग रमाउने व्यवरिक बनाउनुपर्छ, संस्कृतिसंग जोड्ने र प्रविधिसंग जोडे हामीले स्वादेशमा रोजगारी सिर्जना गर्न सक्छौं । हाम्रै स्रोतसाधानलाई आयआर्जनसंग जोड्न सक्छौं भनि हामीले त्यही खालका कार्यक्रमहरु अगाडि बढाएका छौं ।’
‘अहिलेका विद्यार्थी ७/८ कक्षा पढ्दै गर्दा कुन देश जाने भनेर छलफल गर्न थालेका छन् । आफ्नो गाउँठाउँमा केही गर्ने भन्ने भन्दापनि हाम्रो सोच, अनि समाज बैदेशिक यात्रामा नै बढि झुकाउ भएको देखिन्छ’, उनले भने, ‘यो समाजको झुकाउलाई कसरी परिवर्तन गर्न सकिन्छ भनि हामी पनि गम्भिर बिचार गरिरहेका छौं । एक चोटी र विदेश जाने कि भन्ने धेरैको सोच छ, कति गएर पनि आउनुभएको छ । उहाँहरुले त्यहाँ सिकेको सीप, क्षेमता, आफुलाई अब्बल बनाएर आएकाहरु यहाँ सफल उद्यमी पनि बन्नुभएको छ । हामीले उहाँहरुलाई प्रोत्साहन स्वारुप विऊपुँजि र आर्थिक सहयोगहरु गरेरका छौं । उत्पादनसंग जोडिएर राज्यले दिने सेवा सुविधा ती व्यक्तिहरुमा हामीले पु¥याएका छौं र आयआर्जन र उत्पादनसंग जोडेका छौं । विद्यार्थीहरु पढ्न भनि विदेश जाने तर, त्यहाँ पुगेपछि आयआर्जन र रोजगारसंगै जेडिने परिपटिको बिकास भएको छ ।’
‘प्रकृतिसंग रमाउने खालको, पैसामात्रै ठुलो होइन, हामी संस्कार, संस्कृति र प्रकृतिसंग रमाउनपर्छ भन्ने मानवपुँजिको बिकासतिर कम ध्यान दियौ कि भन्ने लाग्छ’, नगरप्रमुख पण्डितले भने, ‘हामी पूर्वाधार विकासमै हिड्यौ अन्य धेरै क्षेत्रमा हिड्यौं तर मानव पुँजीको बिकास, चेतनाको बिकास र आसल कर्म गर्ने कुराहरु र नैतिक शिक्षा प्रदान गर्न तर्फ हामी चुकेका हौकि भन्ने लाग्न थालेको छ ।’
नगरप्रमुख पण्डित भन्छन, ‘अहिले हामीलाई पश्चिमी संस्कृतिले तानेको छ । राष्ट्रप्रतिको प्रेम, आफ्नो देशको भुमिले नतानेको हो कि जस्तो देख्न थालिएको छ । फेरिपनि हामीले शैक्षिक गुणस्तरको लागि व्यवारिक शिक्षासंग जोड दिने, नैतिक शिक्षा, संस्कारसंग जोड दिएर अगाडि बढ्न सकेमा सभ्य र शिक्षित जनशक्ति उत्पादन गर्न सकिन्छ । नगरपालिकाले यसप्रकारका योजनालाई पनि जोडेर शिक्षा क्षेत्रको विकासका लागि आवश्यक बजेट व्यवस्थानमा ध्यान दिन थालेका छौ ।’

“एक वडा एक नमुना विद्यालय” कार्यक्रम कार्यान्वयन गरिदै : शिक्षा अधिकृत नवराज चापागाई

शुक्लागण्डकी नगरपालिकामा ३५ सामुदायिक र ७ संस्थागत गरी ४२ वटा प्राथमिक, ४ सामुदायिक र १ संस्थागत गरी ५ वटा आधारभूत, १७ सामुदायिक १२ संस्थागत गरी २९ वटा माध्यमिक तह र २ वटा सामुदायीक र १ संस्थागत गरी ३ वटा क्याम्पस सञ्चालनमा रहेका छन् । प्राविधिक धार तर्फ कक्षा ९+१२ को पञ्चमुनिदेव माध्यमिक विद्यालयमा पशुविज्ञान र गाउँफर्कोदय माध्यमिक विद्यालयमा कृषि तर्फ बाली विज्ञान विषयको पढाइ हुने गरेको छ ।
गाउँफर्कोदय माध्यमिक विद्यालयमा सञ्चालित प्राविधिक धार नगरपालिकाको अनुदानमा सञ्चालित रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज चापागाईले जानकारी गराए । उनका अनुसार पञ्चमुनिदेव को बाली विज्ञान तर्फ कक्षा ९–१२ मा छात्रा २८ र छात्र ४५ गरी ७३ जना र गाउँफर्कोदय माविको बाली विज्ञान तर्फ कक्षा ९–१० मा छात्रा ३६ र छात्र १६ गरी ५२ जना विद्यार्थी अध्ययनरत छन् ।
शुक्लागण्डकी नगरपालिकाले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनमा ल्याएको १० वर्षे विद्यालय शिक्षा क्षेत्रको योजनाले निर्धारित गरेको सुविधाविहीन, सिमान्तकृत तथा अपाङ्गता भएका बालबालिकाहरूको समतामूलक पहुँच तथा सहभागिता सुनिश्चित गर्नु, प्रत्येक बालबालिकाको सिकाइ उपलब्धी सुनिश्चित गर्दै समग्र विद्यालय शिक्षाको गुणस्तर र सान्दर्भिकता अभिवृद्धि गर्नु, सबै नागरिकलाई निरन्तर शिक्षा तथा आजीवन सिकाइको अवसर विस्तार गर्नु तथा विद्यालयमा सुशासन प्रवद्र्धन गरी शैक्षिक सेवा प्रवाह प्रभावकारी बनाउने गरी अगाडि बढेको प्रमुख चापागाईले बताए ।
प्रारम्भिक बालविकास र शिक्षा, आधारभूत शिक्षा, माध्यमिक शिक्षा, अनौपचारिक तथा आजीवन सिकाइ र पाठ्यक्रम र मूल्याङ्कन, शिक्षक व्यवस्थापन र विकास, शैक्षिक समता र समावेशीकरण, दिवा खाजासहित स्वास्थ्य तथा पोषण कार्यक्रम, शिक्षामा सूचना तथा सञ्चार प्रविधि, विद्यालय शिक्षामा विपद् व्यवस्थापन र विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रम जस्ता अन्तरसम्बन्धित विषयहरूसँग सम्बन्धित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्दै अगाडि बढेको उनले बताए ।
यस्तै, नगरपालिकाबाट साझेदारी, प्रवद्र्धन र सिकाइ वातावरणमा सुधार गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने योजना र कार्यक्रम सञ्चालन गरिएको छ । प्रारम्भिक बालविकास र शिक्षामा न्यूनतम सिकाइ वातावरणको सुनिश्चितता  (भौतिक वातावरणमा सुधार, सिकाइ सामग्री व्यवस्था र बाल विकास केन्द्र विस्तार (२८ केन्द्र नगरपालिकाबाट थप) गरिएको छ । सुविधाविहीन, सिमान्तकृत तथा अपाङ्गता भएका बालबालिकाहरूका लागि लक्षित वर्गको कार्यक्रम तथा वडा कार्यालयहरुबाट समेत दिवा खाजा, विद्यालय पोसाक, स्टेशनरी, न्यानो लुगा, खेलकुद पोसाक, झोला लगायतका आवश्यकीय सामग्री तथा सुविधाको प्रबन्ध, संस्थागत विद्यालयहरूमा १० प्रतिशत छात्रवृत्तिको प्रबन्धका साथै नगरपालिकाबाट विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्ति कार्यक्रमा पाँच लाख रुपैयाँ विनियोजन भएको उनले जानकारी गराए ।
प्रारम्भिक बाल विकास र शिक्षादेखि कक्षा ८ सम्म (आधारभूत तह) निःशुल्क तथा अनिवार्य शिक्षाको कार्यान्वयन, माध्यमिक तहको कक्षा १० देखि १२ सम्म निःशुल्क शिक्षा कार्यान्वयन, शिक्षक दरबन्दी मिलान तथा विषयगत शिक्षक मिलान र व्यवस्थापन, संघीय शिक्षा नियमावलीमा व्यवस्था भएको ४५ विद्यार्थी बराबर एक शिक्षकको व्यवस्थामा सुधार गरी १ः३० शिक्षक विद्यार्थी अनुपात कायम गरी नगरपालिकाबाट थप ३५ जना स्वयंसेवक शिक्षकको व्यवस्था, २८ बालविकास केन्द्रका सहजकर्ता, २ जना विद्यालय सहयोगी, ३ जना माध्यमिक तहका शिक्षक, प्राविधिक धार तर्फ ७ जना शिक्षक प्रशिक्षक गरी ७५ जना शिक्षक कर्मचारीहरू नगरपालिकाको स्रोतबाट व्यवस्थापन गरिएको छ ।
कक्षाकोठामा प्रवेश पूर्व शिक्षकको तयारी सुनिश्चित गर्न शिक्षक डायरी तथा कक्षाकोठाको शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी, तोकिएको समयसम्म हुने र विद्यार्थी सहभागिताका लागि विद्यार्थी लग बुकको प्रयोग, ‘एक वडा एक नमुना विद्यालय कार्यक्रम’ : शिक्षण सिकाइ वातावरण तयार गर्न/सुधार गर्न नगरपालिकाबाट वडाको १ उच्चतम विद्यालय छनोट गरी भौतिक पूर्वाधार (भवन, फर्निचर, कम्पाउण्ड वाल, चमेना गृह, खेलमैदान, शौचालय, मर्मत सम्भार) विकासको कार्यक्रम सञ्चालनका साथै सम्बन्धित वडाहरूले यस कार्यक्रमलाई निरन्तरताका दिई अन्य विद्यालयहरूको समेत सिकाइ वातावरण सुधारका लागि आफ्नो योजना तथा कार्यक्रममा समावेश गर्ने व्यवस्था मिलाइएको प्रमुख चापागाईले जानकारी गराए ।
नगरपालिकाले शिक्षामा एकरूपता, गुणस्तर र प्रविधिमैत्रीकरणको अभियानलाई तीव्र बनाउँदै विभिन्न नवीन र समावेशी कार्यक्रमहरू सञ्चालनमा ल्याएको छ। विद्यालय शिक्षा क्षेत्रको सुधारका लागि चालू आर्थिक वर्षदेखि लागू भएका यी योजनाहरूले विद्यालयको भौतिक, शैक्षिक र व्यवस्थापकीय पक्षमा उल्लेखनीय परिवर्तन ल्याउने विश्वास गरिएको छ ।
शिक्षा अधिकृत चापागाईंका अनुसार नगरपालिकाले शिक्षाको गुणस्तरीय विकासका लागि कक्षा ८ र एसइइ (कक्षा १०) का विद्यार्थीहरूलाई लक्षित गर्दै गणित र विज्ञानमा अतिरिक्त कक्षा, साप्ताहिक रूपमा एसइई नमुना प्रश्नपत्र अभ्यास, तथा आवधिक मूल्याङ्कन प्रणालीलाई व्यवस्थित ढंगले लागू गरिरहेको छ। यस्तै, पाठ्यक्रममा स्थानीय आवश्यकताको समावेशका लागि “हाम्रो शुक्लागण्डकी” नामक स्थानीय पाठ्यक्रम कक्षा ८ सम्म कार्यान्वयनमा ल्याइएको हो ।
विद्यालयको पूर्वाधारमा सुधार ल्याउने उद्देश्यले १६ वटा विद्यालयमा छात्रा शौचालय, अपाङ्गमैत्री र बालमैत्री संरचना, पुस्तकालय, विज्ञान प्रयोगशाला तथा कम्प्युटर ल्याब स्थापना गरिएको छ। यस्तै, एक विद्यालयमा विद्यालय बसको व्यवस्था गरिनुका साथै कक्षा १ देखि ५ सम्मका विद्यालयहरूमा समेत क्रमशः सूचना प्रविधि सामग्रीहरू पु¥याउने नीति अवलम्बन गरिएको छ ।
शिक्षकहरूको क्षमता विकासका लागि विषयगत तालिम, प्रश्नपत्र निर्माण कार्यशाला, सूचना तथा सञ्चार प्रविधिको प्रयोग लगायतका विषयमा विभिन्न तहमा तालिम सञ्चालन भैरहेका छन्। साथै, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा बाल क्लबहरूलाई सक्रिय बनाउने कार्यमा पनि नगरपालिका अगाडि बढेको छ।
महिला र बालिका शिक्षामा पहुँच विस्तार गर्न नगरपालिकाले कक्षा ८ सम्मका सबै छात्राहरूलाई छात्रवृत्ति, सेनिटरी प्याड, छात्रा शौचालय, विद्यालय नर्स कार्यक्रम, तथा लैङ्गिक सम्पर्क व्यक्तिको व्यवस्था लागू गरेको छ ।
नगरपालिकाको शिक्षा क्षेत्रमा यस वर्ष करिब ३६ करोड रुपैयाँ बराबरको लगानी भएको छ। जसमा संघीय सरकारबाट २८ करोड ८६ लाख रुपैयाँ, नगरपालिकाबाट ४ करोड ३४ लाख रुपैयाँ तथा विभिन्न वडाहरू र साझेदार संस्थाबाट करिब ३ करोड रुपैयाँ बराबरको बजेट विनियोजन भएको हो ।
शिक्षा अधिकृत चापागाईंका अनुसार नगरपालिकाले केही गम्भीर चुनौतीहरू समेत सामना गरिरहेको छ। विद्यालय बाहिर रहेका बालबालिकाको जन्मदर्ता अभाव, शिक्षक दरबन्दीको अभाव, प्रविधिमा पहुँच र दक्षताको कमी, ग्रामीण र सहरी विद्यालयबीचको विद्यार्थी अनुपात असमानता, तथा पाठ्यपुस्तकमै केन्द्रित शिक्षण प्रणाली जस्ता समस्याहरू समाधान गर्न आवश्यक देखिएको छ ।
“शिक्षा प्रणालीलाई थप प्रभावकारी बनाउन हामी ‘एक वडा, एक नमुना विद्यालय’को अवधारणामा अगाडि बढेका छौं”, शिक्षा अधिकृत चापागाईंले बताए। उनका अनुसार शिक्षाको गुणस्तरमा निरन्तर सुधार ल्याउँदै शुक्लागण्डकीलाई प्रदेशकै नमुना शिक्षा नगर बनाउने लक्ष्य लिइएको छ ।
यस्तै, शुक्लागण्डकी नगरपालिकामा शिक्षा क्षेत्रले विभिन्न बहुआयामिक चुनौतीहरू सामना गरिरहेको नगर शिक्षा अधिकृत चापागाईले बताएका छन्। शिक्षा पहुँच, गुणस्तर, संरचना र व्यवस्थापनका पक्षमा अझै गहिरो सुधारको खाँचो रहेको उनको भनाइ छ ।
नगर शिक्षा अधिकृत चापागाईका अनुसार श्रमिक र अभिभावकविहीन बालबालिकाको जन्मदर्ता अभावले विद्यालय भर्ना प्रक्रिया जटिल भएको छ। भर्ना भएका विद्यार्थीको समेत जन्म प्रमाणपत्र नहुनुले सरकारी प्रक्रिया पूरा गर्न समस्या भइरहेको छ ।
त्यस्तै, भौगोलिक विकटता तथा विद्यालयबीचको दूरीले गर्दा न्यून विद्यार्थी भएका विद्यालयहरूको समायोजन तथा एकीकरणमा पनि कठिनाइ भएको छ । सहरी क्षेत्रका विद्यालयहरूमा विद्यार्थीको चाप अत्यधिक भए पनि ग्रामीण क्षेत्रका विद्यालयहरूमा विद्यार्थी न्यून छन्, जसले शिक्षक–विद्यार्थी अनुपात असमान बनाएको छ ।
“शिक्षक व्यवस्थापन गर्न नगरपालिकालाई थप जनशक्ति खटाउनु परेको छ, जुन आर्थिक रूपमा चुनौतीपूर्ण छ,” चापागाईले भने । प्रारम्भिक बाल विकास केन्द्र तथा प्रारम्भिक शिक्षामा राष्ट्रिय मापदण्ड पुरा गर्न ठूलो लगानीको आवश्यकता रहेको बताउँदै उनले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग सीमित हुनु र शिक्षकहरूको दक्षता अभावले सिकाइको गुणस्तरमा असर पारेको उल्लेख गरे ।
गणित विषयमा तल्लो कक्षादेखि नै अवधारणा तथा सीप विकास नहुनुले एसईई जस्ता परीक्षामा कमजोर नतिजा आउने गरेको पनि उनले बताए। साथै, प्राविधिक धारतर्फ विद्यार्थीको रुचि घट्दै गएको देखिएको छ। नगरपालिकाका अन्य चुनौतीहरूमा उमेर अनुसार विद्यार्थी भर्ना नहुनु, दिवा खाजा व्यवस्थापनमा कमजोर तालिकीकरण, विषयगत शिक्षक दरबन्दीको अभाव, संस्थागत विद्यालयहरूको नियमन कठिनाइ, पाठ्यपुस्तकमै आधारित सिकाइ पद्धति, निःशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयन नहुनु, अभिभावकको चासोको कमी, र पोखरा महानगरको नजिक proximity का कारण विद्यार्थी पलायनको सम्भावना उल्लेख छन् ।
शिक्षा क्षेत्रमा देखिएका यी चुनौतीहरू समाधान गर्न दीर्घकालीन नीति, लगानी, प्रविधिको समावेशीकरण, शिक्षक तालिम, र सामुदायिक संलग्नता अपरिहार्य रहेको चापागाईको भनाइ छ ।
(भञ्ज्याङ प्रकाशनको ४४औं वर्ष प्रवेशका अवसरमा वैशाख १ गते भञ्ज्याङ दैनिकको विशेषाङ्कमा प्रकाशित)
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker