जनतालाई मुस्कान सहितको सेवा दिन कर्मचारीलाई शुक्लागण्डकीका नगरप्रमुख पण्डितको निर्देशन
भञ्ज्याङ न्यूज

तनहुँको शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले जनतालाई मुस्कान सहितको सेवा दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । शाखा प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख पण्डितले नगरपालिकामा आएका जनतालाई मुस्कान सहितको सेवा प्रदान गर्न आग्रह गरेका हुन् ।
‘अहिलेका जनताले परिवर्तन चाहेका छन्, अब हामी पनि परिवर्तन हुँदै सेवा प्रवाह गर्नुपर्छ’, उनले भने, ‘सेवाग्राहीले गेटबाट पस्ने बित्तिकै नयाँ अनुभुति गरुन्।’ र्’कर्मचारीबाट राम्रो व्यवहार पाउन् त्यसको लागि मुस्कानसहितको सेवा आवश्यक छ’, नगरप्रमुख पण्डितले भने, ‘नगरपालिकामा धेरै काम गर्नुपर्ने भएकाले कर्मचारीको सहयोग अपरिहार्य छ ।
जनप्रतिनिधि एक्लैले चाहेर मात्रै सबै काम गर्न नसक्ने हुँदा त्यसको लागि सबै कर्मचारीले सहयोग गर्न आवश्यक छ ।’
कार्यक्रममा उपप्रमुख खुमबहादुर बिकले निष्पक्ष र इमान्दार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए । विकास निर्माण र जनताको आधारभुत आवश्यकता परिपुर्तिका लागि नगरपालिकाले सदैव सहयोग गर्न तत्परता रहेको बताए ।
नगरपालिकाले अहिलेसम्म भए, गरेका कामहरुको प्रगतिको विषयमा विभिन्न शाखा प्रमुखहरुले जानकारी गराएका थिए । प्रमुख प्रसासकीय अधिकृत लिलाबल्लभ न्यौपानेले जनप्रतिनिधिले ऐन नियममा रहेर जिम्मेवारी निर्वाह गर्नुपर्ने र त्यसको लागि कर्मचारीको साथ सहयोग सदैव रहि रहने विश्वास दिलाएका थिए ।
पछिल्लो समय जनप्रतिनिधिले टुक्रे योजनालाई प्राथमिकता दिएको पाइएको हुँदा अब टुक्रे भन्दा पनि ठुलो योजनालाई प्राथमिकता दिएर अघि बढ्न न्यौपानेले सुझाव दिएका थिए ।










