१४ करोडको बन्दीपुर–धरमपानी सडक निर्माणमा ढिलाइ, दुई वर्षमा पनि भएन अपेक्षित प्रगति

बाहुनभञ्ज्याङ–झारगाउँ–धरमपानी सडकको काम तीव्र बनाउन र समयमै गुणस्तरीय निर्माण सम्पन्न गराउन स्थानीयको खबरदारी आवश्यक
बन्दीपुर । बन्दीपुर गाउँपालिकाको बन्दीपुर–धरमपानी सडक अन्तर्गत बाहुनभञ्ज्याङ–झारगाउँ–धरमपानी सडक निर्माणमा ढिलाइ भएको भन्दै चासो र चिन्ता व्यक्त गरिएको छ। करिब १४ करोड रुपैयाँ बजेटको यस सडक आयोजनामा विगत दुई वर्षदेखि निर्माण कार्य भइरहे पनि अपेक्षित प्रगति हुन सकेको छैन।
निर्माण कार्यले गति लिन नसक्दा निर्धारित समयमा सडक निर्माण सम्पन्न हुने विषयमा प्रश्न उठेको छ। ठेकेदारको लापरबाहीका कारण काममा ढिलाइ भइरहेको भन्दै निर्माण कार्यलाई तीव्रता दिन र सम्बन्धित निकायलाई जिम्मेवार बनाउन आवश्यक रहेको औँल्याइएको छ।
सडकको स्थलगत अवलोकनका क्रममा निर्माण कार्यमा भइरहेको ढिलाइलाई गम्भीरतापूर्वक लिनुपर्ने अनुगमन टोलीले जोड दिइएको छ। सडक निर्माणमा ढिलाइ हुँदा त्यसबाट प्रभावित हुने स्थानीय बासिन्दाको चासो सम्बोधन गर्न सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने देखिएको छ।
बन्दीपुर गाउँपालिका वडा नं. ५ र ६ का बासिन्दाका लागि महत्त्वपूर्ण मानिएको यस सडक आयोजनालाई समयमै सम्पन्न गराउन स्थानीय तह, सम्बन्धित निकाय र स्थानीय समुदायबीच प्रभावकारी समन्वय आवश्यक छ। निर्माण कार्यको नियमित अनुगमन गरी निर्धारित समयभित्र गुणस्तरीय काम सम्पन्न गराउन सम्बन्धित पक्षले सक्रियता देखाउनुपर्नेमा जोड दिइएको छ।
विकास निर्माणका आयोजना समयमै सम्पन्न गराउन नागरिकस्तरबाट समेत निरन्तर खबरदारी आवश्यक रहेको स्थानीय सरोकारको विषय बनेको छ। सार्वजनिक बजेटबाट सञ्चालित आयोजनाको काममा ढिलाइ भएमा त्यसको कारण खोज्ने, निर्माणको प्रगति अनुगमन गर्ने र सम्बन्धित पक्षलाई जवाफदेही बनाउने दायित्व सबै पक्षको रहेको स्थानीय अमिर गुरुङ बताउछन ।
सडक निर्माणलाई तीव्रता दिन र गुणस्तर कायम राख्न स्थानीय तह, सम्बन्धित निकाय तथा वडा नं. ५ र ६ का बासिन्दाले आ–आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ। विकास निर्माणका काम प्रभावकारी बनाउन नागरिकको सक्रियता, निरन्तर खबरदारी र सम्बन्धित निकायको जवाफदेहिता महत्त्वपूर्ण हुने देखिन्छ।










