आत्महत्या रोकथामका लागि संवेदनशील र जिम्मेवार रिपोर्टिङमा जोड

दमौली : ‘जिम्मेवार पत्रकारिताले आत्महत्या रोकथाममा सहयोग पुग्छ’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या रोकथामसम्बन्धी संवेदनशील रिपोर्टिङका लागि सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले मंगलबार दमौलीमा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले आत्महत्या सम्बन्धी समाचार सम्प्रेषण गर्दा संवेदनशील, तथ्यपरक र जिम्मेवार पत्रकारिता आवश्यक रहेकोमा जोड दिएका हुन् ।
कार्यक्रममा जनस्वास्थ्य प्रशासक अमर दवाडीले आत्महत्या एक गम्भीर सार्वजनिक स्वास्थ्य समस्या भएको उल्लेख गर्दै यसको समाचार प्रकाशन तथा प्रसारण गर्दा अत्यन्त सावधानी अपनाउनुपर्ने बताए । उनले मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि, उपचार तथा परामर्श सेवाको पहुँच विस्तार र रोकथामका उपायबारे जानकारी प्रवाह गर्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने धारणा राखे ।
उनले प्रमाणित तथ्यमा आधारित रिपोर्टिङ गर्नुपर्नेमा जोड दिँदै अतिरञ्जित वा सनसनीपूर्ण समाचारले समाजमा नकारात्मक प्रभाव पार्न सक्ने बताए । उनले भने, ‘मानसिक स्वास्थ्यप्रति सकारात्मक सोच विकास गर्दै आत्महत्या रोकथामका लागि सबै पक्षको साझा प्रयास आवश्यक छ ।’
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले आत्महत्या सम्बन्धी घटनाको समाचार सम्प्रेषण गर्दा पत्रकारले अत्यन्त जिम्मेवार र संवेदनशील ढङ्ग अपनाउनुपर्ने बताए । उनले तथ्यपरक र सचेतनामूलक पत्रकारिताले आत्महत्या नियन्त्रण तथा रोकथामका प्रयासलाई प्रभावकारी बनाउन सहयोग पुग्ने उल्लेख गरे ।
अभिमुखीकरण कार्यक्रममा सञ्चार क्षेत्रले प्राथमिकता दिनुपर्ने विषयहरूमा मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि, उपचार तथा परामर्श सेवाबारे जानकारी, जोखिम संकेतहरूको पहिचान, सरकारी तथा गैरसरकारी निकायका रोकथाम कार्यक्रम तथा सकारात्मक र प्रेरणादायी सामग्री प्रवद्र्धन समावेश गर्नुपर्ने सुझाव दिइएको थियो ।
त्यस्तै, अत्यन्त संवेदनशील रूपमा रिपोर्टिङ गर्नुपर्ने विषयहरूमा आत्महत्यासम्बन्धी घटनाको विस्तृत विवरण, प्रयोग विधिको वर्णन, सनसनीपूर्ण शीर्षक, पीडित वा परिवारको पहिचान खुल्ने सामग्री तथा अपुष्ट सूचना वा अफवाह पर्ने भएकाले यस्ता विषयमा विशेष सावधानी अपनाउन उनले आग्रह गरे ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूलाई मर्यादित भाषा प्रयोग, गोपनीयता संरक्षण र जिम्मेवार सम्पादन अभ्यास अपनाउनुपर्नेमा समेत जोड दिइएको थियो । आत्महत्या न्यूनीकरणका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण भएकाले यस्ता अभिमुखीकरण कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रदेश जनस्वास्थ्य कार्यालय दमौली तनहुँले जनाएको छ ।










