खोला र सार्वजनिक जग्गा मिचेर घरघडेरी, घरमा खोलो पस्दा र बाटो हराउदा विवाद

राजकुमार आले/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी-५ बेलचौतरास्थित सिलाङघारीकी नरमाया गुरुङ वि.सं. २०५२ सालमा स्याङ्जाबाट बसाइसराइ गरी आएकी हुन् । उनको परिवार यहाँ बस्न थालेको करिब तीन दशक पुग्न लागेको छ । सिलाङघारी आउनुपूर्व उनले स्थानीय गोविन्द विकसंग जग्गा लिएर घर बनाएकी थिइन् । अहिले त्यहाँ सानोवस्ती बसिसकेको छ । जग्गा खरिद गर्दा जग्गाधनी विकले बस्ती छेउको खहरे खोलासंग जोडिएको जग्गा बाटोको लागि छोड्ने भनेर सहमती गराइ जग्गा बिक्री गरेका थिए । सोहीअनुसार नरमाया सहितका स्थानीयवासीले उक्त जग्गालाई बाटोको रुपमा प्रयोग गर्दै आएका थिए ।

तर, दश बर्षअघि अचनाक सार्वजनिक भनिएको जग्गामा व्यक्तिले घर निर्माणका लागि सामान झार्न थालेपछि यस जग्गाको विषयमा विवाद शुरु भएको थियो । एउटै जग्गा सार्वजनिक पनि र जग्गाधनी पुर्जामा पनि देखिंदा विवाद सिर्जना भएको छ । टोलवासीले सार्वजनिक भनिरहदा खरिद गर्नेले पुर्जा भएको दाबी गरेका छन् । दश बर्षअघि उत्पन्न भएको यो जग्गाको विवाद अहिलेसम्म टुङ्गिएको छैन । सिलाङघारी उत्तर चोकमा अवस्थित उक्त १० आना जग्गा खहरे खोलाको पश्चिमतर्फ छ । खोलाको पूर्वतर्फ ऋषिराम चापागाई परिवारले पुर्खौदेखि भोगचलन गर्दै आएको ऐलानी जग्गा पर्छ । दुइ जग्गाबीचमा रहेको खहरे खोलाको अस्तित्व अहिले मेटिएको छ । खोलाको मापदण्डमा पर्ने सार्वजनिक जग्गा भनिएको पश्चिमतर्फको जग्गा अहिले व्यक्तिको नाममा पास भएर बिक्री समेत भएको बताइएको छ । पूर्वतर्फको जग्गा ऐलानी हो । यो अवधिमा ५०औँ पटक भेला बसेपनि टुङ्गो नलागेको स्थानीय टोलवासी बताउँछन् ।

बर्षौअघिबाट आफुहरुले बाटोको रुपमा प्रयोग गर्दै आएको सार्वजनिक जग्गा बिक्री हुँदा आफुहरु हिड्ने बाटो नै नभएको नरमाया बताउँछिन् । उनले आफुहरु चेपुवामा परेको गुनासो गरिन् । ‘ऐलानी जग्गा उपभोग गरेकाले पनि एक इन्च पनि जग्गा नछाड्ने र सार्वजनिक जग्गा किनेकोले पनि म छाड्दिन भन्ने । यसरी त हामी कहाँ जाने ?’, उनले आक्रोसित हुँदै भनिन्, ‘यो खोला ब्राइटचोकसम्म थियो कि थिएन ? त्यता सबै विकास भयो, दिनरात हामी पानीमा डुवेको डुव्यै छौँ, कस्तो कस्तो कुना काप्चा विकास भइसक्यो । हामीले कोसंग निकास खोज्ने ? हामीचाँही हेर्‍या हेरै ?’

सोही टोलका राजेश गुरुङले बगेको खोला क्षेत्रलाई जग्गा बनाइ बिक्री गरेको आरोप लगाए । उनले बर्खाको समयमा खहरे खोला उर्लिएर आउँदा बर्षेनी बस्तीभित्र पस्ने गरेको बताउँदै खोलालाई व्यवस्थित गर्दै लैजानुपर्ने बेलामा खोलालाई जग्गा बनाएर बेच्दा पनि आफु लाचार भएर बस्नुपरेको दुखेसो पोखे । उनले भने, ‘हिजो बेच्दा यो खोला हो, यो बाटो हो, अब हामी केही पनि बेच्दैनौँ, जति पनि पछाडी बस्ती छ, बस्तीको बाटो यो, भ्याइयो अब मेरो यहाँ केही छैन्, भनेर बेच्नेवालाले भन्नु भएको हामीलाई । तर, अहिले खोलालाई जग्गा बनाई बेचिदा हामी लाचार भएर बस्नु परेको छ ।’

त्यस्तै, ब्राइटलाइन टोप्रेघारीमा ५० बर्षअघिदेखि बस्दै आएका स्थानीय शिक्षक धर्मराज पौडेलले पानी हिडेको जग्गा बेचेर खाएको बताउँछन् । उनले खोला व्यवस्थित गर्न मुहानमै विवाद भएकाले बर्षेनी खहरे खोलाको बाढीबाट टोलवासी पीडित हुनु परेको बताए । उनले भने, ‘अमिन ल्याएर नाप्दा, व्यक्तिले किनेको जग्गा पुग्दैन भन्छ । कहाँ कता के हो त यो ? आखिर खोलो बग्ने यहिबाट हो । बाटो यहि छ । कसैले ऐलानी जग्गा उपभोग गरेर बसिराख्ने, कसैले मान्छे हिड्ने र खोलो बगिरहेको जग्गा बेचेर खाने अनि यहाँको बस्तीलाई कहाँबाट निकास दिने ?’


स्थानीय प्राडा चन्द्रबहादुर थापाले पुर्जा छ भनिएको जग्गा सार्वजनिक नै भएको भन्दै छोड्नु पर्ने बताए । उनले व्यक्तिले देखाएको पुर्जाले यो जग्गालाई समेटनुपर्ने बताए । उनले भने पटक पटक नापी गर्दा पनि यो व्यक्तिको हो भनेर प्रमाणित भएको छैन । अबको समाधान भनेको सार्वजनिक जग्गा छोड्नुपर्छ । जग्गा खरिद गर्ने खैरेनीटारका अमृत कायस्थले आफुसंग १० आना जग्गाको पुर्जाको रहेको बताए । आफुले १० बर्षदेखि राजश्व तिर्दै आएको बताउँदै बाटोका लागि ऐलानी जग्गा भएकोतिर पेल्ने हो कि लालपुर्जा भएको जग्गालाई खोला भन्ने हो ? उनले प्रश्न गर्दै भने, ‘मैले त्यहाँको कुरा बुझिन, मैले जग्गा पास गरेको १० बर्ष भयो, प्रत्येक बर्ष राजश्व तिरेको छु । यो विषयमा आफु मिलेर जान पनि तयार छु।’

जग्गाधनी गोविन्द विकले आफुले चोरेर रातीराती घुस खुवाएर जग्गा पास नगरेको प्रतिक्रिया दिए । स्थानीयवासीले आफुलाई अनावश्यक आरोप लगाएको उनको तर्क थियो । उनले पैसा तिरेरै पुनः जिल्लाबाट मान्छे ल्याई नापी गर्न प्रस्ताव गरे । यो जग्गाको विषयमा मालपोत कार्यालयमा गएर पनि हेर्न पाइन्छ, मालपोतले किन पास देको छ ? राजश्व किन लिएको छ ? उनले भने, ‘मैले जग्गा बेचेको हो, छातीमा हात राखेर भनिन्छ, मेरो गल्ती रैछ भने छोड्दिन्छु, तिर्न परे तिर्छु ।’

यता, शुक्लागण्डकी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष दीर्घबहादुर थापाले विवादित जग्गा अन्योलको बिषय बनेको बताउँछन् । उनले यो जग्गाको विषयमा यहि हो भनेर ठ्याक्कै भन्न सक्ने अवस्थामा नरहेको बताए । उनले भने, ‘व्यक्तिको जमिन पनि त्यहाँ देखिन्छ, खहरे खोलाको भुगोल पनि त्यही देखिन्छ । व्यक्तिले बाटो देखाएर घडेरी बेचेको पनि त्यही देखिन्छ । यसरी तिन वटा विषयवस्तु एउटै जमिनमा मिसिएको हुँदा समस्या सिर्जना भएको हो ।’

वडाध्यक्ष थापाले भने, ‘यो समस्या समाधानका लागि सम्बन्धित व्यक्तिहरुले आफ्नो हट त्याग्नु पर्ने पर्छ । जो जसले जग्गाको भोगचलन गर्नु भएको छ उहाँले पनि अलिकति जमिन छाड्दिनुस, जो चाही जग्गा धनिको पुर्जा बोकेर हिड्नु भएको छ, उहाँले आफ्नो घर बनाउने घडेरी पुग्ने गरेर जग्गा छाड्नुपर्छ । जसले यो खोला हो भनेर आवाज उठाएका छन् उनिहहरुले पनि हट छाडेर समझदारी गररे अगाडी बढे यसको निकास निस्कन्छ ।’

टोल भेलाले के निर्णय गर्‍यो ?

यस्तै, यस विषयमा आइतबार स्थानीय टोलवासी तथा जग्गा बेच्ने र खरिद गर्ने व्यक्तिसहितको भेला बसेको थियो । भेला औपचारिक रुपमा शुरु नहुदै स्थानीय प्रा डा चन्द्र बहादुर थापा र जग्गा किन्नेवाला अमृत कायस्थबीच कानुनी उपचार खाज्ने कि मिलेर जाने भन्ने विषयमा बाँझबाझ भएपछि कायस्थ निस्किएका थिए । त्यसपछि बसेको भेलाले विवादित जग्गा जग्गाधनी प्रमाण पुर्जामा देखिने र सार्वजनिक जग्गा पनि भएको हुनाले दुबैतर्फो जग्गाधनीमार्फत सरकारी अमिन ल्याएर जग्गाको नापजाँच गर्न १५ दिनको समय दिने निर्णय भएको टोलले जनाएको छ ।

भेलाले पन्ध्रदिनभित्र नापजाँच नगरेको खण्डमा टोल विकास संस्थाले दवैतर्फको नाला तथा बाटो व्यवस्थित हुने गरी निर्माण गर्ने निर्णय गरेको छ । त्यस्तै, नाला तथा बाटो निर्माणका लागि प्राविधिक जाँच गराइ वडा कार्यालयमा बजेट माग गर्ने निर्णय भएको छ । उक्त स्थानमा नाला तथा बाटो निर्माणका लागि वडाबाट यसअघि पटक पटक बजेट परेपनि जग्गा विवादका कारण काम हुन नसक्दा बजेट फ्रिज भएर जाने गरेको स्थानीय राजेश गुरुङले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker