बन्दीपुर गाउँपालिका : पर्यटनसंग जोडिदै कृषि र पशुपालनका क्षेत्रबाट रोजगारीको वातावरण सृजना गर्छौ

गाउँपालिका अध्यक्ष : सुरेन्द्र बहादुर थापा

पहाडकी रानी उपनामले परिचित पर्यटकीय नगरी बन्दीपुर । पर्यटकीय मात्र नभई यो गाउँपालिका कृषि, पशुपालनका हिसावले पनि महत्वपूर्ण छ । बन्दीपुर तनहुँको पुरानो सदरमुकाम भएकाले ऐतिहासिक पृष्ठभूमि अझ फराकिलो छ । यहाँका पहाडी टाकुरा, स्वच्छ वातावरण, विभिन्न समुदायको रहनसहन, संकार, संस्कृतिले धनि रहेको बन्दीपुर सडक सञ्जाल नहुँदाताकाको पश्चिम पहाडको मुख्य व्यापारीक नाकाको रूपमाले पनि परिचित छ । तनहुँ, कास्की, लमजुङ र गोरखाका लागि दक्षिणबाट सामान ल्याउने र पहाडी भेगबाट सामान दक्षिण पठाउने मुख्य स्थलको रूपमा यो नाकाको विकास भएको थियो । तनहुँ जिल्लाको सदरमुकाम यहाँबाट वि.सं. २०२५ सालमा दमौलीमा सारिएपछि उजाडिने संघारमा पुगेको बन्दीपुर स्थनीयकै बलबुताले अहिले आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । नेवार साँस्कृतिमा लिपिएको बन्दिपुरको सहरी संरचना करिब दुइ सय वर्ष पुरानो मानिन्छ । यहाँको रहनसहन, थिति र संरचनाका साथसाथै प्राकृतिक सौन्दर्य बन्दिपुरको विशेषता हो ।

बन्दीपुर वरिपरिका गाउँमा मगर संस्कृति अध्ययन अवलोकन गर्न पाइन्छ । हिमालयको फराकिलो दृश्य अवलोकन गर्ने गन्तव्य पनि बन्दीपुर हो । पर्यटकीय हिसावले निकै महत्वपूर्ण आकर्षक गन्तव्यका रुपमा रहेको बन्दीपुरलाई गाउँपालिकाले पनि पर्यटन क्षेत्रको विकास र आर्थिक लाभ लिने गरी प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा बताउँछन् ।

पर्यटनसंगै कृषि, पशुपालनका हिसावले महत्वपूर्ण रहेपनि बन्दीपुर गाउँपालिका पछिल्लो समय युवा जनशक्तिको अभावबाट गुज्रिरहेको छ । युवालाई आफ्नै थातथलोमा रोक्नका लागि गाउँपालिकाले विभिन्न स्वरोजगार तथा आयआर्जन मुलक कार्यक्रम अगाडि ल्याएपनि प्रभावकारी बन्न सकेको छैन । मुलुककै गम्भिर समस्यका रुपमा देखिएको युवा पलायन बन्दीपुरका लागि पनि ठूलो चुनौती बनेर खडा भएको छ । ग्रामीण बस्तिहरु पछिल्लो समय युवा जनशक्ति विहिन जस्तै बन्न थालेका छन् । युवा जनशक्ति अभावले गाउँपालिकाले सञ्चालन गरेका विकास निर्माणका काम पनि समयमै सम्पन्न गर्न सक्ने अवस्था छैन ।

आफ्नै गाउँठाउँमा स्वरोजगार बन्ने तथा आर्थिक उपार्जनको राम्रो सम्भावना भएपनि युवालाई आकर्षित गर्न नसकिएको गाउँपालिका अध्यक्ष थापा स्वीकारछन् । अध्यक्ष थापा भन्छन्, ‘वास्तवमा नेपालमा सम्भावना नभएको होइन । बाँझिदै गएका यहाँ उर्वर भूमिलाई हरियाली बनाउने र उत्पादित वस्तुको बजारीकरण गर्ने हो भने रोजगारी र आर्थ उपार्जनको सम्भावना ठुलो देखिएको छ। पालिकाले युवाहरुलाई विदेश जान रोक्न र यही केही गर्न सकिन्छ भन्ने हिसावले विभिन्न सीपमुलक तलिमहरु उपलब्ध गरेर उत्पादनसंग जोड्ने, उत्पादित बस्तुको बजारीकरण तथा प्रवर्द्धन गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ ।’

विशेष गरी पालिकाले वडा स्तरबाट लघुउद्यम सम्बन्धी विभिन्न सीपमुलक तालिम सञ्चालन गर्दै आएको छ । बन्दीपुर पर्यटकीय क्षेत्र भएकाले पर्यटन लक्षित बस्तुहरु उत्पादन गर्ने हिसाबले तालिमहरु सञ्चालन गर्ने गरेको अध्यक्ष थापाले बताए । उनले भने, ‘बन्दीपुर बजार, डुम्रे बजार लक्षित गरी तरकारीहरु उत्पादन गर्ने, दुग्द्य व्यवसाय संचालन गर्ने, गाउँगाउँमा उत्पादन भएका बस्तुहरुलाई प्याकेजिङ गर्ने र बन्दीपुरबाटै बजारीकरण गर्ने हिसावले तालिमहरु दिएका छौं । जसअनुसार थाकाल र मकैका खोस्टाहरुबाटा टोपी र झोलाहरु बनाउने तालिम दिइएकोमा तालिममा सहभागिहरुले घरेलु उद्योगकै रुपमा स्थापित भई उत्पादन गर्न थालिसक्नु भएको छ ।’

यस्तै, घरको काममा मात्र सिमित रहेका महिला दिदीबहिनीहरुलाई लक्षित गरी सिलाईबुनाई, बुटिक तथा व्यूटिसियन तालिम प्रदान गरी स्वरोजगार बन्ने अवसर सृजना गरिएको छ । धेरै दिदीबहिनीहरु तालिम पश्चात सानो लागानिमा राम्रो प्रतिफल लिने अवस्थामासम्म पुग्नुभएको अध्यक्ष थापा बताउँछन्।

बन्दीपुरलाई स्वच्छ, सफा राख्नका लागि प्लाष्टिकको प्रयोगलाई हटाउँदै लग्ने तयारी गाउँपालिकाले गरेको छ । प्लाष्टिकको सट्टा कपडा तथा कागजको प्रयोगलाई बढवा दिनका लागि झोला निर्माणका तालिम प्रदान गरिएको छ । प्लाष्टिक रहित बन्दीपुर बनाउने योजना अनुसार धरमपानी, कमलबारी, ब्रच्यगाउँमा टपरी बनाउनका लागि मेशिनहरु उपलब्ध गराउने तयारी भएको अध्यक्ष थापाले बताए ।

धरमपानीमा उत्पादित टपरी बन्दीपुर आइरहेको र ती टपरीहरु बिक्री वितरण भइरहेका छन् । उद्यम र रोजगारीको वातावरण सृजना गर्नका लागि गाउँपालिकाले च्याउ खेती र मौरी पालनलाई पनि व्यवसायिक रुपमा अगाडि बढाउन थालेको छ । पालिकाका कृषक तथा उद्यमीहरुले उत्पादन गरेको वस्तु बन्दीपुर कोशेली घरमा संकलन गरी बन्दीपुर घुम्न आउने पर्यटकहरुलाई बिक्री वितरण गर्ने तथा यहाँ बिक्री नभएका वस्तुलाई अन्यत्र बजारमा पठाउने व्यवस्था मिलाइएको अध्यक्ष थापाले बताए ।

गाउँपालिकाले कृषि, पशुपालन लगायतका क्षेत्रलाई पनि पर्यटनसंगै जोड्दै लगेको छ । आन्तरिक तथा वाह्य पर्यटकको आगमनलाई वृद्धि गर्न तथा पर्यटकको बर्साई लम्ब्याउनका लागि विभिन्न पर्यटन लक्षित पूर्वाधार निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको गाउँपालिकाले युवाहरुलाई रोजगारी दिने उद्देश्यले पर्यटक लक्षित कुकिङ तालिम, अंग्रेजी र चाइनिज भाषा कक्षाहरु समेत सञ्चालन गरेका अध्यक्ष थापा बताउँछन् ।

‘युवाहरुको बढ्दो विदेश मोह, छोटो समयमा राम्रो प्रतिफल खोज्ने जस्ता समस्याहरु देखिएका छन्’, अध्यक्ष थापाले भने, ‘यो समस्यालाई चिर्दै युवालाई आफ्नै थातथलोमा स्वरोजगार बन्ने कार्यक्रम सञ्चालन गर्ने, यही उद्यम गरे आर्थिक उपार्जन हुन्छ भनि विश्वासको वातावरण बनाउने, वैदेशिक रोजगारीमा जाँदाका फाइदा र वेफाइदाका विषयमा युवालाई सचेत गराउने कार्यक्रम पनि भइरहेका छन् ।’

यस्तै, कृषि र पशुपालनका लागि बन्दीपुर उर्वर भूमि हो । यहाँ करिव ४ हजार लिटर भन्दा बढि दुध उत्पादन हुन्छ र यहाँ धेरै दुग्ध व्यवसाय पनि छन् । दुग्ध उत्पादक कृषकलाई प्रोत्साहित गर्नुपर्छ भनेर गाउँपालिकाले उत्पादनमा आधारित भई दुधमा अनुदान दिइएको अध्यक्ष थापाले बताए । उनले भने, ‘कृषि तथा पशुपालनमा कृषकले अनुदान तथा औषधि उपचार पाउन थालेपछि युवाहरु पनि उत्साहित भएर व्यवसायिक रुपमा अगाडि बढेका छन् ।’

बन्दीपुर बाख्रा पालनका लागि पनि उपयोगि हावापानी छ । गाउँपालिकाको ६ नम्बर वडालाई बाख्रा पालनका लागि पकेट क्षेत्र घोषण समेत गरिएको छ । त्यो अनुसार बाख्रका उन्नत जातका बोका, खोर, घाँस प्रवर्द्धन गर्ने कामहरु भइरहेका छन् । गाई, भैसी पनि व्यवसायिक रुपमा पालन गरी दुध उत्पादनमा जोड्दै लगिएको छ भने एउटा नीजि क्षेत्रले याम्पामा दुग्ध प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको अध्यक्ष थापाले बताए । रोजगारीको वातावरण सृजना गर्ने र आर्थिक उपार्जनको मुख्य माध्यम कृषि भएको हुँदा गाउँपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखि काम गर्दै आएको छ । गाउँपालिका क्षेत्रमा अहिले तरकारी धेरै मात्रामा उत्पादन पनि हुन्छ । अहिलेको समस्य भनेको खुल्ला रुपमा तरकारीहरु आयात गरिने र हाम्रा उत्पादनहरुले बजार नपाउने अवस्था रहेको अध्यक्ष थापा बताउँछन् ।

उनले भने, ‘आयतलाई निरुत्साहित गर्न तरकारी व्यपार गर्ने व्यवसायीलाई पालिकामा बोलाएर स्थानीय उत्पादन खरिद गर्ने र यहाँको उपजले नपुगे मात्र बाहिराबाट आयत गर्ने सहमति भएपनि त्यो प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा समस्याहरु देखिएका छन् ।’ हावापानी र माटो सुहाउँदो खेती प्रवर्द्धन गर्ने उद्देश्यका साथ गाउँपालिकाले फलफूल खेतीलाई विस्तार गर्न एक वडा एक नर्सरी कार्यक्रम अगाडि बढाएको अध्यक्ष थापाले बताए । यस्तै, उत्पादित भएका बस्तुहरुलाई बजारसम्म लैजान र बिक्री वितरणको व्यवस्थापनका लागि गाउँपालिकाले बन्दीपुर र डुम्रे बजारम कृषि हाट बजार सञ्चालन गर्ने तयारी गरेको छ ।

यस्तै, पालिका भित्र उत्पादित कृषि उपजहरु कोदे, मकै, धान, भट्टामास, पिडालु, तरुल, सुन्तला तथा अन्य अमिलाजातका उपजलाई सहज रुपमा बजारीकरण गर्ने व्यवस्था गाउँपालिकाले मिलाउँदै लगेको छ । ‘बन्दीपुर पर्यटकीय क्षेत्र भएकाले बन्दीपुर घुम्न आउने पर्यटकहरुले यहाँका स्थानीय उपज तथा हस्तकलाका सामाग्रिहरु कोशेलीका रुपमा लाने प्रचलन बढेको छ । गाउँपालिकाले पनि सोही अनुसार उत्पादित वस्तुको बजारीकरण गर्ने योजना बनाएको छ’, अध्यक्ष थापाले भने, ‘बन्दीपुरका कृषकले उत्पादन गरेका धान, कोदो, मकै, तरकारी तथा फलफूल बन्दीपुरका होटलहरुमा खरिद बिक्री गर्ने व्यवस्था मिलाएका छौ ।’ उनका अनुसार पर्यटकहरुले बाहिरबाट ल्याएको भन्दा स्थानीय उत्पादनका खानाका परिकार रुचाउने र यहाँका होटल व्यवसायीहरुले पनि स्थानीय उत्पादनलाई प्राथमिकता दिंदा कृषि उपजको बजारीकरणमा टेवा पुग्नुका साथै स्थानीय स्तरमै रोजगारी र आर्थिक उपार्जनको माध्यम सहज बन्दै जानेछ ।

गाउँपालिकाले धान, मकै, कोदो, सुन्तला, तरकारी, दुध उत्पादन, बाख्रा, गाईभैंसी पालनका लागि पकेट क्षेत्रकै रुपमा विकास गरी उत्पादनमा आधारित अनुदानको व्यवस्था गरेको छ । कृषकहरुले आधुनिक कृषि औजार, मल, विऊ, औषधि उपचार, कृषि प्राविधिक तथा पशु चिकित्सकहरुको व्यवस्था गरी सहज रुपमा कृषकलाई आवश्यक पर्ने सेवा प्रवाहमा ध्यान दिइएको अध्यक्ष थापाले बताए । बन्दीपुर राजमार्गसंग समेत जोडिएको र पर्यटकीय नगरी समेत भएकाले युवाहरुलाई आफ्नै थातथलोमा स्वरोजगार बनाउन विभिन्न सीपमुलक तालिम प्रदान गरी आर्थिक उपार्जन गर्ने आधारहरु तयार गर्दै गाउँपालिका अगाडि बढेको अध्यक्ष थापा बताउँछन् ।

यस्तै, तालिमको माग र सहभागितामा उत्साहजनक हुने तर, सिकेको सीप व्यवहारमा उतार्न तयार नहुने प्रचलन बन्दीपुरमा पनि रहेको छ । गाउँपालिकाले प्रदान गर्ने विभिन्न उद्यम विकास र सीप मुलक तालिमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि युवाहरुको आवश्यकता र मागमा आधारित रहि तालिमहरु सञ्चालन गर्न थालेको छ । पालिकाको मेड्पा कार्यक्रम मार्फ सिलाईबुनाई, ढाका बुनाई, अचार उत्पादन, हस्ताकलाका सामाग्रि उत्पादन, च्याउखेती, मौरी पालन जस्ता तालिमलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको अध्यक्ष थापाले बताए ।

गाउँपालिकाले युवालाई पर्यटन क्षेत्रसंग जोडेर स्वारोजगार बनाउने योजना पनि बनाएको छ । गाउँपालिकमा पर्यटनसंग लक्षित गरी केवलकार, होटल, सिसाको भ्युटावर, सिद्धगुफा, जिप फ्लायर, मिनीग्रेटवाल, साइकल ट्रेल जस्ता पूर्वाधारहरु निर्माण कार्य अगाडि बढाएको छ । यी क्षेत्रमा युवाहरुलाई जोड्दै रोजगारी प्रदान गर्ने र आर्थिक उपार्जनको माध्यम बनाउने योजनामा गाउँपालिका रहेको अध्यक्ष थापा बताउँछन् ।

‘व्यवसायिक रुपमा कृषि कर्म गरियो भने अहिले बजारीकरणको समस्या छैन । बाँझो जमिनलाई हरियाली बनाउन सकियो भने युवाहरुलाई यहि रोजगार दिन सकिन्छ’, अध्यक्ष थापाले भने, ‘विद्यालयहरुमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन गरिएको छ । यो कार्यक्रमले विद्यालय स्तरबाटै विद्यार्थीलाई पनि व्यवसायिक बनाउन प्रेरित गर्नेछ । पालिकाले नै आवश्यक बजेटको व्यवस्था गरी यो कार्यक्रमलाई विद्यालयस्तरमा थप प्रभावकारी रुपमा सञ्चालन गर्ने योजनामा हामी रहेका छौ ।’

उपाध्यक्ष : पञ्चमाया गुरुङ

गाउँपालिकाले स्थानीस्तरमै रोजगारीको वातावरण सृजना गर्न विभिन्न आयआर्जन र सीप मुलक तालिम सञ्चालन गरेको छ । महिला दिदीबहिनीहरुको नेतृत्वदायी क्षमता विकासका कार्यक्रमसंगै चुरा पोते बनाउने, मकैको खसेल्टाको झोला बनाउने, थाकालको झोला, टोपा बनाउने, सिलाईबुनाई, व्युटिपार्लर, अचार बनाउने तालिम सञ्चालन गर्दै आएको उपाध्यक्ष पञ्चमाया गुरुङ बताउँछिन् ।

तालिममा सहभागि प्रायः सबैले फुर्सदका समयमा घरमै बसिबसि विभिन्न सामाग्रि उत्पादन गरी राम्रो आम्दानी लिन सफल भएको उपाध्यक्ष गुरुङ बताउँछिन् । उनले भनिन्, ‘महिला दिदीबहिनीहरुले चाहे अनुसार र उहाँहरुको मागअनुसारको तालिम दिइरहेका छौं । उद्योग संचालन गर्न चाहनेलाई गाउँपालिकाले अनुदानको व्यवस्था समेत गरेको छ ।’ त्यस्तै महिला सशक्तिकरणको लागि दलित र लक्षित वर्गहरुको लागि सीपमुलक तालिम सञ्चालन गर्दै आइएको छ।

नवेशराज हमाल : प्रमुख प्रशासकीय अधिकृत

पहाडको रानी भनेर चिनिने बन्दीपुर आकर्षक पर्यटकीय गन्तव्य हो । युवाहरुलाई व्यवसायिक कृषि, पशुपालनसंगै पर्यटन क्षेत्रमा समेत जोड्ने गरी कार्यक्रमहरु गाउँपालिकाले सञ्चालन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमाल बताउँछन् । गाउँपालिकाले युवा पलायनलाई ध्यान दिंदै आफ्नै थातथलोमा स्वरोजगार बनाई आर्थिक उपार्जनसंग जोड्नका लागि माग र आवश्यकताको पहिचान गरी विभिन्न लघुउद्यम विकासका कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।

‘पालिकाबाट प्रवाह हुने सेवालाई सहज रुपमा नागरिकलाई उपलब्ध गराउन वडादेखि टोलटोलसम्म पुगेर सेवा प्रवाह गर्दै आएका छौ । वडावडाबाटै सेवा प्रवाह गर्दा नागरिकलाई सेवा लिन सहज भएको छ । सेवाग्राहीका कागजपत्र नमिलेको अवस्थामा सेवा प्रदानको हकमा गाउँपालिकाको आफ्नै कार्यविधि रहेका छन । त्यसमा चल्नै पर्ने हुन्छ । यस्ता समस्या सिर्जना नहोस भनि वडामा नै मिल्ने व्यवस्था मिलाएका छौ’, उनले भने, ‘आयोजना सम्पन्न भएपछि सम्पूर्ण आवश्यक कागजातहरु पेश गरेपछि जनतालाई पठाइदिन्छौ । राज्यको प्रणाली अनुसार सेवाग्राहीलाई सहज हुने हिसाबमा सबै भुक्तानीका कामहरु बैंक खातामा जम्म हुने व्यवस्था मिलाएका छौं ।’

‘गाउँपालिकाको पहिलो प्राथमिकता पर्यटननै छ । बन्दीपुर पर्यटकीय नगरी भएकाले पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेका छौ’, उनले भने, र्’पर्यटनसंगै गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पशुपालनसंगै पूर्वाधार र भौतिक निर्माणलाई पनि प्राथमिकतामा राखेको छ ।’

गाउँपालिकाको आन्तरिक राजस्व कमिको कारण श्रोत, साधनको कमिले गर्दा जति कार्यहरु गर्नुपर्ने हो त्यो हुन सकिरहेको छैन । तथापी बन्दीपुरलाई समृद्धितर्फलैजान कृषि, पर्यटन क्षेत्रमा आम्दानीका श्रोतहरु जुटाउने गरी कार्यक्रम अगाडि बढाइएका छन् । कृषि र पशुपालनलाई पर्यटनसंग जोड्दै लग्दा बसाइसराइ कम हुने, जग्गाजमिन बाँझो नहुने, आफ्नै थातथलोमा युवाहरुलाई रोजगारीको वातावरण सृजना हुनुका साथै आर्थिक उपार्जनको माध्यम पनि बलियो हुने हुँदा गाउँपालिकाले यी क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाएको उनले बताए ।

‘गाउँपालिकाले स्वास्थ्य सेवा सहज बनाउँदै लगेको छ । पालिकाको राजश्व संकलन गर्ने क्षेत्र कमीका कारण विकास निर्माण कार्यमा चुनौती देखिने गरेका छन्’, प्रमुख प्रशासकीय अधिकृत हमालले भने, ‘गाउँपालिकाको आन्तरिक आयश्रोत वृद्धि गर्ने मुख्य श्रोत नदीजन्य वस्तु ढुंगागिटी बालुवा भएपनि त्यसको उचित व्यवस्थापन हुन सकेको छैन । गाउँपालिकाले पर्यटन, व्यापार व्यवसायमा नै बढी जोड दिएको छ । मुख्य त संघ र प्रदेशबाट तोकिएको बजेटले भन्दा आन्तरिक श्रोत वृद्धि गर्न सकियो भने गाउँपालिकाका प्राथमिकताका क्षेत्रमा काम गर्न सहज हुने देखिएकाले सोही अनुरुप हामी अगाडि बढेका छौं ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker