मानवअधिकार वर्ष पुस्तकको पूर्व वार्षिक समिक्षा

- भञ्ज्याङ समाचारदाता (दमौली)
मानवअधिकार वर्ष पुस्तकको लागि संकलित घटनाहरुको पुर्व वार्षिक समिक्षा तथा जिल्लाको मानवअधिकारको अवस्थाको विषयमा अन्तरक्रिया कार्यक्रम विहीबार दमौलीमा गरिएको छ । मानवअधिकार वर्ष पुस्तकको लागि संकलित घटनाहरुको बारेमा सरोकारवाला निकायको सुझाव संकलन गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले मानवअधिकारले नछोएको कुनै क्षेत्र नहुने भन्दै यो सबैसँग सम्बन्धित र सबैको सरोकारको विषय भएको बताएका छन् । राज्य नै मानवअधिकारको मुख्य संरक्षक भएको भन्दै मानवअधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरु नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको बरालले बताए ।
उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला कार्यालय सदस्य विष्णुभक्त सिग्देलले इन्सेकले उपलब्ध गराएको तथ्यांक सहितको प्रतिबेदनले राजनीतिक पार्टीलाई पनि आफ्नो बैठकहरुमा छलफल गर्ने आधार हुने बताएका छन् । उनले यो प्रतिबेदनले जिल्लाको मानवअधिकारको अवस्थाको बारेमा प्रष्ट हुने भन्दै उनले मानवअधिकारको विषय विश्वव्यापी र सबैकालागि भएको हुँदा राज्यले यसमा विभेद गर्न नहुने बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले नेपाल प्रहरीलाई मानवअधिकार उल्लंघनकर्ताको रुपमा आरोप लागेपनि मानवअधिकारको वास्तविक संरक्षक नै प्रहरी भएको बताए । प्रहरीले जनताको मानवअधिकारको संरक्षणको दायित्व लिएर बसेको उनको भनाई थियो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय तनहुन्का प्रमुख शंकरबाबु अधिकारीले कोभिडको बाहानामा नागरिकको स्वास्थ्य उपचारको अधिकार हनन् नगर्ने प्रति सबै स्वास्थ्यकर्मीलाई सचेत गराइएको बताए । स्वास्थ्य संस्थाहरुमा निःशुल्क औषधीको व्यवस्थापन गरिएको समेत उनले बताए । दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदिपराज अधिकारीले इन्सेकको प्रतिबेदनले सबै कुराहरुलाई स्पष्टका साथ समेटिएको बताए ।
मानवअधिकार निगरानी समुहका संयोजक रामलिला सुवर्णकारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघकी अध्यक्ष बसुन्धरा घर्ती, नेपाल पत्रकार महासंघकी उपाध्यक्ष सोनी शर्मा लगायतले इन्सेकको प्रतिबेदनको महत्वका विषयमा आ-आफ्ना धारणा राखेका थिए । इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराइले सन २०२० को तनहुँको जिल्लाको मानव अधिकारको अवस्था तथा मानवअधिकार वर्ष पुस्तकको लागि संकलित घटनाहरुको प्रतिबेदन सहभागिहरुलाई सहजिकरण गरेका थिए ।










