बन्दिपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको बन्दिपुर गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग बन्दिपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग गरेको छ। बन्दिपुर अस्पतालमा विगत लामो समयदेखि मेडिकल सुपरिटेण्डेन्ट पद रिक्त रहेको साथै स्थायी दरबन्दीमा रहेका मेडिकल अधिकृत (आठौँ तह) दुवै अध्ययनमा रहेकाले गाउँपालिकाले मन्त्रालयसँग चिकित्सक माग गरेको हो ।

अस्पतालमा हाल करारमा कार्यरत चिकित्सकहरूको पनि सेवा समाप्त हुने अवधि नजिक रहेकाले दैनिक स्वास्थ्य सेवा प्रवाहमा अप्ठयारो परेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । उनले भने, ‘अस्पतालमा चिकित्सक अभाव र स्वास्थ्य सेवा प्रवाहमै समस्या आउने भएपछि स्वास्थ्य सचिवलाई भेटी चिकित्सकको माग गरेका हौं ।’

अस्पतालमा मेडिकल सुपरिटेण्डेन्टसहित छ मेडिकल अधिकृतको दरबन्दी रहेकामा अस्पताल लामो समयदेखि मेडिकल सुपरिटेण्डेन्टविहीन छ । दुइ जना मेडिकल अधिकृत छात्रवृत्तिमा अध्ययनका लागि बिदामा छन् । हाल तीन मेडिकल अधिकृत कार्यरत छन् ।

छात्रवृत्तिका लागि गएका दुइ चिकित्सकको दरबन्दी प्रदेशमा स्थानान्तरण गरी दुइ चिकित्सक नियुक्तिका लागि मन्त्रालयसँग अनुरोध गरिएको अस्पताल व्यवस्थापन समितिका थापाले बताए । उनले भने, ‘अस्पतालबाट सबै विवरणसहित पत्र लेखेर मन्त्रालयमा पठाएपछि उनीहरूलाई प्रदेशमा स्थानान्तरणका लागि सहयोग गर्ने स्वास्थ्य सचिवबाट प्रतिबद्धता आएको छ, त्यसपछि त्यस ठाउँमा अर्को चिकित्सक नियुक्ति हुनेछ ।’

विसं २०२२ मा स्थापना भएको बन्दिपुर अस्पतालका भवन जीर्ण भएकाले भवन निर्माणका लागि बजेट विनियोजन गरिदिन पनि मन्त्रालयसँग माग गरिएको छ । विसं २०७२ को भूकम्पका कारण पनि भवनमा थप क्षति भएकाले सेवा प्रवाहका कठिनाइ भएको गाउँपालिकाका अध्यक्ष थापाले बताए । स्थापनाकालदेखि निर्मित भवनबाट नै हालसम्म सेवा सञ्चालन भइरहेको र भवन जीर्ण भइसकेको अवस्था छ, नयाँ भवन निर्माण गर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष थापाले बताए ।

यस्तै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रसँग क्षयरोगी पहिचानका लागि जेनेक्सपर्ट उपकरण माग गरिएको छ । बन्दिपुर अस्पतालमा क्षयरोगीको संख्या दिनानुदिन बढ्दै गइरहेको र बन्दिपुरमै डिआर होम सञ्चालनमा रहेकाले क्षयरोगी पहिचानका लागि उक्त उपकरण आवश्यक भएको जनाइएको छ । बन्दिपुर अस्पतालमा तनहुँका अतिरिक्त गोरखा, लमजुङबाट पनि क्षयरोगी उपचारका लागि आउने गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker