डुम्रे प्रहरीद्वारा ३७ जना फरार प्रतिवादी पक्राउ

- भञ्ज्याङ समाचारदाता (डुम्रे)
इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे तनहुँले साँढे २ महिनाको अवधिमा विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी रेहका ३७ जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
तनहुँ प्रहरीले जिल्लामा फरार प्रतिवादिहरुलाई पक्राउ गर्ने अभियाननै चलाएको छ । यही अभियान अन्तरगत डुम्रे प्रहरीले आइतबार एकै दिन ८ जना फरार प्रतिवादीहरु पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा सवारी ज्यान मुद्दाको १ जना, सम्बन्ध विच्छेदको १ जना, बहुविबाह मुद्दाका १ जना, लुटपिट मुद्दाका ४ जना र जालसाजी मुद्दाका १ जना रहेको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी गराए।
करिब साँढे २ महिनाको अवधिमा प्रमुख भुसालको नेतृत्वमा परिचालित टोलीले ३७ जना फरार प्रतिवादिहरुलाई पक्राउ गर्न सफल भएको बताइएको छ । यस अबधिमा सवारी ज्यान मुद्दाका ९ जना, लागु औषधका ३ जना, ज्यान सम्बन्धी मुद्दाका ४ जना, जवरजस्ती करणी मुद्दाका १ जना, चोरी मुद्दाका १ जना र अन्य मुद्दाका १९ जना पक्राउ गरिएको सहायक प्रहरी निरीक्षक दिनेश पौडेलले बताए ।
पक्राउ परेकाहरुबाट हुन आउने कैद ५ वर्ष १० दिन र जरिवाना २ लाख ४३ हजार ९४४ रुपैयाँ असुल र कैद भुक्तानका लागि तनहुँ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय तनहुँमा पेश गरिएको बताइएको छ ।