तनहुँको दुबुङमा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
भञ्ज्याङ समाचारदाता/ऋषिङ

तनहुँको ऋषिङ गाउँपालिका-३ दुबुङमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा ३३२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । रोटरी क्लव अफ दमौलीले शनिबार विशेषज्ञ चिकित्सक सहितको शिविर सञ्चालन गरेको हो ।
शिविरमा ६ महिनाको शिशुदेखि ९७ वर्षीय वृद्धसम्मको स्वास्थ्य परीक्षण गरिएको क्लवका अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए । शिविरमा नाक, कान, घाँटी, थाइराइड विशेषज्ञबाट उपचार तथा परामर्श, स्त्री तथा प्रसुती रोग विशेषज्ञबाट महिलाहरूको स्वास्थ्य परिक्षण, आँखा सम्बन्धी रोगको परिक्षण, सामान्य पेट, छाती तथा मुटु रोगको परीक्षण साथै निःशुल्क औषधी र चस्मा वितरण गरिएको थियो ।
यस्तै, शिविरमा निःशुल्क भिडियो एक्सरेका साथै रगत तथा प्रेसर पनि परीक्षण गरिएको थियो । सो अवसरमा १०२ जनाको आँखा जाँच, ५० जना महिलाको स्त्री रोग परीक्षण, ११६ जनाको पेट, छाती तथा मुटु रोगको परीक्षण, ६४ जनाको भिडियो एक्सरे, ८२ जनाको रगतमा सुगर परिक्षण गरिएको कार्यक्रम संयोजक हरिसिं गुरुङले बताए ।
शिविरमा स्वास्थ्य परीक्षणका लागि आएका सेवाग्राहीलाई करिब १० लाख रुपैयाँ बराबरको औषधी समेत वितरण गरिएको आयोजकले बताएको छ । शिविर सम्पन्न पश्चात बाँकी औषधी मौरीवास आधारभूत स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको छ ।
स्वास्थ्य परीक्षणको क्रममा अधिकांश बिरामीले आफ्नो समस्या लामो समयसम्म लुकाएर राखेको पाइएको गण्डकी मेडिकल कलेजकी स्त्री रोग विशेषज्ञ डा स्मारिका आचार्यले बताइन । उनले भनिन्, ‘परिक्षण भएका मध्ये अधिकांशमा पाठेघरको संक्रमण देखिएको छ । विशेष गरी स्त्री रोग भएका महिलाहरुले आङ खस्ने समस्या हुँदासम्म पनि पीडा सहेर बसेको स्थानीय ५६ वर्षीया तीर्थमाया मगरको कुराबाट पनि स्पष्ट हुन्छ । उनलाई १० वर्ष पहिलादेखि नै तल्लो पेट दुख्ने समस्या सुरु भएको भएपनि उपचारको प्रक्रिया यही वैशाखबाट मात्र सुरु गरिएको छ ।’
यस्तै, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले शिविरको उद्घाटन गर्दै रोटरीसँगको सहकार्य र सद्भाव निरन्तर रहने बताए । स्वास्थ्य सेवा लिन अस्पताल जान नसक्ने अवस्थामा रहेका नागरिकलाई लक्षित गरी रोटरीले शिविर ल्याएकोमा आभार व्यक्त गरे ।
कार्यक्रममा रोटरि क्लब रिप्ले वेष्ट भर्जिनिया अमेरिकाका पूर्व अध्यक्ष चक रे कर्नरले वास्तवमै स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई रोटरी दमौलीले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरी उत्कृष्ट काम गरेको बताए । क्लबका अध्यक्ष रमेशकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा पालिकाकी उपाध्यक्ष गिनुमाया थापा, वडाध्यक्ष भिम बहादुर थापा, जोन २२ का असिष्टेन्ट गभर्नर इमकुमार मल्ल, आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खले लगायतले ग्रामीण क्षेत्रका र्सवसाधारको पहुचमा सहज रुपमा स्वास्थ्य सेवा पुर्याउने सबैले आ-आफ्नो ठाउँबाट हातेमालो गर्नुपर्नेमा जोड दिए ।
आदिकवि भानुभक्त क्याम्पस मितेरी गाउँ, लालीगुराँस आमा समूह र शान्ति सेवा युवा क्लबले स्थानीय रूपमा शिविरलाई सहयोग गरेका थिए । २००० सालमा स्थापित रोटरी दमौलीले विशेषज्ञ चिकित्सको पहुँचबाट टाढा रहेका विकट गाउँबस्तीमा निरन्तर निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गर्दै आएको छ ।
यस्तै, रोटरी क्लब अफ दमौलीले एक दृष्टिविहीन गर्भवती महिलालाई आर्थिक सहयोग गरेको छ । रोटरीको निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षणका लागि आएकी ऋषिङ-२ काहुँकी २७ वर्षीया विष्णुमाया मोपांकलाई क्लबले १२ हजार एक सय रुपैइाँ आर्थिक सहयोग गरेको हो ।
केही समयअघि सुगर रोगका कारण आखाँको ज्योति गुमाएकी उनको घरको आर्थिक अवस्था नाजुक रहेको र गर्भको पनि ९ महिना चलिरहेको कारण उनलाई मानवीय भावनाले सहयोग गरेको क्लबका अध्यक्ष रमेशकुमार श्रेष्ठले जानकारी दिए । उनको ५ वर्षीया छोरी पनि बहुआपंगता भएकी छन् भने अहिले उनी आफ्नी आमासँग बस्दै आएकी छन् ।










