ग्रामीण पर्यटन प्रवर्द्धनका लागि आदिकवि भानुभक्त क्याम्पसद्वारा बर्च्याङमा मगर संस्कृति चिनारी कार्यक्रम

दमौली : ग्रामीण पर्यटनको प्रवर्द्धनसँगै मगर समुदायको भाषा, संस्कृति र जीवनशैलीलाई उजागर गर्ने उद्देश्यले सोमबार साँझ तनहुँको म्याग्दे गाउँपालिका–३ स्थित बर्च्याङ गाउँमा ‘ग्रामीण पर्यटन प्रवर्द्धन तथा मगर संस्कृति चिनारी कार्यक्रम’ गरिएको छ ।
व्यास–१ दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसले आदिवासी जनजातिको भाषा, संस्कृति, कला, साहित्य तथा ग्रामीण पर्यटनको संरक्षण, प्रवर्द्धन र विकासका लागि वार्षिक कार्ययोजना अनुरूप कार्यक्रम सञ्चालन गर्दै आएको सन्दर्भमा बर्च्याङमा उक्त कार्यक्रम आयोजना गरेको हो ।
क्याम्पसले समुदायसँग सहकार्य गर्दै स्थानीय स्रोत, संस्कृति र पहिचानलाई शैक्षिक अभ्याससँग जोड्ने प्रयासस्वरूप कार्यक्रम अघि बढाएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी गराए ।
बर्च्याङ होमस्टे व्यवस्थापन समितिका अध्यक्ष गिरबहादुर थापाको अध्यक्षतामा आयोजि कार्यक्रममा पर्यटनविद् हरिसिंह गुरुङले ग्रामीण पर्यटनको अवधारणा, सम्भावना र दिगोपनाका आयामबारे प्रकाश पारेका थिए । उनले गाउँको मौलिकता, स्थानीय उत्पादन र सांस्कृतिक पहिचान जोगाउँदै पर्यटक आकर्षित गर्न सकिने धारणा व्यक्त गरे ।

त्यसैगरी व्यास नगर मगर संघका अध्यक्ष तथा क्याम्पस सञ्चालक समितिका सदस्य क्याप्टेन सोमबहादुर थापाले मगर समुदायको रीतिरिवाज, चालचलन, भाषा, पेशा तथा संस्कारबारे सहभागीलाई जानकारी गराए । उनले परम्परागत ज्ञान र संस्कृतिलाई पुस्तान्तरण गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे ।
कार्यक्रममा तनहुँ, लमजुङ, कास्की, गोरखा र नवलपुरका २० वटा सामुदायिक क्याम्पसका ३० जना प्राध्यापक र २ जना कर्मचारीको सहभागिता रहेको थियो । साथै बर्च्याङ होमस्टे व्यवस्थापन समिति र स्थानीय गाउँलेहरूको पनि उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमको औचित्यबारे क्याम्पस प्रमुख हड्खलेले बोल्दै ग्रामीण पर्यटनलाई शैक्षिक अध्ययन, अनुसन्धान र सामुदायिक सशक्तीकरणसँग जोड्नुपर्ने आवश्यकता औल्याए । उनले क्याम्पस र समुदायबीच सहकार्य सुदृढ गर्दै स्थानीय स्रोतसाधनको पहिचान र प्रवर्द्धनमार्फत दिगो विकास सम्भव रहेको धारणा राखे ।
समुद्री सतहबाट करिब ९५० मिटर उचाइमा अवस्थित बर्च्याङ होमस्टेमा ८५ घर मगर समुदायको बस्ती रहेको छ । तनहुँको सदरमुकाम दमौलीबाट करिब ७ किलोमिटर दूरीमा रहेको यो गाउँ प्रख्यात पर्यटकीय स्थल मानुकोटबाट करिब ३ किलोमिटर दुरीमा पर्छ ।

म्याग्दे गाउँपालिकाले बच्र्याङलाई सुन्तला खेतीको पकेट क्षेत्र घोषणा गरेको छ । यहाँ पीडालु, तोरी, कोदो, मकै, मास र फापरजस्ता रैथाने बालीको उत्पादन हुँदै आएको छ । कृषि उत्पादन, मौलिक खानपान र मगर संस्कृति समेटिएको बच्र्याङ गाउँ कृषि पर्यटनका लागि उपयुक्त गन्तव्यका रूपमा विकास हुँदै गएको स्थानीयको भनाइ छ ।
जलवायु तथा वातावरणमैत्री कृषिमा अग्रसर बच्र्याङले ग्रामीण पर्यटन र परम्परागत संस्कृतिलाई सँगै अघि बढाउँदै नमूना गाउँका रूपमा परिचित हुने अपेक्षा गरिएको छ ।










