मानव वन्यजन्तु द्वन्द्व : “चितुवाले चिथोरेको घाउमा खत त बस्यो, तर मनबाट डर हटेन”

नारायण खड्का/तनहुँ

‘चितुवाले चिथोरेको घाउमा खत त बस्यो, तर मनबाट डर हटेको छैन’, जंगल नजिकै सानो झुप्रोमा दुइ नातिका साथमा बस्दै आएकी भानु नगरपालिका-२ ठुलोबगैंचाकी ५५ वर्षीया दिलमाया राइ भन्छिन, ‘अहिले चितुवाको आक्रमण त घटेको छ तर, मनबाट डर अझै हट्न सकेको छैन ।’ तीन वर्ष अगाडि काँखमै खेल्दै गरेको छ वर्षको नातिलाई साँझ पर्ने बित्तिकै चितुवाले आक्रमण गरी घाइते बनाएको त्यो कहाली लाग्दो दिनको डर दिलमायाँको मनमाबाट अझै हट्न सकेको छैन ।

२०७६ साउन १२ गते घरको पिंढीमा दुइ दाजुभाई खेलिरहेका थिए । दिलमाया उनीहरु नजिकै बसेर साँझको खाना पकाउँदै थिइन् । गाउँ भरी चितुवा आतंक फैलिएको थियो । दिलमाया एकसुरमा खाना पकाउँदै थिइन् । त्यति नै बेला चितुवाले ६ वर्षीय सानो नातिलाई आक्रमण गरी लग्यो । ९ वर्षको ठुलो नाति एक्कासि बाघ भनेर करायो तर, नाति पनि त्यो भन्दा बढी बोल्न सकेन । हातमा आगोको अगुल्टो लिएर कराउँदै दिलमाया चितुवाको पछि लागिन । चितुवाले नातिलाई कता लग्यो भेउ पाउन सकेकी थिइनन् । घरमाथि नजिकै जंगल भएका कारण पक्कै त्यतै लग्यो होला भनि उनी हारगुहार गर्दै जंगलतर्फ उकालो लागिन ।

‘म अझै त्यो दिन भुल्न सक्दिन’, दिलमाया भन्छिन्, ‘काँखैको नाति चितुवाले खोसेर लगेको थियो । चितुवाले घरघरमा आएर बालबालिकालाई मारेको सुनेको थिए । मेरो पनि मनमा चिसो पस्यो । नातिलाई जीवितै भेट्छु भन्ने आश त मरिसकेको थियो तर, आज म चितुवालाई जसरी पनि मार्छ भनेर चितुवामाथी जाइलाग्न अगाडि बढे ।’

‘चितुवाले नातिलाई घिसार्दै घरमाथीको जंगलमा पुर्‍याइसकेको रहेछ, म पछि पछि कराउँदै गएको थिए’, उनले भनिन्, ‘म कराउँदै आएको देखेर चितुवाले नातिलाई त्यही छाडेर गएछ । नातिको घाटी र टाउकोमा नङ्गरा र दात गाढी घाइते बनाएको थियो । बेहोस अवस्थामा भेटिएको नातिलाई तत्कालै छिमेकीको सहयोगमा उपचारका लागि डुम्रे लगे । डुम्रेबाट थप उपचारका लागि चितवनस्थित सिएमसिमा पुर्‍याएपछि मेरो नाति बाँच्यो ।’

चितुवाले काँखैबाट नाति खोसेर लगेको दिलमायालाई हिजै जस्तो लाग्छ । बैदेशिक रोजगारीमा गएकी छोरीका दुइ छोराको पालनपोषण र शिक्षादिक्षा गर्दै आएकी दिलमाया अहिले पनि साँझ पर्दानपर्दै चितुवा आइहाल्छ कि भन्ने त्रासमा रहन्छिन् । उनले भनिन्, ‘दिउँसोको समयमा नातिहरु आफै विद्यालय जानेआउने गरेपनि घरमा भएको समयमा एकैछिन कतै गए भने मनमा डर जागिहाल्छ, कतै चितुवाले दाउ पो हेरेर बसेको छ कि ?’

यस्तै, चितुवाले चिथारेको दायाँ हातको घाउ अझैपनि दुख्ने गरेको व्यास नगरपालिका-११ की ४९ वर्षीय दिलमाया गुरुङ बताउँछिन । गत भदौं १२ गते राती घरको बराण्डमा सुतिरहेको ठाउँमा चितुवा आएर उनका ९ वर्षीय छोरा शंकरलाई आक्रमण गर्‍यो । संगै सुतेको छोरालाई चितुवाले खोस्न थालेपछि उनि चितुवामाथि जाइलागिन र छोराको ज्यान बचाइन । त्यही क्रममा उनको पनि दायाँ हातमा चितुवाले चिथोरेको थियो ।

‘घाउ त ओभानो भइसकेको छ, तर कहिलेकही दुख्ने गर्छ’, उनले भनिन्, ‘यो घाउ र दुखाइ भन्दा पनि मेरो छोरा आज जीवित छ, मेरा लागि यो नै ठुलो कुरा हो ।’ त्यसयता आफुले चितुवा नदेखेपनि गाउँलेले चितुवा देखेको भन्दा कतै चितुवा फेरि घरमै आइहाल्छ कि भन्ने त्रास भने अझै कायमै रहेको छ । गुरुङले भनिन्, ‘त्यस घटनापछि छोरा पनि डराउने गर्छ । कही कतै एक्लै जान मान्दैन । म पनि पहिलेभन्दा बढि सतर्कता अप्नाउँछु ।’

२०७४ फागुन १ गते शिवरात्रीका दिन भानु-३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठलाई चितुवाले आक्रमण गरी ज्यान लियो । यो घटना तनहुँको पहिलो हो । घरबाट ५ सय मिटर पर रहेको मामाघर गएका विशाललाई मामाघर नजिकैको खोल्साबाटै चितुवाले आक्रमण गरी करिव १५० मिटर पर पुर्‍याएको थियो । दायाँ साप्रा खाईसकेको अवस्थामा विशालको शव भेटियो। यो घटनाले विशालको आमाबुबा विरेन्द्र र रुपा श्रेष्ठको मनमा ठुलो आघात पुर्‍यायो ।

चितुवाको आक्रमण यतिमै सिमित रहेन । वि.सं. २०७४ फागुन यता चितुवाको आक्रमणमा परी १४ जना बालबालिकाले ज्यान गुमाएका छन् । यो अवधिमा चितुवाको आक्रमणमा परी १६ जना बालबालिका घाइते भएका छन् । जिल्लाको भानु नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ क्षेत्रमा चितुवाको आतंक बढि थियो । यस क्षेत्रमा अहिले चितुवा आतंक केही कम भएपनि जिल्लाको आँबुखैरेनी, बन्दिपुर, व्यास र शुक्लागण्डकी क्षेत्रमा चितुवाले बालबालिकालाई निशाना बनाउँदै आएको छ । चितुवाको आक्रमणमा परी ज्यान गुमाउने र घाइते हुनेमा करिव २ देखि १२ वर्ष उमेरसमुहका बालबालिका छन् । विशेष गरी चितुवा बिहान र साँझपखको झिसमिसे अध्याँरोको समयमा मानवबस्तिमै आएर खेलिरहेका बालबालिकालाई आक्रमण गर्ने गरेको छ ।

चितुवाको आक्रमणबाट वि.सं. २०७४ यता भानुमा ६, आँबुखैरेनीमा एक, बन्दिपुरमा ४, शुक्लागण्डकीमा २ र व्यासमा एक गरी १४ जना बालबालिकाले ज्यान गुमाइसकेका छन् । यस अवधिमा करिव २०५ वटा घरपालुवा जनवारलाई चितुवाले मारेको छ । घरबस्तीमै यसरी चितुवा आएर किन मानिसलाई आक्रमण गर्न थाल्यो स्थानीयले अझै भेउ पाउन सकेका छैनन् ।

चितुवा नियन्त्रणका प्रयास

चितुवा मानवबस्तिमै आएर आक्रमण गरी बालबालिकाको ज्यानै लिन थालेपछि सरोकारवाला निकायले चितुवा नियन्त्रणका लागि विभिन्न उपायहरु अप्नाएका थिए । जंगलमा फुट ट्रयाप, क्यामेरा ट्रयापिङ, विशेष सुरक्षा दस्ता परिचालन, बाख्रा सहित खोरमा पासो थाप्ने, वनमा पानीपोखरी निर्माण गर्ने, घरवरापराका झाँडी फडानी तथा सरसफाई, जनस्तरमा सचेतना लगायतका काम भएपनि चितुवा आतंक अझै न्यूनिकरण हुनसकेको छैन ।

भानु नगरपालिकाले वन्यजन्तुबाट मानवमा भएको क्षति न्यूनिकरण, व्यवस्थापन समिति नै गठन गर्‍यो । उक्त समितिले वडा नं. १, २, ३ र ४ का वडा अध्यक्षहरुको नेतृत्वमा चितुवा हिड्ने सम्भावित स्थानमा गौडा कुरी स्थानीय शिकारी, सशस्त्र प्रहरी वल, नेपाल प्रहरी र जनसमुदायको संयुक्त गस्ती गर्दै सम्भव भएसम्म नियन्त्रणमा लिने नभए मार्नेसम्मको निर्णय गरे।

यस्तै, जिल्ला प्रशासन कार्यालय तनहुँले २०७६ असोजमा नरभंक्षी चितुवा मार्न निर्देशन दिएको थियो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ९(४) बमोजिम हिंस्रक नरभंक्षी चितुवालाई मारी मृत चितुवा डिभिजन वन कार्यालय तनहुँमा बुझाइदिन भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँलाई पत्रचार गरिएको थियो । तर, चितुवा आक्रमण भने नियन्त्रणमा आउन सकेको छैन ।

चितुवाबाट बच्न देवीको पुजा

नरभंक्षी बनेको चितुवा नियन्त्रणका लागि सरोकारवाला निकायले गरेक अनेक प्रयासबाट पनि चितुवा आतंक नरोकिएपछि गाउँलेले देवीलाई सम्झना पुगे । भानुको वडा नम्बर १, २, ३ र ४ मा करिव डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट ६ जना बालबालिकाले ज्यान गुमाएका थिए भने ७ जना घाइते भएका थिए । चितुवाको आक्रमणबाट आफु र बालबालिकालाई पनि जोगिनाका लागि गाउँलेले देवीदेवताको पूजाअर्चना र भाकल गर्न थाले ।

चितुवा नियन्त्रणमा विभिन्न प्रयासहरु गर्दापनि चितुवाको आक्रमण नरोकिएपछि देवीदेवता रिसाएकाले यो विपत्ति आएको भन्दै २०७६ कात्तिक १९ गते गाउँलेले सामुहिक रुपमा भयर र कालिका देवीको पुजा गरे । चितुवाले दुःख दिएपछि देवी खुशी पार्न भन्दै भानु-२ नारेश्वरटार स्थित थक्रेक कालिका देवीको मन्दिर र भानु-१ स्थित भिमसेन थुम्की मन्दिरमा भयरको कोरीपूजा गरेका थिए । भानु-१ का सुरेन्द्र बोहोराले भने, ‘देवी रिसाएर गाउँमा चितुवा आतंक बढेको हो कि भनि हामी गाउँले भेला भएर देवीलाई खुशी पार्न पूजा गरेका थियौं ।’

स्थानीय प्रशासन, डिभिजन वन कार्यालय, नगरपालिका तथा स्थानीय बासिन्दाले समेत चितुवा नियन्त्रणका लागि विभिन्न उपायहरु अपनाइसकेका थिए । तर, पनि नरभंक्षी चितुवा नियन्त्रणमा नआएको र झनझन घरघरमै आई बालबालिकालाई आक्रमण गर्न थालेपछि गाउूलेहरु देवीको शरणमा पुगेका थिए । ‘आधुनिक युग भएपनि हामीले हाम्रा बालबच्चा गुमाउनु पर्दा अन्धविश्वासी जस्तै भयौं’, बोहोराले भने, ‘त्यस पुजायता भानुमा चितुवाले घरपालुवा जनवार मारेपनि बालबालिकालाई भने आक्रमण गरेको छैन । देविकै शक्तिले गर्दा यस्तो भयो कि भन्ने हामीलाई पनि लागेको छ ।’

भानु-२ मा करिब २५० घरधुरीका बासिन्दाले देवीलाई खुशी पार्न २ वटा बोकाको बलि दिएका थिए । प्रायः चैते दशैंमा पञ्चवली सहित यो मन्दिरमा स्थानीयले पूजाअर्चना गर्ने गरेतापनि पुरोहित बोलाएर चण्डीपाठ भने गरिएको थिएन । चतै दशैंमा पुजा गर्दा विधी नपुगेर देउता रिसाएर देवीले श्राप दिएकी हुन कि भनेर त्यो बेला गाउूलेहरुले ३ जना पुरोहित बोलाएर चण्डीपाठ र हवन समेत गरेको भानु-२ नारेश्वरटारकी सिता अधिकारीले बताइन् । यसैगरी भानु-१ स्थित भिमसेन थुम्की मन्दिरमा भिमसेन थुम्की सामुदायिक वनमा आवद्ध १० वटा टोल सुधार समितिले प्रति टोल १/१ वटा बोका बलि दिएर भयरको पूजाअर्चना गरेका थिए ।

साँझ नपर्दै गाउँ सुनसान

२०७६ असोजबाट भानुका ४ वटा वडा साँझ नपर्दै सुनसान हुन्थे । साँझ ५ देखि ७ बजेको समयमा चितुवा मानव बस्तिमा आई घरको पिढी र आँगनमा खेल्दै गरेका बालबालिकालाई आक्रमण गरी ज्यानै लिन थालेपछि हामी साँझ पर्न नपाउँदै झ्याल ढोका थुनेर घर भित्र बस्न बाँध्य भएको भानु-२ कि सिता अधिकारीले बताइन् । ‘चितुवा प्रभावित क्षेत्रका अधिकांश गाउँबस्ति साँझ ५ बझ्न नपाउँदै प्रायः सुनसान हुने गर्दथे’, उनले भनिन्, ‘त्यो एक वर्षको समय त आफ्नै घरमा बस्दा पनि जेलमै बसेको जस्तो हुथ्यो । खाना पकाउने, खाने, बालबच्चा खेल्नेदेखि दिशापिसाव पनि घरभित्रै हुथ्यो ।’

विगतका दिनलाई स्मरण गर्दै भानु-२ फुस्रेटारका ७४ वर्षीय सुर्जकुमार श्रेष्ठ भन्छन्, ‘घरमा हामी बुढाबुढी मात्रै थियौ । शौचालय घरभन्दा अलिक पर थियो । रातीको समय शौच लाग्यो भने बहिरा निस्कनै डर भएकाले घरभित्रै एउटा कुनामा शौचको व्यवस्था मिलाएका थियौं ।’ ग्रामीण क्षेत्रका बासिन्दामा शौचालय घरभन्दा टाढा बनाउनुपर्छ भन्ने सोचका कारण घरबाट ५० मिटर परा शौचालय बनाएपनि चितुवा आतंक पश्चात यस क्षेत्रका बासिन्दाले घर नजिकै शौचालय बनाउन थाले। श्रेष्ठले भने, ‘नयाँ घर बनाउनेले त घरभित्रै शौचालय बनाएका छन् तर पुराना घरहरुले पनि अहिले घरछेउमै शौचालय सारेका छन् ।’

वन्यजन्तुलाई वनमै पानीपोखरी

मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन कार्यालय तनहुँले जिल्लाका सामुदायिक वन क्षेत्रमा १७ वटा पोखरी निर्माण गरेको छ । वन्यजन्तुलाई वनमै पानीको व्यवस्थापन गर्ने उद्देश्यले जिल्लाको भानुमा ११, व्यास नगरपालिकामा ४ र म्याग्दे गाउँपालिकामा २ वटा पोखरी बनाइएको डिभिजन वन अधिकृत कोमलराज काफ्लेले बताए । यसका लागि कार्यालयले १३ लाख ७४ हजार २२० रुपैयाँ खर्च गरेको छ । ‘सामुदायिक वन क्षेत्रमा बनाइएका पोखरीमध्ये २५ प्रतिशत पोखरीमा बाह्रै महिना पानी हुन्छ । अन्यमा बर्खायाममा आकाशबाट झर्ने पानी संकलन हुने र त्यही पानी जमिनभित्र गएर अन्य पानीका मुहानलाई रिचार्ज गर्ने काम पनि भएको छ ।’

पानी र आहाराको खोजीमा वन्यजन्तु विशेष गरी चितुवा मानव बस्तीमा आएर आक्रमण गरी ज्यानै लिन थालेपछि यसको न्यूनीकरणका लागि पानीका मुहान संरक्षण तथा पानीपोखरी निर्माण गरिएको उनले बताए । वनमै पानीपोखरी निर्माण गर्दा मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणका लागि मात्रै नभई पर्यावरणीय हिसाबले पनि महत्वपूर्ण रहेको उनले बताए। उनले भने, ‘पोखरीमा अन्य वन्यजन्तुजस्तै चराचुरुंगी पनि आउँछन् । चराले बिस्ट्याउँदा त्यस ठाउँमा फलफूलका बिरुवा उम्रन्छन् । विभिन्न वन्यजन्तु पानीका लागि पोखरीमा आउँदा चितुवा पनि त्यतै भुल्ने र आहारा खोज्दै मानव बस्तिमा आउँदैन ।’

चितुवालाई पासोमा पार्न पराम्परागत काठको खोर

चितुवा आतंक बढ्दै गएपछि रोकथामका लागि प्रभावित क्षेत्रमा पराम्परागत काठको खोर निर्माण गरिएको थियो । काठको खोरमा थापिएको पासोमा १६ वटा चितुवा परेका थिए । ती चितुवालाई नियन्त्रणमा लिई सुरक्षित रुपमा अन्यत्र पठाइएको थियो । २०७४ फागुन यता १९ वटा चितुवा मृत अवस्थामा भेटिए । यो द्वन्द्वका कारण मानव मात्र होइन चितुवाको पनि ठूलो क्षति भएको देखिन्छ ।

गत मंसिर १० गते राती ७ बजेको समयमा बन्दिपुर-२ भुमर्सेमा करिब ६ वर्षीया पोथी चितुवालाई प्रहरीले गोली हानी मारेको थियो । हाल चितुवा प्रभावित क्षेत्रमा ९ वटा परम्परागत काठको खोरहरु छन् । जिल्लाका ८ वटा सव डिभिजन र डिभिजन वन कार्यलयमा गरी ९ वटा फलामको खोरहरु छन् । अहिले यस क्षेत्रमा चितुवाको आक्रमण कम भएपनि समय र जनजीवन पहिलेको जस्तो निर्धक्क नभएको भानु-१ की ७२ वर्षीया मदनकुमारी बोहोरा बताउँछिन् । ‘डेढ/दुइ वर्षजति हामी चितुवाको त्राममा बस्यौं’, उनले भनिन्, ‘पछिल्लो समय मानवजातिमा चितुवाको आक्रमण कम भएपनि यस क्षेत्रमा अझैपनि चितुवा देखा पर्छन् । चितुवाले बेलावखत घरपालुवा जनवारलाई आक्रमण पनि गरेको छ ।’

जंगल छेउमै घर भएकाले साँझविहान चितुवा आएर आक्रमण गरी हाल्छ कि भन्ने डरले अझैपनि नछाडेको उनी बताउँछिन् । ‘पहिले यहाँका महिलाहरु निर्धक्क भएर वनमा घाँसदाउरा गर्न जान्थेउ, तर अहिले त्यो छैन’, उनले भनिन्, ‘अहिले त कुकुर भुक्दा पनि डर लाग्छ । नातीलाई अझैपनि एक्लै विद्यालय पठाउन सक्दिन । जंगल जानु पर्‍यो भने पनि ४/५ जना साथी मिलेर जाने गर्र्छौ ।’ वि.सं. २०७४ साल अगाडि बालबालिकाहरु आफै विद्यालय आउनेजाने गर्दथे । तर चितुवा नरभंक्षी बन्दै गएपछि अभिभावकहरुले आफ्ना छोराछोरीलाई विद्यालय ल्याउने पुर्‍याउने गर्न थाले । कहि कतै जानुपरे स्थानीय महिलाहरु समूहमा आउजाउ गर्न थालेका छन् । चितुवाबाट आतंकित भएका यहाँका स्थानीयले भानु बहिरा रहेका आफ्ना चेलीबेटी तथा आफन्तलाई बोलाउन समेत डराए ।

अहिले भने अवस्था केही सामान्य बन्दै गएको छ । मानिसहरु विस्तारै पुरानै दैनिकीमा फर्कने कोशिसमा छन् । यस क्षेत्रमा चितुवाको आक्रमण रोक्किएपनि समयसमयमा छिमेकी पालिकामा बालबालिकालाई चितुवाले आक्रमण गरी ज्यानै लिएको तथा घाइते बनाएको समाचार सुन्दा आङ्ग सिरिङ्ग हुने भानु-२ की माया मानन्धर बताउँछिन् । ‘अझैपनि अक्कलझुक्कल सडक छेउछाउको झाँडीमा चितुवाका माउबच्चा देखा पर्छन् । घरपालुवा जनवारलाई आक्रमण पनि गर्छन्’, उनले भनिन्, ‘त्यसैले अझैपनि साँझ र विहानको समयमा एक्लै घरबाट बाहिर निर्धक्क भएर हिड्न र बालबालिकालाई एक्लै छाड्न सक्दैनौ ।’

‘बाघ समात्ने बुढाहरु’

भानुमा चितुवा आतंक बढ्न थालेपछि चितुवा समात्न ८० वर्षका हरिभक्त ढकाल र ७२ वर्षीय मनबहादुर राना कास्सिए । सामुदायिक वन क्षेत्रमा परम्परागत काठको खोर निर्माण गरी पासोमा पार्न जुरमुराएका वृद्धहरु सफल पनि भए । उनीहरुले बनाएको काठको खोरमा बाख्रा राखेर चितुवालाई पासो थापियो । ढकालले बनाएको खोरमा ५ र रानाले बनाएको खोरमा ३ वटा चितुवा परे । ६ वटा खोर बनाएको बताउँदै ढकालले भने, ‘मैले सम्भिmए अनुसार २०२३ सालमा भानु-४ मा पहिलो पटक चितुवाले मान्छे खाएको थियो । त्यस चितुवालाई समात्न भनि स्थानीय बुढापाकाको सहयोगमा मैले त्यही साल फागुनमा काठको खोर बनाएको थिए ।’ खोर बनाएको एक दिनमै चितुवा पासोमा परेको र त्यही सीपको मद्दतले अहिले ६ वटा खोर बनाएको ढकालले बताए ।

यस्तै, रानाले पनि आफ्नै बाबुबाजेबाट खोर बनाउने सीप आर्जन गरेको बताए । उनले भने, ‘त्यतिबेला चितुवाले घरपालुवा जनावर खाएर सताएको हुँदा बाघ/चितुवा समात्न बाबुबाजेले काठको खोर बनाएका थिए । तीनै वन्यजन्तु नियन्त्रणका लागि बनाइएको खोर हेर्दाहेर्दै मैले पनि खोर बनाउन सिके ।’ उनीहरु गाउँमा बाघ समात्ने बुढाका नामले परिचित छन् । चितुवा प्रभावित वडाका सामुदायिक वन क्षेत्रमा परम्परागत काठको खोर बनाएर पासो थापिएको थियो । उक्त खोरमा चितुवा पार्न सफल भएको भन्दै ढकाल र रानालाई भानु नगरपालिका र डिभिजन वन कार्यालयले संयुक्त रुपमा दोसल्ला, प्रमाणपत्र र ५/५ हजार रुपैयाँद्वारा सम्मान पनि गरेको थियो । ढकाल र रानाले बनाएको काठको खोर हेर्नेको पनि भिड लाग्यो । उनिहरुको यो सीप अन्यलाई पनि सिकाएर काठको खोर बनाएर चितुवा नियन्त्रण गर्न थालियो ।

यस्तै, जनसंख्य बृद्धिसंगै वनजंगलको विनाश, वनजंगलका झाडी कम र घर वरापरा रहेका खोलाखोल्सीमा झाडी बढी हुँदा पनि चितुवा मानवबस्तितिर आएको भानु-१ स्थित भिमसेनथुम्की सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रेम थापा बताउँछन् । ‘अहिले वन विकासको नाममा काठका रुपमा प्रयोग हुने बोट विरुवा बाहेक अन्य बोटबुट्यान फडानी गर्ने चलन छ । यसले गर्दा चितुवाले लुक्ने ठाउँ पाउँदैन र घर वरापराका झाडीमा लुकेर बस्छ’, उनले भने, ‘जंगलमा स-साना बोटविरुवा, झाँडी तथा सिमसार क्षेत्र नहुँदा अन्य वन्यजन्तु पनि मानवबास्ति वरपर आउने गर्दा चितुवा पनि घरबस्तीमै आइपुगेको हो कि भन्ने हामीलाई लागेको छ ।’

वन्यजन्तु तथा चितुवाको चरिचरण क्षेत्रमा मानिसले कब्जा जमाउँदै जाँदा पनि द्वन्द्व बढेको हुन सक्ने प्रभावित क्षेत्रका बासिन्दा स्वीकारछन् । ‘वातावरणमैत्री विकास निर्माण नहुँदा अहिले अधिकांश पानीका मुहान सुकेका छन् । अलिअलि भएका पानीका मुहानबाटै पाइपको प्रयोग गरी घरघरमा पानी ल्याइएको छ’, उनले भने, ‘पानी खाना नपाएपछि चितुवा मानवबस्तिमा छिर्छ, अनि आफुभन्दा कमजोरमाथी आक्रमण गरी भोकप्यास मेटाउन खोजेको हो कि भन्ने हामीले पनि महशुस गर्न थालेका छौ ।’

पछिल्लो समय घरपालुवा जनवार जस्तै बाख्रा, गाई, भैंसी, गोरु धेरै नपाल्नु, पालेपनि आधुनिक खोरमा राख्नु, पानीका घडा घरबहिरा नराख्नु र जंगलसम्मै बस्ति विस्तार हुनु जस्ता कारणले पनि चितुवा आतंक बढेको थापा बताउँछन् । थापाले भने, ‘वनमै घाँसेमैदान, पानी र आहाराको व्यवस्थापन गर्न सके चितुवा मानवबस्तिमा आउँदैन भन्ने जानकारी हुन थालेपछि अहिले हामी प्रभावित क्षेत्रका बासिन्दाहरु मानव र वन्यजन्तु बीचको सहअस्तित्वलाई स्वीकार गर्दै वातावरणमैत्री क्रियाकलाप अगाडि बढाएका छौं ।’

वनमा चितुवाको आहारा प्रजाति मृग, हरिण, वन कुखुरा, वन सुंगुर, खरायो, दुम्सि लगायतका साना प्रजातिका वन्यजन्तु लोप हुनुको कारण पनि चितुवा आतंक बढेको स्थानीय कुमारबहादुर खड्का बताउँछन् । ‘वनमा चोरीशिकारी बढ्यो, चितुवाको आहारा मानिसले खाइदिंदा त्यसको बदलामा हामीले हाम्रा बालबालिका चितुवालाई दिनुपरेको छ’, उनले भने, ‘सरोकारवला निकायले चितुवाको बाँसस्थानका लागि आवश्यक पानी आहारा वनमै व्यवस्थापन गरिदिए हाम्रा बालबालिका सुरक्षित रहन्थे ।’

मानव र वन्यजन्तुबिचको द्वन्द्व न्युनिकरणका लागि डिभिजन वन कार्यालय तनहुँ र सम्बन्धित पालिकाको समन्वयमा विभिन्न कामहरु भएपनि प्रभावकारी भने बन्न सकेका छैनन् । डिभिजन वन कार्यालयले आव २०७७/०७८ मा भानुको मजुवा ओख्ले सामुदायिक वन, म्याग्दे गाउँपालिका-२ को उमाचोक सामुदायिक वन र ३ को सिद्धवतासन सामुदायिक वन क्षेत्रमा विभिन्न प्रजातिका वनजन्य फलफूलका विरुवा रोपण गरेको थियो । उक्त कार्यक्रमका लागि १८ लाख ५७ हजार रुपैयाँ खर्च गरिएको डिभिजन वन अधिकृत काफ्लेले बताए । उनले भने, ‘वनमै पानीपोखरी निर्माण, विरुवा रोपण, गोडमेल र संरक्षणका लागि वार्षिक रुपमा बजेट नआउँदा यस्ता कार्यलाई निरन्तरता दिन सकिएको छैन । संरक्षण तथा प्रवर्द्धनका लागि बजेट नहुँदा गरिएका काम पनि प्रभावकारी बन्न सकेका छैनन् ।’

यस्तै, वनमै चितुवाको आहाराका लागि स-साना वन्यजन्तु छाडिने भनेपनि बजेट अभावका कारण यो कार्यक्रम पुरा गर्न नसकेको उनले बताए । ‘वातावरण सन्तुलन राख्नका लागि चितुवा पनि आवश्यक छन्’, उनले भने, ‘चितुवालाई मार्ने र सबै चितुवा समातेर अन्यत्र स्तान्तरण गरिदिनु पनि यसको समाधान होइन । हामीले जिल्लाभित्र रहेका चितुवाको गणना गरी उनीहरुको लागि वनमै गाँस र बाँसको व्यवस्थापन गर्नुपर्छ । यसका लागि अधिक बजेट र स्रोतसाधानको आवश्यक पर्छ।’

चितुवा नियन्त्रण वन कार्यालयको मात्रै दायित्व हो भन्ने सोच हटाएर सबै सरोकारवाला निकायले आ-आफ्नो ठाउँबाट यसको नियन्त्रण मात्र होइन संरक्षणका लागि पनि ध्यान दिनुपर्ने उनले बताए । जिल्लामा मानव र चितुवा बीचको द्वन्द्वका कारण सरकारलाई पनि आर्थिक भार परेको छ । नेपाल सरकारले चितुवाको आक्रमणमा परी मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ र घाइतेलाई २ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने व्यवस्था गरेको छ । सो बामोजिम पीडित भएका परिवारलाई एक करोड २४ लाख ६९ हजार रुपैयाँ बढि रकम राहत वितरण गरिसकिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

मानव-वन्यजन्तु बीचको द्वन्द्व न्यूनिकरण तथा पर्यवरण संरक्षणमा जुटेका चितुवा प्रभावित क्षेत्रका सामुदायिक वन उपभोक्ता समिति भानुका पदाधिकारीहरु । तस्विर : भञ्ज्याङ

यस्तै, चितुवा प्रभावित क्षेत्र र आसपासका क्षेत्रमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । ‘पछिल्लो समय चितुवा आक्रमणबाट मानवीय क्षति नभएपनि कुकुर र बाख्रालाई भने चितुवाले आक्रमण गरिरहेको छ’, उनले भने, ‘अझैपनि ढुक्क भएर बस्ने स्थिति छैन । हामीले सबैलाई सचेत रहन आग्रह गरेका छौं । स-साना बालबालिकालाई विद्यालय लग्दा अभिभावककै रेखदेखमा पुर्‍याउन भनिएको छ ।

साँझ बिहानको समयमा बालबालिकालाई एक्लै नछाड्न, वन जंगल जाँदा समुहमा जान भनेका छौं ।’ चितुवा नियन्त्रणका लागि पालिकास्तरबाट सचेतना बाहेकका अन्य काम भने भएका छैनन् । वन्यजन्तु भएका कारण यसको नियन्त्रणमा आफ्नो पहुँच नपुग्ने व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘वडास्तरबाट सचेतनाको काम त भइरहेका छन् । चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय लगायतका अन्य सरोकारवाला निकायसंग समन्वय गरेर अगाडि जाना तयार छौं ।’

जिल्लामा ८२ हजार ५४९ हेक्टर क्षेत्रफलमा ६२१ वटा सामुदायिक वन छन् । योसंगै राष्ट्रिय र निजी वनहरु पनि छन् । यही वन क्षेत्रसंगै जोडिएर अधिकांश मानिसहरुको बसोवास रहेको छ । सामुदायिक वनले स्थानीय उपभोक्ताको जीवनस्तरमा सुधार पनि ल्याएको छ । वन क्षेत्रको संरक्षण र प्रवर्द्धन हुँदा क्रमिक रुपमा वन क्षेत्र वृद्धि पनि भएको छ । तर, यही बढ्दो वन क्षेत्र र यहाँ विचरण गर्ने वन्यजन्तुका कारण अहिले मानव र वन्यजन्तु बीच द्वन्द्व बढ्दै गएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker