तनहुँमा बन्दको प्रभाव, सार्वजनिक यातायात चलेनन्, शैक्षिक संस्था पनि बन्द भए

- भञ्ज्याङ समाचारदाता (दमौली)
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को दाहाल-प्रचण्ड समुहले आव्हान गरेको नेपाल बन्दको प्रभाव तनहुँमा पनि परेको छ । जिल्लाका भित्री सडक खण्डमा सार्वजनिक यातायातका साधान सञ्चालनमा आएनन् भने पृथ्वीराजमार्गमा प्रहरीले स्कृर्टिङ गरी सवारीसाधानहरुलाई गन्तव्यसम्म पुर्याएको थियो । यस्तै बन्दका कारण तनहुँका कुनै पनि शैक्षिक संस्था खुलेनन्। कार्यालय तथा बैंक वित्तीय संस्था खुल्ला भएपनि सार्वजनिक यातायातका साधान सञ्चालनमा नआउँदा प्रायः सुनसान देखिन्थे । जिल्लाको आँवुखैरेनी, डुम्रे, दमौली, थर्पु, खैरेनीटार, दुलेगौंडा, कोत्रे, भिमाद लगायतका बजार क्षेत्र पनि बन्द भएका थिए ।
यस्तै, बन्दकर्ता राजमार्गमा अबरोध र सवारी साधन तोडफोडमा उत्रिएको भन्दै तनहुँ प्रहरीले दाहाल-नेपाल समुहका १६ जना कार्यकर्तालाई नियन्त्रणमा लिएर साँझ छाडेको थियो । प्रहरीले नेकपा केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ सहित १६ जना नेता कार्यकर्ता नियन्त्रणमा लिएको थियो।
बन्द गराउने क्रममा पक्राउ परेकामा नेकपाका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, प्रदेस सदस्य अतिन्द्रकेशरी न्यौपाने, ओमराज आले मदन, व्यास नगर अध्यक्ष श्रीराम कार्की लगायत नियन्त्रणमा रहेका सबैलाई प्रहरीले साँझ पाँच बजेपछि छाडेको थियो ।
प्रहरी नियन्त्रणबाट बाहिरिएसंगै नेता कार्यकर्ताले नाराबाजीका साथ दमौली परिक्रमा गरेका थिए। उनीहरुले प्रधानमन्त्री तथा सरकारको विरोधमा नारा लगाएका थिए । संवैधानिक अंगहरुमा सरकारले नियुक्ति गरेपछि सरकारविरुद्ध आन्दोलन गर्दै आएको छ ।
यस्तै, बन्दलाई लक्षित गरी जिल्लामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति गिराइएको थियो । जिल्लाभरि सुरक्षा व्यवस्था व्यवस्थित बनाइएको र राजमार्ग पूर्णरूपमा सुचारु रहेको, निजी सवारी साधन चलेका र सुरक्षा माग गर्नेलाई स्कर्टिङको व्यवस्था समेत गरी गन्तव्यसम्म पुर्याउने कार्य गरिएको तनहुँ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए।










