लैङ्गिक हिंसाको अन्त्यका लागि आवाज उठाऔं

सुरेशकुमार पाण्डे

महिलामाथि सदियौँदेखि विभेद, अन्याय र अत्याचार हुँदै आएको छ । पुरुषप्रधान सामाजिक संरचनाले कुनै समय महिलालाई पुरुषसरह मानवीय अधिकारसमेत दिएको थिएन । बहुविवाहलाई पुरुषको अधिकारका रूपमा लिने र ‘मर्दका दसवटी स्वास्नी’ भन्ने उखानलाई सामान्य मान्ने सामाजिक सोच विद्यमान थियो । छोरीलाई शिक्षाबाट वञ्चित गर्ने, सानै उमेरमा विवाह गरिदिने र महिलालाई घरायसी काम तथा पुरुषको अधीनमा सीमित राख्ने प्रचलन व्यापक थियो । यस्ता सामाजिक मान्यता र कुप्रथाले महिलाको स्वतन्त्रता, आत्मसम्मान र अस्तित्वमाथि नै प्रहार गर्दै आएका थिए ।
इतिहासमा महिलामाथि भएका विभेद र शोषणका अनेकौँ उदाहरण भेटिन्छन् । नेपालमा सतीप्रथा र देउकीप्रथा महिलामाथि थोपरिएका अमानवीय सामाजिक कुप्रथाका प्रतिनिधि उदाहरण हुन् । पतिको मृत्युपछि महिलालाई जबर्जस्ती चितामा सती जान बाध्य पार्ने प्रथा र देवताको नाममा बालिकालाई मन्दिरमा चढाउने देउकी प्रथाले महिलाको जीवन र स्वतन्त्रता खोसेका थिए । यस्ता प्रथाले महिलालाई आफ्नो इच्छाअनुसार जीवन बिताउने, विवाह गर्ने र सामाजिक रूपमा सम्मानित भएर बाँच्ने अधिकारबाट वञ्चित गरेका थिए ।
महिलामाथि हुने यस्ता विभेद र अत्याचारविरुद्ध समयसमयमा भएका सामाजिक आन्दोलन, विद्रोह तथा प्रगतिशील चेतनाको विकासले परिवर्तनका आधार तयार पारे । महिला अधिकारका पक्षमा उठेका आवाज र विभिन्न सामाजिक अभियन्ताको संघर्षका कारण राज्यले कानुनी सुधार गर्दै कयौँ अमानवीय प्रथामाथि प्रतिबन्ध लगायो। तर कानुन निर्माण हुँदैमा समाजमा जरा गाडेर बसेका विभेदकारी सोच र व्यवहार स्वतः अन्त्य हुँदैनन् भन्ने कुरा आजको अवस्थाले पनि देखाउँछ ।
अहिले पनि समाजका कतिपय क्षेत्रमा छाउपडी, बोक्सीको आरोप, बालविवाह, दाइजो प्रथा, घरेलु हिंसा तथा महिलामाथि हुने विभिन्न प्रकारका शोषण र दुव्र्यवहार कायम छन् । धर्म, परम्परा र सामाजिक मान्यताको नाममा महिलालाई अपमानित गर्ने तथा उनीहरूको स्वतन्त्रता कुण्ठित गर्ने प्रवृत्ति पूर्ण रूपमा हट्न सकेको छैन । यस्ता अमानवीय अभ्यासको अन्त्यका लागि कानुनी कारबाहीसँगै सामाजिक चेतनाको स्तर उकास्नु आवश्यक छ ।
महिलामाथि हुने हिंसा कुनै एउटा देश वा समाजको मात्र समस्या होइन । यो विश्वव्यापी सामाजिक चुनौती हो । यसविरुद्ध महिलाको एकता, अधिकारको सुनिश्चितता र हिंसामुक्त समाज निर्माण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न अभियान सञ्चालन हुँदै आएका छन्। सन् १९९१ मा महिला विश्वव्यापी नेतृत्व संस्थानको पहलमा सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अहिले विश्वका विभिन्न देशमा मनाइन्छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने यस अभियानले महिला हिंसाविरुद्ध जनचेतना अभिवृद्धि, पीडितको संरक्षण, न्यायमा पहुँच र लैङ्गिक समानताको पक्षमा आवाज उठाउँदै आएको छ ।
नेपालमा पनि यस अभियानलाई विभिन्न कार्यक्रमका साथ मनाइँदै आएको छ । महिलाको राजनीतिक, सामाजिक तथा आर्थिक अधिकार सुनिश्चित गर्न भएका आन्दोलनले महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् । राणा शासनको अन्त्यपछि महिलाले निर्वाचनमा मतदान गर्ने र उम्मेदवार बन्ने अधिकार प्राप्त गरे । त्यसयता महिलाको राजनीतिक सहभागिता क्रमशः बढ्दै गएको छ । संविधानले समानताको हक, महिलाको हक तथा महिला सहभागितासम्बन्धी व्यवस्था गरेको छ । राज्यका विभिन्न निकायमा महिलाको प्रतिनिधित्व बढेको छ । शिक्षा, स्वास्थ्य, प्रशासन, राजनीति, व्यवसाय र सामाजिक क्षेत्रमा महिलाको उपस्थिति उल्लेखनीय बन्दै गएको छ ।
तर यी उपलब्धिका बाबजुद महिलामाथि हुने हिंसा र विभेद अन्त्य हुन सकेको छैन । शारीरिक, मानसिक, यौनजन्य, आर्थिक तथा सामाजिक हिंसाका अनेकौँ स्वरूप अझै विद्यमान छन् । घरभित्रै हुने घरेलु हिंसा, कार्यस्थलमा हुने दुव्र्यवहार, मानव बेचबिखन, यौन शोषण, अनलाइन माध्यमबाट हुने दुव्र्यवहार र सामाजिक सञ्जालमार्फत गरिने चरित्रहत्या अहिलेका गम्भीर चुनौती हुन्। कतिपय पीडित सामाजिक प्रतिष्ठा, पारिवारिक दबाब र आर्थिक परनिर्भरताका कारण आफूमाथि भएको हिंसाविरुद्ध खुलेर बोल्न सकिरहेका छैनन् । न्यायका लागि आवाज उठाउँदा उल्टै अपमानित हुनुपर्ने अवस्था पनि देखिन्छ ।
महिलाको वैदेशिक रोजगारीसँग जोडिएका चुनौतीलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता छ । रोजगारी र आर्थिक अवसरको खोजीमा विदेश पुगेका कतिपय महिला श्रम शोषण, यौन दुव्र्यवहार, हिंसा तथा असुरक्षाको जोखिममा पर्ने गरेका छन्। असुरक्षित वैदेशिक रोजगारी, मानव बेचबिखन र कमजोर श्रम संरक्षणले उनीहरूको समस्या थप जटिल बनाएको छ । विदेशमा हुने हिंसा र शोषणबाट महिलालाई जोगाउन सुरक्षित आप्रवासन, कानुनी जानकारी, प्रभावकारी संरक्षण र उद्धारको व्यवस्था आवश्यक छ । महिलाको स्वतन्त्रता र अधिकारलाई दोष दिनेभन्दा हिंसा गर्ने व्यक्ति तथा शोषणकारी संरचनालाई जवाफदेही बनाउनु आजको आवश्यकता हो ।
लैङ्गिक हिंसाको अन्त्य केवल महिलाको समस्या समाधान गर्ने विषय होइन । यो समग्र समाजलाई सभ्य, न्यायपूर्ण र समानतामूलक बनाउने अभियान हो । हिंसा अन्त्यका लागि महिला मात्र होइन, पुरुष, परिवार, समुदाय, सामाजिक संघसंस्था र राज्य सबैको समान भूमिका आवश्यक हुन्छ । घरभित्र छोरी र छोराबीच समान व्यवहार गर्ने, महिलाको निर्णयलाई सम्मान गर्ने, घरेलु हिंसालाई पारिवारिक मामिला भनेर लुकाउने प्रवृत्ति त्याग्ने र पीडितलाई न्यायका लागि साथ दिने संस्कार विकास गर्नुपर्छ ।
कानुन बनाएर मात्र लैङ्गिक हिंसा अन्त्य हुँदैन । कानुनको प्रभावकारी कार्यान्वयन, पीडितको सुरक्षा, निष्पक्ष अनुसन्धान, दोषीलाई दण्ड र पीडितलाई न्यायको सुनिश्चितता हुनुपर्छ । हिंसाका घटनामा पहुँच, प्रभाव र राजनीतिक संरक्षणका आधारमा उन्मुक्ति दिने प्रवृत्तिको अन्त्य हुनुपर्छ । विद्यालयदेखि समुदायसम्म लैङ्गिक समानता र मानव अधिकारसम्बन्धी शिक्षा विस्तार गर्नु पनि उत्तिकै आवश्यक छ ।
यस अभियानमा साहित्यकार, लेखक, पत्रकार, शिक्षक, बुद्धिजीवी तथा सामाजिक अभियन्ताको भूमिका महत्वपूर्ण हुन्छ । साहित्य र सञ्चारका माध्यमबाट समाजमा विद्यमान कुरीति, कुसंस्कार, अन्धविश्वास, विभेद र हिंसाविरुद्ध जनचेतना फैलाउन सकिन्छ। मदिरा तथा सुर्तीजन्य पदार्थको दुरुपयोग, घरेलु कलह र हिंसालाई प्रोत्साहन गर्ने सामाजिक व्यवहारविरुद्ध पनि सचेतना अभियान सञ्चालन गर्नुपर्छ। समाजका विकृति र विसङ्गतिलाई उजागर गर्दै सकारात्मक परिवर्तनका पक्षमा आवाज उठाउनु सचेत नागरिकको दायित्व हो ।
अन्ततः लैङ्गिक हिंसामुक्त समाज निर्माण भाषण र नाराले मात्र सम्भव छैन। यसका लागि हरेक व्यक्तिले आफ्नो सोच र व्यवहारमा परिवर्तन ल्याउनुपर्छ । महिलालाई दया वा सहानुभूतिको पात्रका रूपमा होइन, समान अधिकार र सम्मान भएका नागरिकका रूपमा स्वीकार गर्नुपर्छ। पीडितलाई दोष दिने होइन, पीडकलाई कानुनी दायरामा ल्याउने सामाजिक संस्कार बसाल्नुपर्छ। महिला र पुरुषबीच समानता, सम्मान र सहकार्य स्थापित भए मात्र न्यायपूर्ण समाजको निर्माण सम्भव हुन्छ । त्यसैले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई औपचारिक कार्यक्रम र नारामा सीमित नराखी वर्षभरि नै निरन्तर चल्ने सामाजिक आन्दोलनका रूपमा विकास गरौँ । लैङ्गिक हिंसाको अन्त्यका लागि सबै एकजुट भएर आवाज उठाऔँ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker