अदालतको फैसलापछि राजनीतिक अन्यौलता हट्छ : अध्यक्ष तिमिल्सिना
- भञ्ज्याङ समाचारदाता (देवघाट)
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले फैसला गरेपछि देशको राजनीतिक अन्योल हट्ने बताएका छन् । तनहुँको देवघाट गाउँपालिका-५ क्युँदीमा नवनिर्मित सभा हलको विहीबार उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् । ‘अहिले देशमा प्रतिनिधि सभा पुनःस्थापना कि मध्यावधि निर्वाचन भन्ने पक्ष र विपक्षमा राजनीतिक दल मात्र नभएर सबै क्षेत्र विभाजित भएको छ’, अध्यक्ष तिमिल्सेनाले भने, ‘यो अन्यौलता र्सवाेच्चको फैसला आएपछि हट्ने र सर्वोच्च अदालतको फैसलालाई सबैले स्वीकार गर्नुपर्दछ ।’
‘अदालतले आफुहरुले भने अनुसार नै फैसला गर्नुपर्छ भन्दै सडकमा नारा समेत लाग्नु दुःखद कुरा हो’, उनले भने, ‘स्वतन्त्र न्यायपालिका र संविधानको व्याख्याताको रुपमा रहेको सर्वोच्च अदालतको अन्तिम फैसलालाई सबैले स्वीकार गरेर त्यसै अनुसार अगाडी बढ्न सकेमा सबैको हित हुन्छ । अदालतको फैसलालाई विरोध गर्नु र सडकबाट सच्याउँछौ भन्नु देशमा झन अस्थिरता निम्त्याउनु हो ।’
‘अहिले सडकमा लागेका नारा र नेताहरुले एक अर्कालाई गरेको गाली गलौज र आरोप प्रत्यारोपले नागरिकलाई निराश बनाएको छ’, अध्यक्ष तिमिल्सिनाले भने, ‘समृद्ध नेपालको अभियान गालीगलौजले नभई काम गरेर मात्र पुरा हुन्छ ।’
‘जनताको स्थिरताको चाहाना विपरीत काम गर्नेहरुलाई जनताले नै दण्डित गर्छन’, उनले भने, ‘आफ्नो व्यक्तिगत स्वार्थ र महात्वाकांक्षा भन्दा माथि उठेर देश र जनताको लागि काम गर्नु अहिलेको आवश्यकाता हो ।’
देवघाट मुलुककै प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र भएको हुँदा यहाँको विकासको लागि तीनवटै तहका सरकारहरु मिलेर काम गर्नुपर्ने बताउँदै अध्यक्ष तिमिल्सेनाले यस क्षेत्रको विकास गर्न सके धेरै भन्दा धेरै आन्तरिक तथा बाहृय पर्यटक भित्र्याउन सकिने र त्यसबाट आर्थिक समृद्धि कायम गर्न सकिने उनको भनाई थियो ।
कार्यक्रममा बाग्मती प्रदेशका सांसद विजय सुवेदीले देवघाट गाउँपालिका तनहुँ जिल्लामा पर्ने भए पनि बृहत् चितवन उपत्यकाभित्र देवघाटलाई समेत समेटेर बाग्मती प्रदेश सरकार मार्फत पुर्वाधार निर्माणको काम अघि बढाइने बताएका छन् । उनले सामाजिक न्याय सहितको पूर्वाधार विकासलाई स्थानीय सरकारले लक्ष्य लिनुपर्ने बताएका छन् ।
प्रदेशको ६० र देवघाटको ४० प्रतिशत लागत साझेदारीमा साढे ९५ लाख रुपैयाँको लागतमा भवन निर्माण
देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले गाउँपालिकामा पूर्वाधार निर्माणको कामले गति लिएको भन्दै समृद्ध देवघाट निर्माणको लागि आफुहरु केन्द्रित भएको बताए । गण्डकी प्रदेश सरकारको ६० प्रतिशत र देवघाट गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा ९५ लाख ५४ हजार रुपैयाँको लागतमा सो सभाहल निर्माण गरिएको गाउँपालिकका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङले जानकारी गराए । कोभिडको जोखिमको कारण देशैभर लकडाउन गरिएको समयमा गाउँपालिकाको समन्वयमा निर्माण सामग्री ढुवानी गरी सो सभाहल निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले बताएका छन् । पाँच रोपनी क्षेत्रफलमा फैलिएको सो सभाहलमा ३ सय जनाको क्षमताको हल र दुइ वटा साना कोठा निर्माण गरिएको छ ।










