कृषि उपजलाई बजारीकरणमा ध्यान दिन कृषकको जोड
- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँका कृषकहरुले स्थानीय पालिकाहरुले कृषिका कार्यक्रम र कृषकले उत्पादन गरेको उपजलाई सहजै बजारीकरण गर्ने काममा ध्यानदिनुपर्ने जोड दिएका छन् । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले बुधबार दमौलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा सहभागिहरुले उक्त कुरामा जोड दिएका हुन् ।
अन्तरक्रियामा सहभागि कृषकहरूले स्थानीय तहहरूले कृषिका कार्यक्रमहरूलाई बढी जोड दिनुपर्ने, प्रदेश सरकारले पनि कृषिको पकेट क्षेत्र पहिचान गर्दै कृषिमा लगानी गर्नुपर्ने, केन्द्रीय सरकारले सोही अनुरूपका नीति नियम र कृषीमैत्री वातावरणको व्यवस्थापन गर्नुपर्ने सुझाएका छन् ।
अनुदानका लागि वास्तविक कृषक पहिचान गर्नुपर्ने, कृषकले उत्पादन गरेको उपजको बजार व्यवस्थापन सरकारलेनै गरिदिनुपर्ने, कृषि सहकारी तथा कृषकहरूलाई सस्तो ब्याजमा ऋण प्रवाह लगायतका कार्यमा सरकार तथा सरोकारवाला निकायले ध्यान दिनुपर्ने कृषकहरुले बताएका छन् ।
उक्त कार्यक्रममा सहभागीहरूलाई कृषि उपज उत्पादन तथा बजार व्यवस्थापनका समस्या र अबको मागमा आधारित प्राथमिकताका योजना कस्ता – भन्ने विषयमा छलफल गरिएको थियो। कृषक र व्यापारी बिचको दुरी कसरी निकट राख्ने र उत्पादित उपजलाई व्यावसायिक रूपमा बजारसँग कसरी जोड्ने, वजारको माग र उत्पादन कसरी सन्तुलन राख्ने लगायतका विषयमा आयोजित कार्यक्रममा व्यापारीहरुको उपस्थिति भने भएको थिएन् ।
अन्तरक्रिया कार्यक्रममा कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बजारको माग, मौसम तथा जमिनको अवस्थालाई ध्यान दिएर कसरी व्यवसायिक कृषि पेशा अंगाल्न सकिन्छ भन्ने विषयमा सहजिकरण गरेका थिए ।
कृषि विकास निर्देशनालयका अर्थ विज्ञ अधिकृत शशी अधिकारीले मुलुक संघीयतामा गएसंगै कृषि उपजको अवस्था र बजार ब्यवस्थापनको स्थिति तथा भावि योजनाको माग आवश्यकताका विषयमा कृषकहरुसंग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको बताइन् ।










