स्टोनहेज र नेपालका परम्परागत घुमाउने घर : सांस्कृतिक तादम्यता र आजको सन्देश
देव बस्न्यात

बेलायत भ्रमणकै क्रममा स्टोनहेज पुगेपछि नियोलिथिक शैलीमा पुनर्निर्मित घरहरूको अवलोकन गर्ने अवसर मिल्यो। बाँस, सिट्ठा र भाटा प्रयोग गरेर, त्यसमा माटो र खरको गिलु लगाइएका ती घरहरूले तनहुँ, भिमाद, बन्दीपुर वा कुलुङका दराई, गुरुङ र मगर समुदायका घुमाउने घरहरूको झल्को दिलाए। टाढा बेलायत र नेपालबीचको भौगोलिक दूरी एकैपटक छोट्याइदिने जस्तो ती संरचनाले पुरातात्त्विक र सांस्कृतिक तादम्यता उजागर गर्थे ।
स्टोनहेज : नवपाषाणकालीन जीवनशैलीको झल्को
आजभन्दा करिब ४५०० वर्षअघि बेलायतको ड्युरिङटन वाल्स क्षेत्रमा फेला परेका घरहरूको नमुनामा स्टोनहेज क्षेत्रमा पुनर्निर्मित संरचना बनाइएका छन्। यी संरचना बेलायतका ढुङ्गेयुगीन जीवनशैली बुझ्न मद्दत पु¥याउने ‘जिवन्त संग्रहालय’ जस्तै हुन्। यहाँका घरहरू पूर्वजहरूको धर्म–संस्कृति, कृषि–जीवनशैली र आवासीय प्रविधिको प्रत्यक्ष अनुभूति दिलाउने गरी बनाइएका छन्। यही अनुभवले नेपालका परम्परागत घरहरूको स्मरण गराउँछ, जहाँ स्थानीय ज्ञान, सीप र स्रोतकै उपयोगमा टिकाउ जीवनशैली अँगालिएको थियो ।
नेपाली घुमाउने घरहरूको मौलिकता
तनहुँ, दमौली, भिमाद लगायतका क्षेत्रका दराई, मगर र गुरुङ समुदायका घुमाउने घरहरू केवल आवास नभएर जीवनपद्धतिको अभिन्न अंश हुन्। प्रायः दुईतले हुने यी घरमा तल्लो तलामा भान्सा, सुत्ने कोठा र सिकुवा कोठा (धान–मकै कुट्ने, पिस्ने र साँझमा रोधी बस्ने स्थान) राखिन्थ्यो। माथिल्लो तलामा कृषि उपज भण्डारण हुन्थ्यो । यी घरहरूको बनोटले मौसमको प्रतिकूल असरलाई सहजै झेल्थ्यो। गर्मीमा चिसो र जाडोमा न्यानोपन प्रदान गर्ने विशेषता भएकाले स्वास्थ्यका दृष्टिले पनि लाभदायक हुन्थे। अझ महत्त्वपूर्ण कुरा, यी घरहरू भूकम्प प्रतिरोधात्मक प्रविधिमा आधारित थिए। नेपाल भूकम्प प्रवण देश भएकाले चारपाटे घरभन्दा घुमाउने घर सुरक्षित ठानिन्थ्यो ।
धार्मिक र सांस्कृतिक सम्बन्ध
नेपाली समाजमा घुमाउने आकारको गहिरो धार्मिक र सांस्कृतिक अर्थ छ । भगवान् शिवको वासस्थान कैलाश पर्वत बाटुलो, पूजा गर्दा बजाइने घण्टाको आकार गोलो, परम्परागत नेपाली टोपीको घेरा घुमाउने हुन्छ। पण्डित नरहरिनाथले समेत देवताको घर घुमाउने घर हुनुपर्छ भन्ने तर्क गरेका थिए । यसैले कतिपय समुदायका कुलायन घरहरू समेत घुमाउने संरचनामा बनेका छन् ।
तादम्यता : स्टोनहेज र नेपाल
स्टोनहेजको पुनर्निर्मित घर र नेपालका परम्परागत घुमाउने घरबीच चमत्कारिक समानता देखिन्छ । दुवै स्थानीय सामग्री—माटो, ढुङ्गा, खर, काठ– प्रयोग गरेर बनाइएका छन्। दुवै संरचना प्राकृतिक विपत्तिबाट जोगिन, परिवारलाई सुरक्षित राख्न र धार्मिक–सांस्कृतिक विश्वाससँग जोडिन बनाइएका हुन्। दुवै सभ्यतामा देखिएको यी समानता संयोग मात्र होइन, मानव सभ्यताको विकासक्रममै वातावरणसँग सामञ्जस्य मिलाउँदै अघि बढेको साझा बोध हो। मानव जाति जहाँसुकै पुगे पनि उसको आवश्यकता, चुनौती र जीवनशैलीले मिल्दोजुल्दो उत्तर खोजेको स्पष्ट हुन्छ ।
आजको चुनौती र सम्भावना
नेपालका गाउँघरमा अझै पनि यस्ता घुमाउने घरहरू देख्न सकिन्छ । तर सहर पस्दै जाँदा र आधुनिक प्रविधिको प्रभाव बढ्दै जाँदा सिमेन्ट र कंक्रिटका घरहरूले परम्परागत संरचनालाई विस्थापित गरिरहेका छन् । टिकाउपन, मौलिकता र प्राकृतिक अनुकूलनको ज्ञान बोकेका यी घरहरू संरक्षण नभए हराउने खतरा बढेको छ । यस्तो अवस्थामा घुमाउने घरको संरक्षण केवल सांस्कृतिक भावनासँग मात्र होइन, पर्यटनसँग पनि प्रत्यक्ष जोडिन्छ । गाउँ–घरका मौलिक घरहरू पर्यटकका लागि आकर्षणका केन्द्र बन्न सक्छन् । स्थानीय श्रम, सीप र स्रोत प्रयोग गरेर बनेका यी घरहरूले अर्थतन्त्रमा समेत योगदान दिन सक्छन् ।
निष्कर्ष
स्टोनहेजले बेलायतको ढुङ्गेयुगीन सभ्यताको कथा सुनाउँछ भने नेपालका घुमाउने घरहरूले हाम्रो सांस्कृतिक जरा, जीवनशैली र मौलिक पहिचानलाई प्रतिविम्बित गर्छन्। दुवैबीचको तादम्यता देख्दा मानव सभ्यताको प्रारम्भिक चरणमै प्रकृतिसँग सामञ्जस्य खोज्ने सोच साझा भएको प्रस्ट हुन्छ । आज नेपालमा घुमाउने घरहरूको संरक्षण, संवद्र्धन र पुनर्निर्माण गर्न सरकार र समुदाय दुबै सक्रिय हुन जरुरी छ । किनभने यी घरहरू केवल विगतको सम्झना मात्र होइनन्, भविष्यमा पनि हाम्रो पहिचान र पर्यटन प्रवर्द्धनका आधारशिला बन्न सक्छन् । मौलिक घुमाउने घरहरूको संरक्षण गर्नु भनेको केवल संरचना जोगाउनु होइन, नेपालीपन, इतिहास र सभ्यताको आत्मा जोगाउनु हो ।










