व्यास नगरपालिका : जनप्रतिनिधिले जनतासंग गरेका वाचा अपुरै
भञ्ज्याङ समाचारदाता/दमौली

लोभलाग्दा नारा र महत्वकांक्षी चुनावी घोषणपत्रका साथ निर्वाचनमा होमिएर निर्वाचित भएका व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने अहिले आफै अन्यौलमा परेका छन् । जुन प्रतिवद्धताका साथ निर्वाचित भए अहिले ती प्रतिवद्धता पुरा गर्न नसक्दा अन्यौलमा परेका हुन् । उनले नेपाली कांग्रेसको घोषण पत्रमा उल्लेखित प्रतिवद्धतालाई पुर्ण रुपमा पालना गर्दै व्यास नगरपालिकाका जल्दोबल्दो समस्यलाई चुनावी एजेण्डामा समावेश गरेका थिए ।
अव्यवस्थित बसोबासलाई कानुनत व्यवस्थित गर्दै सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षणमा कडाइ गर्ने, नगरलाई सरसफाइयुक्त बनाउन फोहर मैला व्यस्थापन एवं प्रशोधन गर्ने, युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्ने चुनावी एजेण्डा बनाएका थिए । तर यी कुनैपनि काम भएका छैनन् ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको छ । तर उनको कार्यकाल अवधिमा आमा तथा युवा समूहका भवन उद्घाटन, भेटघाट, भाषणबाजी तथा राजनीतिक गतिविधि बाहेक अन्य उपलब्धि देखिएको छैन । उनले नगरभित्रका केही उच्च पहाडी क्षेत्रहरुलाई छनौट गरी नमूना पार्क फूलबगैंचा निर्माण गरी आन्तरिक पर्यटनलाई बढुवा दिने समेत मतदाताहरुसंग प्रतिवद्धता गरेका थिए । अहिले यो प्रतिवद्धताले पुर्णता पाएको छैन ।
यस्तै, नगरपालिका भित्र रहेको दमौली अस्पताललाई एकसय शैयामा स्तारोन्नती गर्ने, वडा स्वास्थ्य केन्द्रहरुको स्तरीकरण गरी गाउँ टोलहरुसम्म प्रसुति सेवा एवं घुम्ती स्वास्थ्य कार्यक्रमसहित स्वास्थ्य सेवाको पहुँच बृद्धि गर्ने, “व्यवस्थित घर, व्यस्थित परिवार, स्वास्थ्य बिमाद्वारा उपचार” भन्ने नारालाई व्यवहारमा र्सार्थक बनाउने प्रतिवद्धता पनि जनाएका थिए ।
निर्वाचनको समयमा गरेका प्रतिवद्धताहरु पुरा गर्न नसकेको उनी आफै पनि स्वीकारछन् । ‘नगरप्रमुख भएर जिम्मेबारी सम्हाल्न थालेसंगै घोषणपत्रमा उल्लेखित प्रतिवद्धताबाहेक पनि थुप्रै कामहरु देख्दै गयौं’, नगरप्रमुख न्यौपानेले भने, ‘विभिन्न कारणले आफ्नै प्रतिवद्धता पुरा गर्न सकिएन ।’
मुलुक संघीयतामा गएसंगै सदरमुकाममा रहेको दमौली अस्पताल प्रदेश अन्तरगत गएकाले आफुले गरेको प्रतिवद्धता पुरा गर्न नसकेको उनी बताउँछन् । उनले भने, ‘अहिले कोभिड-१९ व्यवस्थापनको सन्दर्भमा कोभिड अस्पतालको रुपमा निर्माण गरेका छौं, पछि त्यही अस्पताल जनरल अस्पतालको रुपमा परिणत भई नै हाल्छ ।’
यस्तै, नगरबासीको सहजताका लागि सञ्चालनमा ल्याउने भनिएको नगर यातायात पनि सुरु गर्न नसकेको उनले बताए । नगरपालिकाका ३, ४ वटा वडामात्रै शहरी क्षेत्रमा रहेको र नगरपालिका आफैले बस किनेर कर्मचारी राख्दा खर्च बढी आउने भएकाले नगरबस सञ्चालन गर्न नसक्दा आफ्नो प्रतिवद्धता पुरा नभएको बताउँछन् ।
निर्वाचनको समयमा निकै आकर्षक नाराको रुपमा रहेको ‘फुलैफुलको शहर, व्यास नगर’ अहिले हराएर गएको छ । त्यस्तै, कार्यकाल सक्किन लागिसक्दा पनि नगरबासीको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने फोहोरमैला व्यवस्थापन गर्न नगरपालिका पछि परेको छ ।
फोहोरमैला व्यवस्थापनका लागि जनप्रतिनिधि र सरसफाई शाखाका टोली विभिन्न स्थानमा रहेको सरसफाई केन्द्रको अध्ययन तथा आवलोकनमा गएपनि आजसम्म कुनै ठोस् उपलब्धी निकाल्न नसकेको नगरप्रमुख न्यौपाने बताउँछन् । उनले भने, ‘हामीले कुहिने र नकुहिने फोहोर छुट्याएर कुहिने फोहोरबाट बायोग्यास पनि निकालिसकेका छौं । अबको २ महिनामा नकुहिने फोहोरको पनि व्यवस्थापन गरेर जानेछौं ।’
२०७४ साल यता नगरपालिकाका जनप्रतिनिधि र वन, वातावरण तथा सरसफाई शाखाका कार्मचारीहरु संयुक्त रुपमा ३ पटक विभिन्न स्थानका फोहोर व्यवस्थापन केन्द्रको भ्रमण तथा अवलोकनका लागि गएको शाखाका प्रमुख कृष्णराज घिमिरेले बताए । उनका अनुसार ०७४ पुस ४ गते ६४ जनाको सहभागीतामा वलिङ भ्रमणमा ४९ हजार ५ सय, ०६५ असार २९ र ३० गते ३४ जनाको सहभागीतामा हेटौडा भ्रमणमा एक लाख ३६ हजार ८ सय र ०७८ माघ ४ गते १६ जनाको सहभागीतामा पुनः वलिङ भ्रमणमा ३२ हजार ५ सय रुपैयाँ खर्च गरिएको छ । नगरपालिका स्थापना भएयता फोहोर मैला व्यवस्थापनको अध्ययन अवलोकनका नाममा लाखौं रुपैयाँ खर्च भएपनि उपलब्धि भने शुन्य नै छ ।
प्रतिवद्धता बाहेकका कार्यमा नगरपालिकाले कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम तथा बजेट निर्माण गरेको नगरप्रमुख न्यौपानेले बताए । उनका अनुसार एकीकृत विकास परियोजना अन्तरगत ३ परियोजनाको डिपिआर तयार गरी काम अघि बढाइएको छ ।
परियोजना अन्तरगत खड्गकालिका सडक निर्माणधिन अवस्थामा रहेको, कुलुङ केशवटार हुँदै छाब्दी जाने मार्ग विश्व बैंकको परियोजनमा परेर काम अगाडि बढिरहेको, टाउन डेभलब्मेन्ट फन्डसंग पनि सम्झौता गरेर नगरपालिकाका पुराना भवन हटाएर नयाँ भवन बनाउन २८ करोड रुपैयाँमा सम्झौता गरिएको नगरपालिकाले जनाएको छ । नगरप्रमुखले यो नै आफ्नो कार्यकालको मुख्य उपलब्धिको रुपमा लिएका छन् ।
यस्तै, पटकपटक नगरपालिकाको राजस्व खर्च गरी गएको भ्रमणबाट पनि फोहोर व्यवस्थापनमा केही उपलब्धि गर्न नसकेको नगरपालिकाका वडासदस्य बसुन्धरा घर्तीले बताइन् । ‘५ वर्षो समय भनेको निकै लामो हुन्छ’, उनले भनिन्, ‘नगरपालिकालाई अतिआवश्यक परेको ल्याण्डफिल्डसाइट बनाउछु भनेर आउनुभएको थियो त्यो पनि पुरा हुन सकेन । जनताको स्वस्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने फोहोरमैला व्यवस्थापनका लागि स्थायी ल्याण्डफिल्डासाइट नबनाउदा जनताको स्वास्थ्य र भरोसामाथी पनि खेलवाड भएको छ ।’
‘फरक पार्टी प्रति विचारधारा भएर होला बैठकमा हाम्रा सुझावहरुलाई महत्व दिइदैनथियो’, उनले भनिन्, ‘दिएका सुझाव सुन्ने तर कार्यान्वयन नहुने भएपछि सभामा पनि बोल्न छोडियो, धेरै निर्णयहरु भए तर कागजमै सिमित रहे ।’ मादी नदीमा बाँध हालेर कृत्रिम ताल बनाउने भनिएको थियो तर ५ वर्ष तालको डिपिआर निर्माणमै बितेको र्घर्तिले बताइन् । नगरप्रमुखको कार्यकाल व्यासलाई नमुना नगरपालिका बनाउने काम भन्दा पनि टुक्रे योजना, आमा समूहका भवन उद्घाटन, युवा समूहका भवन उद्घाटन, गुटबन्दि आफ्नालाई काख अर्कालाई पाखा गर्दैमा सक्किएको उनको आरोप छ।
यस्तै, जनप्रतिनिधि आएसंगै सिंहदरबारको अधिकार गाउँगाउँमा आउँदा गाउँबाटै हरेक सेवासुविधा लिन सहज भएको व्यास-१० का युवा माधव पौडेल बताउँछन् । ‘वडामै हरेक किसिमको सिफारिस दिन सकिन्छ र काम पनि बन्छ’, उनले भने, ‘तर, सामान्य घरपरिवारका मान्छेले तिर्न नसक्ने गरी राजस्व र सिफारिसका शुल्क बढ्दा दैलोअगाडिको सेवा लिन आर्थिक भार परेको छ । जनप्रतिनिधिलाई पाल्न हामीलाई महङ्गो परेको छ ।’
नगरपालिकाबाट कोभिड-१९ कहरमा धेरै सहयोग भएको उनले बताए । यससंगै पछिल्लो ५ वर्षमा स्कुल बने, सडक कालोपत्रे, विकास निर्माण, आमा, युवा समूहका भवन, विभिन्न समूदायका मठमन्दिर बने । तर, जनप्रतिनिधि भोलि कहि गएर पाँच वर्षमा मैले व्यासमा यस्तो नमुना काम गरे भनेर सुनाउनका लागि कुनै अम्मर काम गर्देको भए नगरबासीलाई पनि खुसी लाग्ने पौडेल बताउँछन् ।
‘पाँच वर्षमा धेरै काम गर्न सकिन्थ्यो, जनप्रतिनिधिले काम गर्ने मौका गुमाएका छन्’, उनले भने, ‘जनप्रतिनिधिले दीर्घकालिन विकासतिर नसोचि निर्वाचनमा चुनावी प्रचारप्रसारमा हिड्नका लागि मान्छे बटुल्ले प्रकारका विकासलाई अंघाले ।’ चाहे राम्रो गरोस् वा नराम्रो मेरै मान्छे मेरै पार्टीबाट जित्नुपर्छ भन्ने कुरा हामीमा हावी भएकै कारण राम्रो भिजन भएका जनप्रतिनिधि निर्वाचित गर्नबाट हामी चुकेको उनले बताए ।
यस्तै, नगरबासीलाई प्रत्यक्ष रोजगारसंग जोड्न, यहाँका कला संस्कृति संरक्षण गर्दै पर्यटकीय क्षेत्रका विकास, धार्मिक स्थलका विकास, ठुला र दीर्घकालिन विकास निर्माणका आयोजन लगायतका एकीकृत गुरुयोजना तयार गर्न नसकि पाँच वर्षको समय बर्वाद गरिएको नेकपा एमाले जिल्ला उपसचिव प्रदिपराज अधिकारी बताउँछन् ।
पवित्र धार्मिक स्थल छाब्दी बाराही, तनहुँ कालिका, चार वेद अठारा पुराणका रचायीता वेदव्यासको जन्मस्थल, पराशर ऋषिको आश्रम, शहिद गाउँ पुलिमराङ लगायत विभिन्न धार्मिक तथा प्राकृतिक स्थानहरु रहेको व्यासको पर्यटकीय प्रचारप्रसारको लागि आवश्यक योगदान नदिएको उनले आरोप लागए ।
नगरपालिकाबाट सेवा सुविधा लिनका लागि जनताले जुन दस्तुर बुझाउनुपर्ने थियो जनप्रतिनिधि आएसंगै त्यसलाई बढाएर जनताले तिर्नै नसक्ने गरी सेवा दस्तुर बढाइएको पनि उनको आरोप छ । अधिकारीले भने, ‘निर्वाचनको समयमा जनतलाई छिटो, छरितो र सहज ढंगले सेवा दिने भन्नुभएको थियो तर, त्यो कुरामा उहाँहरु चुक्नुभएको छ ।’
नेकपा एमालेको सरकार हुँदा संघीय सरकार र प्रदेश सरकारबाट जे जति योजनाहरु परे तीनै योजनाबाहेक नगरप्रमुखले आफ्नो ढंगबाट छुट्टै योजना अगाडि बढाउन नसकेको उनी बताउँछन् । ‘खेलप्रमीका लागि प्रत्येक वडामा एउटा खेलमैदान बनाउने भनेतापनि नगरपालिकाले कुनै भौतिक पुर्वाधार निर्माण गर्न सकेन’, उनले भने, ‘ठुला योजनाहरु संचालन गर्नुभन्दा पनि नगरपालिकाले साना साना योजनाहरु सञ्चालन गरेर टुक्रे योजनाबाटै आफैलाई सन्तुष्टि लिने काम गर्यो ।’
स्थानीय तहको निर्वाचनमा नगरप्रमुख न्यौपानलेले १३ हजार ५६ मत प्राप्त गरी बिजयी भएका थिए । उनका प्रतिद्वन्द्वी तत्कालिन एमालेका शंकरनारायण श्रेष्ठले ९ हजार ५९२ मत प्राप्त गरेका थिए ।










