सम्पादकीय : सडक विस्तारमा ढिलाई

विकासको पहिलो खुड्किलो सडकलाई लिने गरिन्छ । विकासका नामा विस्तार गरिएका सडकको समयमै स्तरोन्नति हुन नसक्दा सर्वसाधारणले निकै सास्ती झेल्नुपर्ने मात्र होइन ठूलो मात्रमा धनजनको क्षति समेत व्यहोर्नुपर्ने अवस्था सृजना हुने गरेको छ । यसको एउटा उद्हारण हो दुलेंगौंडा–हर्कपुर सडक मार्ग । दुलेगौंडा–हर्कपुर सडकको स्तरोन्नतिमा भएको अत्यधिक ढिलाइले नेपाली विकासको एउटा कष्टप्रद छायाँ प्रस्तुत गरेको छ । काम सुरु गरेको छ वर्ष बितेपनि अझै कामले पूर्णता पाउन सकेको छैन । ठेकेदारको लापरवाही, प्रशासनिक ढिलाइ र राजनीतिक अस्थिरता यसको मुख्य समस्याका रुपमा देखिएका छन् । यो न केवल सडकको निर्माणमा भएको समस्याको संकेत हो, बरु समग्रमा विकासमा हुने ढिलाइ र अनियमितताका गम्भीर संकेतहरू पनि छन् । यो सडक कालोपत्रे गर्ने ठेक्का २०७६ कात्तिकमा लिइएको थियो र २०७८ माघसम्म पूरा गर्ने कसम खाएका ठेकेदारले छ वर्ष बितिसक्दा पनि कामले पूर्णता पाउन सकेको छैन । बर्खामा हिलो र पहिरोको समस्या र हिउँदमा धुलोको सास्ती स्थानीयहरूको लागि असह्य बनेको छ । सडको यो दुरावस्थाले चुनावी भाषण र आश्वासन मात्र दिइरहेका नेताहरूको असल कार्यक्षमता र जिम्मेवारीप्रति गहिरो प्रश्न उठाउँछ ।

स्थानीय स्तरमा जनताले आफूलाई निरन्तर आश्वासन मात्र पाइरहेका छन्, तर वास्तविक काम देख्नको लागि उनीहरूले अझै वर्षौ पर्खिनुपर्नेछ भन्ने वास्तविकता अहिले प्रकट भइसकेको छ । सडक निर्माणको काममा ढिलाइको कारण राजनीतिक दबाब, प्रशासनिक असमर्थता र निर्माण कम्पनीका आन्तरिक समस्याहरूका बीचमा अस्तित्वमा रहेको जटिलता छ । यद्यपि, निर्माण कम्पनीको ढिलाइलाई स्थानीयस्तरमा झनै निराशा र आक्रोसका साथ लिइन्छ । यो सडकको परियोजना ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमको हिस्सा हो, जसमा गण्डकी प्रदेश सरकारले यसको स्तरोन्नतीमा ध्यान पु¥याएको भएपनि काममा आशा गरेजस्तै गति आएको छैन । जब एक साधारण सडकको काम पाँच वर्षमा नपार्ने हो भने, हामी कस्तो प्रकारको विकासमा अघि बढिरहेका छौं ? यो प्रश्न हामी सबैले गर्नुपर्छ । यो समस्याले केवल दुलेगौंडा–हर्कपुरको विकासमा ढिलाइको कुरा उठाउँदैन, बरु यसले नेपालका समग्र सडक निर्माण कार्य र विकास योजनामा भइरहेको अनियमितताका बारेमा गम्भीर चेतावनी दिन्छ ।

यस्तै, अर्को सडक हो पाल्पाको रामपुर र तनहुँको घिरिङ हुँदै पृथ्वीराजमार्ग जोड्ने कृष्ण मोटरमार्ग । यो मोटरमार्ग निर्माण कार्य नौ वर्षदेखि अलपत्र छ । २५ किलोमिटर लामो यो सडकखण्डको निर्माण काम चितवनको सन्तोषी निर्माण सेवाले पाएको थियो, तर कानूनी मुद्दा र निर्माणमा भएको ढिलाइले गर्दा स्थानीय जनजीवनमा असुविधा मात्र नभई विकासको प्रक्रियामा गम्भीर अवरोध उत्पन्न भएको छ । सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी सन्तोषी निर्माण सेवाले २०७३ वैशाखमा १५ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो, तर नौ वर्ष बितिसक्दा पनि यो सडकखण्ड अपूर्ण रहेको छ । निर्माण कम्पनीले काम नगरेको दाबी गर्दै भुक्तानीको माग गरेको थियो, तर जब पूर्वाधार कार्यालय तनहुँले ठेकेदारको काम असन्तोषजनक भएको भन्दै ठेक्का तोड्ने चेतावनी दिएपछि ठेकेदारले अदालतमा मुद्दा दायर गरेको थियो । यद्यपि, निर्माण कम्पनीले गहन आर्थिक दाबी गर्दा र मुद्दा अदालतमा लम्बिँदा, यसले सडक निर्माणको कामको गति थप ढिलाइ गरेको छ । अधुरो काम र कानूनी जटिलताले गर्दा यो सडक परियोजनामा हरेक वर्ष रकम विनियोजन भएतापनि ती रकमको प्रयोग हुन सकेको छैन । अहिले यो मुद्दाको टुङ्गो लागेकाले अब यो सडकको स्तरोन्नतिले गतिलने अपेक्षा गर्न सकिन्छ । स्थानीय प्रशासन र सरकारको प्रयासले पनि कामको गति तीव्र बनाउन सकेको थिएन् ।

यो स्थितिले नेपाली विकास प्रक्रियामा कानूनी र प्रशासनिक कमजोरीलाई उजागर गर्दछ । ठेकेदारहरूको लापरवाही र मुद्दाको लम्बिँदो प्रक्रिया सरकारका योजनाहरूको कार्यान्वयनमा ठूलो अड्चन बन्ने गरेको छ । विकास कार्यमा समयमै काम सम्पन्न नहुनु, भुक्तानीको विवाद र विवाद समाधानको ढिलाइ नेपाली संरचनागत समस्याको एउटा स्पष्ट उदाहरण हो । अब प्रशासन र ठेकेदार दुवै पक्षको जिम्मेवारीको पुनः मूल्याङ्कन गर्ने । सरकार र ठेकेदारबीचको सहकार्यलाई सुधार्नु, कानूनी प्रक्रियालाई प्रभावकारी बनाउन आवश्यक छ ताकि यस्ता समस्याहरू भविष्यमा नदोहो¥याउने बनोस् । जसले गर्दा स्थानीय बासिन्दाहरूको जीवनस्तर सुधार्न र विकासको गति तीव्र पार्न सकिन्छ । सार्वजनिक काममा समयमै काम नगर्ने ठेकेदारहरूको मनोबल उच्च राख्नुपर्ने र प्रशासनले निर्माण कार्यको निगरानीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ । अब समय आएको छ कि सरकार र ठेकेदारहरूले जिम्मेवारी लिई कामलाई तिव्रता दिनुपर्छ र स्थानीय जनताका आवाजलाई सुनाउँदै योजनाहरूलाई कार्यान्वयनमा ल्याउनु पर्छ। ताकि, राजनीतिक आश्वासन मात्र नभई वास्तविक कार्यदक्षता देखाइने होस् र विकासको यात्रा अगाडि बढोस् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker